तामाका उद्योग बन्द

बन्द

रामपुर (पाल्पा), फागुन ११- दुई दशक अगाडिसम्म झडेवा देवीनगरका धनबहादुर विश्वकर्माको घरमा तामाका भाँडा किन्न आउने ग्राहकको निकै भीड लाग्थ्यो । उहाँसँगै छिमेकी बुद्धबहादुरले पनि भाँडा बनाउने उद्योग नै चलाउनुभएको थियो । हिजोआज यहाँ सञ्चालित उद्योग भएका वस्ती सुनसान भएका छन् ।

परापूर्वकालदेखि नै घरेलु प्रविधिद्वारा निर्मित उद्योग सञ्चालित जिल्ला भए पनि अहिले दुई÷चार व्यक्तिले मात्र उद्योगलाई निरन्तरता दिएका छन् । रुप्सेका बलबहादुर विक भन्नुहुन्छ, “पहिले पहिले त पसलमा तामाका पाता किन्न पाइँदैनथ्यो, खानीमै गएर उत्खनन् गरी घरेलु प्रविधिबाट प्रशोधन गरेर विभिन्न आकारका, प्रकृतिका भाँडा बनाउने गथ्र्यौँ, बजारमा प्लाष्टिकजन्य, स्टिलका भाँडा आउन थालेपछि तामाका भाडा बनाउने उद्योग हराउँदै गएको छ,” उहाँले भन्नुभयो ।

जिल्लाको बन्दिपोखरा, बौघा पोखराथोक, चिदिपानी, हुमिन, यम्घा र हुँगीजस्ता गाविसमा एक सयभन्दा बढी तामाका भाँडा बनाउने उद्योग थिए । यी क्षेत्रका उद्योगी र व्यवसायीले घरेलु प्रविधिबाट तामाका गाग्री, ताउला र मानापाथिजस्ता वस्तु निर्माण गरी गाउँघर डुलेर बिक्री गर्ने गर्दथे । जिल्लामा राम्रोसँग फस्टाएका यस्ता उद्योग कही कतैबाट संरक्षण र सहयोग नपाएका कारण बन्द हुन पुगेका हुन् ।

उद्योगले निरन्तरता पाएको भए यतिखेर आम्दानीको बलियो स्रोत बन्ने थियो । पुराना पुस्ताबाट नयाँ पुस्तामा प्रविधिको हस्तान्तरण हुन नसक्नु, नयाँ पुस्ताको वैदेशिक रोजगारीतर्फ आर्कषण बढ्दै गएकाले यस्ता उद्योग हराउँदै गएकम हुन् । साना घरेलु तथा कुटीर उद्योगका रुपमा चिनिएको जिल्ला भएपनि संरक्षण र सीप हस्तान्तरण नभएका कारण पुराना उद्योग बन्द हुन पुगेका हुन् । यस्ता उद्योगको आधुनिकिकरण, दिगोपनाका लागि घरेलु तथा साना उद्योग कार्यालय, उद्योग वाणिज्य सङ्घको तर्फबाट कुनैपनि पहल नहुँदा उद्योग बन्द हुने अवस्थामा पुगेको हुमिनका पुराना व्यवसायी दिर्घबहादुर विकको भनाइ छ ।

तानसेनको बाँसटारीमा विगत दश वर्षदेखि उद्योग सञ्चालन गर्दै आउनुभएका भिमबहादुर विश्वकर्मा उत्पादित वस्तु बिक्री गर्न बजारको समस्या नभएको बताउनुहुन्छ । “उद्योगमा इन्धनका रुपमा प्रयोग हुने कोइला, कामदारको समस्याले मागअनुसार पु¥याउन सकिएको छैन” उहाँले भन्नुभयो ।

हिन्दु धर्मावलम्वीहरुको जन्म, मृत्यु, पुजाआजा र शुभकार्यमा तामाका भाँडा प्रयोग हुने गर्दछ । हातले कँुदेर बुट्टा राखेर बनाइएका भाँडा मङ्हगो पर्ने र प्रयोगकर्ताले पनि बजारमा आएका विभिन्न प्रकृतिका भाँडाको प्रयोग गर्दा तामाका पुराना उद्योगहरु बन्द हुन पुगेका हुन् । तामाका भाँडा उद्योगलाई व्यवसायीक उद्योगका रुपमा सञ्चालनका लागि पहल गर्ने हो भने स्वदेशमै बलियो रोजगारीको ढोका खुल्ने सम्वद्ध पुराना उद्यमीहरु बताउछन् ।

उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष मोहन श्रेष्ठले युवामा गाउँमा बसेर पुराना उद्योग सञ्चालन गर्नुका सट्टा विदेशको मोह बढ्दो भएकाले उद्योगलाई निरन्तरता दिन नसकिएको बताउनुभयो ।

Leave a Reply