क्षमताभन्दा बढी सामान बोक्ने सत्ताइस सय ट्रक लाई कारबाही

ट्रक

चितवन, १२ फागुन । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले क्षमताभन्दा बढी सामान बोक्ने दुई हजार ७०३ वटा मालबाहक ट्रक लाई कारबाही गरेको छ ।

गत तीन महिनामा ती सवारी साधनलाई कारबाही गरिएको हो । मालबाहक सवारी साधनले २१ टनभन्दा बढी सामान बोक्न नपाउने भए पनि ती सवारी साधनले सोभन्दा बढी ३६ टनसम्म बोकेका कारण उनीहरुलाई कारबाही गरिएको कार्यालयले जनाएको छ ।

कार्यालयका प्रमुख प्रहरी निरीक्षक राजन भेटुवालका अनुसार क्षमताभन्दा बढी सामान बोकेर हिँडेका सवारी साधनका कारण सडक बिग्रन जाने र दुर्घटना बढी हुने भएकाले यस्ता सवारी साधनलाई कारवाही गरिएको हो ।

पहिलो चरणको कारबाहीअन्तर्गत एक हजार जरिवाना गर्दासमेत नमान्ने सवारीलाई यातायात व्यवस्था विभागमा कारबाहीका लागि पठाइएको भेटुवालले बताउनुभयो । हालसम्म सातवटा सवारी साधनलाई यातायात व्यवस्था विभागमा कारबाहीका लागि पठाइएको उहाँले बताउनुभयो । ती अधिकांश सवारी साधनले मुग्लिनबाट ढुङ्गा बोकेर हेटौँडातर्फ जान आएको बताइएको छ ।
क्षमताभन्दा बढी सामान बोक्ने सवारी कारबाहीबाट अहिलेसम्म रु १७ लाख ५० हजार राजस्व सङ्कलन भएको कार्यालय प्रमुख भेटुवालले बताउनुभयो ।

Leave a Reply