जलाशयले आरुघाट डुब्ने-नडुब्ने निक्र्याैल गर्न माग

0
आरुघाट

आरुघाट (गोरखा), फागुन १३- गोरखाको आरुघाटरका स्थानीयवासीले बूढीगण्डकी जलविद्युत् आयोजनाको जलाशयले आरुघाट डुब्ने-नडुब्ने निक्र्याैल गर्न माग गरेका छन् ।

आयोजनाको जलाशयले आरुघाट बजार डुब्ने हल्ला चल्दा व्यापार घटेको, घडेरी किनबेच, घर निर्माण र विकास, निर्माणको काम ठप्प भएको भन्दै उनीहरुले डुब्ने भए आरुघाटलाई पुनःनिर्माणको चरणमा अन्यत्रै स्थानान्तरण गर्न सरकारसँग माग गरेका हुन् ।

“भूकम्पले साढे चार तले घर ढल्यो । त्रिपालको बास छ । सरकारले रु २५ हजार भन्दा बढी दिएन । ऋण खोजेर घर बनाउँ भनेको पछि डुबाउला भन्ने डर छ” आरुघाटका सीताराम नेपालीले भन्नुभयो । घर बनाउने कि टहरोमा बस्ने भनेर अन्यौलमा रहेको उहाँको भनाइ छ । आयोजना निर्माण हुँदा जलाशयको पानीको सतहले आरुघाट बजार डुबाउने हो भने सरकारले अहिले नै मुआब्जाको व्यवस्था गर्नुपर्ने नेपालीको भनाइ छ ।

स्थानीयवासी वसन्तमान श्रेष्ठले आयोजनाले पनि गति नलिएको र विकास, निर्माणको काम पूरै प्रभावित बनाएको भन्दै आयोजना बन्दा कहाँसम्म पानीको सतह पुग्ने हो भन्नेबारे निक्र्यौल गरिनुपर्ने बताउनुभयो । “घर, घडेरी किनबेच बन्द भयो । लेकालीहरु आरुघाट छाडेर गोरखा बजार, चितवन झरे” उहाँले भन्नुभयो ।

उत्तरी गोरखाको मुख्य व्यापारिक केन्द्र आरुघाट बजार पुरानो बजारमध्येको एक हो । यहाँबाट मनास्लु पर्यटकीय पदमार्गको सुरुवात हुन्छ भने आरुघाट बजार हुँदै अहिले मध्यपहाडी लोकमार्गको काम धमाधम भइरहेको छ । तर आयोजना निर्माण हुँदा डुब्ने, नडुब्ने अन्यौलकाबीच स्थानीय विद्यालय भवन पुनःनिर्माण, सरकारी तथा व्यक्तिगत भवन, घर निर्माण हुन सकेका छैनन् ।

स्थानीयवासी पार्वती श्रेष्ठले पक्की घर बनाएर बस्न नपाएको गुनासो गर्नुभयो । “बूढीगण्डकी बन्ने वा नबन्ने टुङ्गो नलाग्दा पक्की घर बनाउन पाएनाँैं” उहाँले भन्नुभयो । आरुघाटवासीले पुनःनिर्माणमा सरकारले गरेको ढिलाइको आलोचना गर्दै आयोजना बन्दा आरुघाट डुब्ने भए मुआब्जा दिएर अहिल्यै स्थानान्तरण गर्न सरकारलाई आग्रह गरेका छन् ।

“ऋण खोजेर घर बनाउने अनि त्यो घर दुई÷चार वर्षपछि छोडेर अन्यत्र जानुप¥यो भने हामी सुकुम्वासी हुन्छौँं,” उहाँले भन्नुभयो, “सरकारले आयोजना बनाउँदा मुआब्जा दिन्छु भनेको छ, तर आयोजना बन्ने, नबन्ने टुङ्गो छैन ।” अस्थायी टहरो छाडेर नयाँ घर निर्माण गर्न जुटेका भूकम्पपीडित अन्यौलमा परेका हुन् ।

स्थानीय गणेशमान शाक्यले धराप घर भत्काउन ढिलाइ हुँदा सग्ला घरमा बस्न नपाएको गुनासो गर्नुभयो । छिमेकीको तीन तले एउटा घरले गर्दा चारवटा घरपरिवार विस्थापित हुनुपरेको उहाँको भनाइ छ । धराप घर भत्काउन गाविस र इलाका प्रहरी कार्यालय आरुघाटमा निवेदन दिए पनि सुनुवाई भएको छैन । आरुघाट तथा धादिङको विशालनगरका स्थानीयवासीले बूढीगण्डकी आयोजनाको काम सुरु गर्नुपर्ने र आफूहरुलाई मुआब्जा दिएर सुरक्षित ठाउँमा स्थानान्तरण गर्नुपर्नेमा जोड दिएका छन् ।

एक उत्तर छोड्न