ओलीद्वारा गौतमबुद्ध विमानस्थल को अवलोकन

0
गौतमबुद्ध विमानस्थल

बुटवल, फागुन १४- प्रधानमन्त्री केपी शर्मा ओलीले आज भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबारे जानकारी लिनुका साथै निर्माण क्षेत्रको स्थलगत अवलोकन गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीलाई विमानस्थलको निर्माण अवस्थाका बारेमा विमानस्थल निर्माण परियोजनाका प्रमुख ओम शर्मा र रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले जानकारी गराउनुभएको थियो । निर्माणाधीन विमानस्थल एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा अन्तर्राष्ट्रियस्तरको बनाउन लागिएको हो ।

चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन एअरपोर्ट कन्स्ट्रक्सनले उक्त विमानस्थलको निर्माणको जिम्मा पाएको छ । रु ६ अर्ब २२ करोड ५१ लाख २० हजार २२७ रुपैयाँ ९१ पैसाको लागतमा यो विमानस्थल निर्माण हुँदैछ । भौतिक पूर्वाधार निर्माणअन्तर्गत तीन हजार मिटरको धावनमार्ग, धाग्रा खोलाको डाइभर्सन, पार्किङ वे (एप्रोन), टर्मिनल भवन लगायतका निर्माण कार्य भइरहेका छन् । यो विमानस्थल सन् २०१८ मा सञ्चालन हुने गरी निर्माण कार्य अगाडि बढाइएको छ ।

सो अवसरमा प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवको यो परियोजनाको निर्माणमा गुणस्तरीयता कायम राख्न र निर्धारित समयमै निर्माणकार्य सम्पन्न गर्न निर्देशन दिनुभयो । साथै प्रधानमन्त्री ओलीले निर्माणका लागि आवश्यक पर्ने निर्माण सामग्रीको अभाव नहुने पनि बताउनुभयो ।

विमानस्थलको निरीक्षणमा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, उद्योगमन्त्री सोमप्रसाद पाण्डे, युवा तथा खेलकुदमन्त्री सत्यनारायण मण्डललगायत सहभागी हुनुहुन्थ्यो ।

एक उत्तर छोड्न