परिवारबाट अपहेलित वृद्धवृद्धालाई आरुघाट वृद्धाश्रममा आश्रय !

1
वृद्धाश्रम

आरुघाट (गोरखा),फागुन १३ – ‘न सकिन्छ गरिखान न सकिन्छ मरिजान बुढेसकालमा, छोरानाति कनकन गर्छन्, बुहारीले आँखा तर्छन् बुढेसकालैमा’ गायक बुद्धिसागर बस्यालले स्वर भरेको ‘मुरलीको धुन’ एल्बममा सजिएको यो गीतमा भनेजस्तै परिवारको अपहेलना र रेखदेख नपाएका भोजपुरका नरबहादुर कार्की अहिले गोरखाको तान्द्राङस्थित अमिलीचौरमा रहेको बूढीगण्डकी वृद्धाश्रममा बस्दै आउनु भएको छ ।

कार्कीका दुई छोरा, बुहारीका साथै नातिनातिना पनि छन् । “जेठो छोरा, बुहारीले मलाई वृद्धाश्रम ल्याएर उनीहरु घर फर्किए”, कार्कीले गुनासो गर्नु भयो, “छोराहरु भक्तपुरको घरमा बस्छन् । बुढेसकालमा म यो वृद्धाश्रममा जीवन काट्दैछु ।” उनका कान्छा छोरा सरकारी जागिरे छन् । “कहिलेकाहीँ जेठाले फोन गर्छ, हालखबर सोध्छ”, ८४ वर्षीय कार्कीले थप्नुभयो, “कान्छोले त फोन पनि गरेन ।” परिवारका सदस्यहरु सधैँ काममा व्यस्त भएकाले आफू वृद्धाश्रममा बस्न आएको कार्कीले बताउनु भयो ।

काठमाडौँकी मानकुमारी खकुरेल पनि वृद्धाश्रममा बस्दै आउनु भएको छ । उनका परिवारका सदस्य पनि विभिन्न काममा व्यस्त छन् । “बुढो भइयो । काम गर्न सक्दिनँ”, खकुरेलले भन्नु भयो्, “भजनकीर्तन गाउँदै बूढाबूढीसँग मिलेर बस्दा आनन्द छ । तर घरपरिवार सम्झेर कहिलेकाहीँ आँसु थाम्न सक्दिन ।” कार्की र खकुरेल मात्रै होइन हालै सञ्चालनमा आएको बूढीगण्डकी वृद्धाश्रम केन्द्रमा दुईजना वृद्ध र तीनजना वृद्धा बस्दै आएका छन् ।

वृद्धवृद्धाको हेरचाह सरस्वती श्रेष्ठले गर्दै आउनु भएको छ । बूढीगण्डकी किनारको सुन्दर, शान्त र फराकिलो चौरमा एकतले पक्की भवनमा वृद्धाश्रम सञ्चालनमा आएको हो । एक करोड रुपैयाँको लगानीमा सञ्चालनमा आएको वृद्धाश्रममा ३० जना वृद्धवृद्धा राख्न सकिने केन्द्रका अध्यक्ष चित्रकुमार श्रेष्ठले बताउनुभयो । वृद्धाश्रममा गोरखा, धादिङ र अन्यत्र जिल्लाका वृद्धवृद्धा बस्दै आएका छन् ।

Displaying IMG_1686.JPGDisplaying IMG_1686.JPGDisplaying IMG_1686.JPGIMG_1686

स्थानीयवासी सुशीला खनालका अनुसार वृद्धाश्रम भनेको ‘मन्दिर’ भएकाले जो कोही पनि पूजाआजाका लागि आउन सक्ने छन् । स्थानीयवासीको आर्थिक सहयोगले वृद्धाश्रम भवन निर्माण गरिएको बताउँदै उहाँले भन्नु भयो, “गिट्टी कुटेर, पसिना चुहाएर जम्मा गरेको पैसाले वृद्धाश्रम बनेको हो । परिवारले हेलाँ गरेका र घरमा कोही नहुने आमाबुबालाई सम्मानले राख्छौँ ।” वृद्धवृद्धा ज्ञान र अनुभवको खानी भएकाले उनीहरुबाट धेरै ज्ञानगुनका कुराहरु सिक्न सकिने उहाँको धारणा छ ।

वृद्धाश्रमलाई स्रोत, साधनले सम्पन्न बनाउने काम सुरु भएको छ । स्थानीयवासी कृति श्रेष्ठले दराज हस्तान्तरण गरे भने साबित्री श्रेष्ठले भजनकीर्तनका लागि बाजागाजा प्रदान गर्नु भयो । वृद्धाश्रमलाई दीर्घकालीन रुपमा सञ्चालन गर्न गोरखा र धादिङका विभिन्न गाविसमा मुट्ठीदान अभियान सुरु गर्ने केन्द्रले तयारी गरेको छ । वृद्धाश्रम निर्माणका लागि सबैभन्दा धेरै स्थानीय समाजसेवी लक्ष्मीकिशोर श्रेष्ठले रु २५ लाख दान गर्नु भएको छ ।

पूर्वपर्यटनमन्त्री रामकुमार श्रेष्ठले पनि रु २५ लाख रुपैयाँ राज्यस्तरबाट बजेट दिएको केन्द्रले जनाएको छ । विसं २०६७ साल फागुन २२ देखि २९ गतेसम्म आयोजित श्रीमद्भागवत महापुराणबाट सङ्कलन भएको एक करोड ६५ लाख रुपैयाँबाट भवन निर्माण गरी वृद्धाश्रम सञ्चालनमा ल्याइएको केन्द्रका पूर्वसचिव मीनप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

वृद्धाश्रममा गाउँघरको वातावरण र रहनसहनको व्यवस्था गर्न ढिकी, जाँतो, अँगेना, कुटो, कोदालो, करेसाबारी, फूलबारी, एउटा दुहुनो गाई पाल्ने योजना केन्द्रको छ । चीनकाजी श्रेष्ठ, लक्ष्मीकिशोर श्रेष्ठ, पण्डित दिनबन्धु पोखरेललगायतको सक्रिय सहभागितामा वृद्धाश्रम सञ्चालनमा आएको हो । केन्द्रका पूर्वउपाध्यक्ष गणेश श्रेष्ठले भन्नुभयो, “चाहेर पनि छोराछोरीले रेखदेख गर्न नसकेका र असहाय वृद्धवृद्धालाई वृद्धाश्रममा आश्रय दिन्छौँ ।”

एक उत्तर छोड्न