यो हप्ता एक्लो ‘ खुर्पा ’ को प्रदर्शन

यो हप्ता एक्लो ‘खुर्पा’को प्रदर्शन

काठमाडौँ, फागुन १३- नेपाली क्रिकेटको कथामा निर्माण भएको चलचित्र ‘च्याम्पियन’ माथि चलचित्र विकास बोर्डमा उजुरी परेका कारण यो हप्ता चलचित्र ‘ खुर्पा ’ले एक्लै ‘रिलिज’ हुने अवसर पाएको छ ।

नेपाली क्रिकेटको मार्मिक कथा बोकेको ‘च्याम्पियन’ले अन्तिममा आएर ‘सेन्सर अनुमति’ नपाएपछि यसको प्रदर्शन मिति पछि सरेको निर्माता सङ्घका कार्यकारी सदस्य करण श्रेष्ठले जानकारी दिनुभयो ।

चलचित्रमा मुख्य खेलाडीको भूमिकामा दिक्पाल कार्कीलाई लिनुअघि उद्धव नेपाल नाम गरेका एक कलाकारलाई अनुबन्धित गरिएको थियो । तर पछि आफूलाई हटाएर कार्कीलाई लिएपछि नेपालले बोर्डमा मानहानीको मुद्दा दर्ता गराउनुभएको थियो । जसकारण, तोकिएको मिति (फागुन १४ गते)मा चलचित्र चल्न नसक्ने भएको छ । चलचित्रको निर्देशन बिबी फुयाँलले गर्नुभएको हो भने यसका निर्माता कृष्ण पोखरेल हुनुहुन्छ ।

शुक्रबार प्रदर्शनमा आउने चलचित्र ‘खुर्पा’ महिलाका ‘एक्सन’ समावेश नारी प्रधान चलचित्र हो । पुष्पा लिम्बूको प्रमुख भूमिका रहेको चलचित्रमा सबिन श्रेष्ठ, रोशन श्रेष्ठ आदि कलाकारले अभिनय गरेका छन् । चलचित्र हस्त लिबाङको निर्माण तथा किशोर सुब्बाको निर्देशनमा बनेको हो ।

एक उत्तर छोड्न