स्याउका बिरुवाबाट जिल्लालाई रु ५८ लाख आम्दानी

आम्दानी

जुम्ला, फागुन १३- जिल्ला कृषि विकास कार्यालयअन्तर्गत वितरित ७४ हजार स्याउका बिरुवा बाट जिल्लालाई रु ५८ लाख आम्दानी भएको छ ।

जिल्लाका ५१ सक्रिय नर्सरीबाट तीन लाख स्याउका बिरुवा उत्पादन भएकामा ७४ हजार बिरुवा कृषि कार्यालयको सिफारिसमा वितरण गरिएको हो । वितरित बिरुवामा सात हजार ७३५ साधारण कार्यक्रम, २९ हजार २५० स्याउ आत्मनिर्भर कार्यक्रम र ३७ हजार बिरुवा जिल्ला बाहिर पठाइएको वरिष्ठ कृषि विकास अधिृकत विष्णुबहादुर महतले जानकारी दिनुभयो ।

साधारण कार्यक्रमतर्फ प्रतिबिरुवा रु दुईका दरले रु १५ हजार ४७०, आत्मनिर्भर कार्यक्रमअन्तर्गत प्रतिबिरुवा रु ४० का दरले ११ लाख ७० हजार र जिल्ला बाहिर निर्यात गरिएको प्रतिबिरुवाको औसतमा रु १२५ का दरले रु ४६ लाख २५ हजार आम्दानी भएको छ । जिल्ला बाहिर प्रतिबुटा रु १७५ मा बिक्री वितरण गरिएको स्थानीय कृषक बेलबहादुर शाहीले बताउनुभयो । स्याउ आत्मनिर्भर कार्यक्रमअन्तर्गत १०० हेक्टर र साधारण कार्यक्रमतर्फ २५ हेक्टर जमिनका लागि ३६ हजार ९८५ बिरुवा वितरण गरिएको हो ।

प्राविधिक सहायक शाहीका अनुसार यस वर्ष ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा, भोजपुर, सोलुखुम्बु, मध्यपश्चिमका रुकुम, जाजरकोट र सुदूरपश्चिमका बझाङ, बाजुरा र अछाममा स्याउका बिरुवा निर्यात गरिएको छ । जिल्लामा रेड, रोयल, गोल्डेन डेलिसियस र जोनाथन जातको स्याउ उत्पादन तथा बिक्री वितरण गरिँदै आएको छ ।

Leave a Reply