महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कार नेपाली र श्रेष्ठलाई

सञ्चार

काठमाडौँ, फागुन १३- सामाजिक सेवा तथा लोकतान्त्रिक आन्दोलनमा उल्लेखनीय भूमिका निर्वाह गर्ने जनकुपरका राजेश्वर नेपाली र काभ्रेपलाञ्चोकका गोपालदासवादे श्रेष्ठ महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कारबाट सम्मानित हुनुभएको छ ।

सादा जीवन तथा उच्च विचारका धनी, सहिष्णु, र अहिंसाका धनी निधिको ९५ औँ जन्मजयन्तीका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले जनही रु ५० हजार ५०० राशिसहितको सो पुरस्कार प्रदान गर्नुभएको हो ।

महेन्द्रनारायण निधि प्रतिष्ठान तथा महेन्द्रनारायण निधि मेमोरियल अस्पतालले संयुक्तरुपमा आयोजना गरेको सो कार्यक्रममा महिला तथा बालबालिकाको उत्थान, महिला सशक्तीकरण र लोकतान्त्रिक आन्दोलनमा उल्लेखनीय भूमिका निर्वाह गर्नुभएका रमा पौडेल र शर्मिलाकुमारी पन्तलाई जनही रु २५ हजार ५०० राशिसहितको प्रेमसरीदेवी निधि पुरस्कार प्रदान गरिएको थियो ।

कार्यक्रममा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीले निधिजस्ता दूरदर्शी नेताको अभावमा मधेस आन्दोलनले समन्वयकारी भूमिका निर्वाह गर्न नसकेको उल्लेख गर्नुभयो ।

निर्वाचनपछि सहमति र सहकार्यको भवनालाई पूर्णता नदिएकैले संविधान जारी गर्नेबित्तिकै संशोधन गर्नुप¥यो जुन सुखद् पक्ष होइन भन्दै उहाँले अझ पनि सहमति र सहकार्यलाई मूर्तरुप नदिए असहमतिका बुँदाले संविधानको स्थायित्व र सम्बृद्धि हुन नसक्ने उल्लेख गर्नुभयो ।

संविधान कार्यान्वयका लागि आवश्यक कानुन तर्जुमा गर्नुपर्ने र यसका लागि आवश्यक स्रोत र साधन जुटाउने पहिलो चरणको काम अघि बढाइहाल्नुपर्नेमा पनि पूर्वअध्यक्ष रेग्मीले जोड दिनुभयो ।

प्रतिष्ठानका मानार्थ अध्यक्ष बिमलेन्द्र निधिले राष्ट्रिय राजनीतिमा रहेका परम्परागत, प्रजातान्त्रिक र प्रगतिशील राजनीतिक दललाई लोकतान्त्रिक धारमा समावेश गराउन सक्नु नै नेपाली काँग्रेसको सफलता हो भन्दै यसलाई सुदृढ बनाउन हामी सबैले अहम् भूमिका निर्वाह गर्नुपर्छ भन्नुभयो ।

उहाँले संविधानमा असहमतिका विषयलाई सहमतिमा ल्याउन र सहमति भएका विषयलाई कार्यान्वयन गराउन सबै राजनीतिक दलबीच एकता र मेलमिलापको खाँचो भएको बताउनुभयो ।

संसद् बालकृष्ण खाँडले संविधान हाम्रो हो भन्ने भावना विकसित गराउन यसलाई अझ परिस्कृत गराउनुपर्नेमा जोड दिँदै सङ्घीयताको स्वरुपलाई मूर्तरुप दिने नेपाली काँग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्छ भन्नुभयो ।

नेपाली काँग्रेसकी नेत्री पुष्पा भुसालले महेन्द्रनारायण निधिको योगदानलाई सम्झेर हामीले आफ्ना जीवनशैलीलाई रुपान्तरण गर्नुपर्ने चर्चा गर्दै सङ्घीयता, समावेशीतालगायतका मुद्दालाई तत्काल व्यवस्थापन गर्नु आवश्यक भएको उल्लेख गर्नुभयो ।

महेन्द्रनारायण निधि प्रतिष्ठानका अध्यक्ष पुरुषोत्तम दाहालले निधिजस्तै विचार र व्यवहारका धनी व्यक्तिलाई यस संस्थाले सम्झिरहने बताउनुभयो ।

पुरस्कृत व्यक्तित्व नेपालीले राजनीतिक वृतमा सबैजना बेमान भइसकेको आरोप लगाउँदै नेता इमान्दार नभएसम्म र दलित आदिवासी तथा जनजाति तथा मधेसका समस्या समाधान नगरेसम्म देश अघि बढ्न सक्दैन भन्नुभयो ।

अर्का पुरस्कृत व्यक्तित्व श्रेष्ठले नेताले गरेका राम्रा कामको अनुशरण गरेर युवा वर्गले गाउँघरबाटै सुधारका अभियान थाल्नुपर्ने सुझाव दिनुभयो ।

यसैगरी पुरस्कृत व्यक्तित्व शर्मिला पन्तले उज्यालो जीवन नामक संस्थाको कामको मूल्याङ्कन भएकामा आभार व्यक्त गर्नुभयो भने अर्का पुरस्कृत व्यक्तित्व रमा पौडेलले समाजका उल्लेखनीय काम गर्नसक्ने व्यक्ति पहिचान गर्नसकेको छ भन्नुभयो ।

कार्यक्रममा पूर्वमुख्य सचिव डा विमल कोइराला, नेत्री डा दुर्गा पोखरेल, भानुभक्त ढकाललगायतले निधिका योगदानबारे चर्चा गर्नुभएको थियो ।

एक उत्तर छोड्न