लुम्बिनीमा विद्युतीय रिक्सा सञ्चालन

विद्युतीय रिक्सा

लुम्बिनी (रुपन्देही), फागुन १३- विश्व शान्तिको मुहान गौतम बुद्धको जन्मस्थल लुम्बिनी भित्रको बढ्दो प्रदुषण न्यूनीकरण गर्ने उद्देश्यले लुम्बिनीमा विद्युतीय रिक्सा सञ्चालनमा ल्याइएको छ ।

कोरियाली कम्पनी कोइकाको सहयोगमा लुम्बिनीमा ल्याइएका ७० वटा रिक्सा सञ्चालन कार्यविधि बिना नै आजदेखि सञ्चालनमा ल्याइएको हो । गत वर्ष नै सञ्चालनमा ल्याइने बताए पनि रिक्सा सञ्चालन सम्बन्धी कार्यविधि नबनेको भन्दै रिक्सा सञ्चालनमा आउन सकेको थिएन् । काइकाको रु एक करोड ५० लाखको सहयोगमा लुम्बिनीमा ल्याइएका रिक्सा आजदेखि औपचारिक रुपमा सञ्चालनमा ल्याइएको लुम्बिनी विकास कोषले जनाएको छ ।

औपचारिक रुपमा रिक्सा सञ्चालनमा ल्याइए पनि रिक्सा सञ्चालन सम्बन्धी कार्यविधि र भाडा दर भने अहिलेसम्म पनि तोकिएको छैन् । कार्यविधिबारे छलफल भइरहेको र एक हप्ताभित्र कार्यविधिलाई अन्तिम रुप दिइने कोषले जनाएको छ । कोषले लुम्बिनीस्थित शान्ति दीप परिसरमा एक कार्यक्रमको आयोजना गरी रिक्साको साँचो हस्तान्तरण तथा उद्घाटन कार्यक्रम गरेको छ । काइकाका कन्ट्री डाइरेक्टर डा हिउक्यु किँले सस्कृति पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री बलबहादुर महत तथा लुम्बिनी विकास कोषका उपाध्यक्ष सिद्धार्थ मर्हजन (भिक्षु निर्गोध) लगायत कोषका पदाधिकारीलाई रिक्साको साँचो हस्तान्तरण गर्नुभयो ।

रिक्साको साँचो हस्तान्तरण गरेलगत्तै राज्यमन्त्री महतले रिक्साको उद्घाटन गर्दै रिक्साको औपचारिक रुपमा सञ्चालन भएको जानकारी दिनुभयो । राज्यमन्त्री महतले लुम्बिनीलाई पदुषणरहित सहरको रुपमा विकास गर्नुपर्ने बताउनुभयो । “लुम्बिनी आउने पर्यटकलाई शान्ति र सुन्दर सहर आएको महसुस हुनु पर्दछ” राज्यमन्त्री महतले भन्नुभयो ।

लुम्बिनीमा रहेका ७० बटा रिक्सामध्ये सञ्चाललन गर्न लायक रिक्सा सञ्चालनमा ल्याइएको छ भने प्राविधिक रुपमा बिग्रिएका रिक्सालाई मर्मत गरी छिट्टै सञ्चालनमा ल्याइने कोषका उपाध्यक्ष मर्हजनले जानकारी दिनुभयो । उहाँले विदेशी दातृ निकायले दिएको सहयोगलाई सदुपयोग गर्नुपर्ने बताउनुभयो । “लुम्बिनीमा बढ्दो प्रदुुषण न्यूनीकरणमा टेवा पुगोस भनेर विद्युतीय रिक्सा सञ्चालनमा ल्याएका हौँ” सदस्य सचिव तामाङले भन्नुभयो – “रिक्सा सञ्चालनमा आएपछि लुम्बिनीको बढ्दो प्रदुषण कम हुनुका साथै स्थानीय व्यक्तिको आयआर्जन वृद्धिमा निकै ठूलो टेवा पुग्ने छ ।” पुराना रिक्सालाई विस्थापित गर्दै सञ्चालनमा ल्याउन लागिएको ‘लुम्बिनी क्लिन’ रिक्सा ट्रान्सपोर्टका कार्यक्रम संयोजक सुर्वणमुनी शाक्यले बताउनुभयो ।

‘लुम्बिनी क्लिन’ टान्सर्पोट नाम दिइएको रिक्सामा एक पटकमा ६ जनाले सवार गर्नसक्ने र एक पटक चार्ज गरेपछि ८० किलोमिटरसम्म हिँड्नसक्ने क्षमता रहेको छ । बढ्दो सडक दुर्घटनालाई मध्यनजर गर्दै रिक्साको गति १० किलोमिटर प्रतिघण्टा मात्र बनाइएको छ । रिक्साको मूल्य प्रति रिक्सा करिब रु दुई लाख रहेको छ ।

एक उत्तर छोड्न