तीनवटा गिद्ध मृत फेला परेपछि अनुसन्धान सुरु

अनुसन्धान

रामपुर (पाल्पा),फागुन १४- कालीगण्डकी नदी किनारमा तीनवटा गिद्ध मृत फेला परेपछि अनुसन्धानका लागि काठमाडौँ लगिएको छ ।

कालीगण्डकी नदीको तनहुँ र पाल्पाको सिमाना गजरकोट–५ पुट्टारको नदी किनारमा एकै स्थानमा तीन गिद्ध मृत भेटिएको हो । एकै ठाउँमा तीन गिद्ध मृत अवस्थामा भेटिएपछि अनुसन्धान थालिएको पक्षी संरक्षण केन्द्र बुटवलले जनाएको छ ।

पक्षी संरक्षण केन्द्र (बिसिएन) बुटवल र नारायणघाटबाट आएको पक्षी विशेषज्ञ टोलीले परीक्षणका लागि मृत गिद्धलाई काठमाडाँैँँ लगेको छ । पक्षी संरक्षण केन्द्र नारायणघाटका भेट अफिसर डा तुल्सी पाण्डेले लोपोन्मुख चराका रुपमा लिइने गिद्धमध्ये एउटा सुनौलो र दुईवटा राज गिद्ध रहेको बताउनुभयो । उहाँका अनुसार राज गिद्ध पाँच दिनअघि र सुनौला गिद्ध दुई-तीन दिनअघि मरेको हुन सक्छ ।

“मृत भेटिएका सुनौलो जातको गिद्धको शरीरमा स्याटलाइट एन्टेना जडान गरेका थियौँ”, पाण्डेले भन्नुभयो । चार÷पाँच दिनअघिदेखि यो गिद्ध सम्पर्कमा आएको थिएन । स्थानीयवासीले जिल्ला वन कार्यालयलाई जानकारी गराएपछि मृत गिद्धको अनुसन्धानका लागि पक्षी संरक्षण केन्द्रका अनुसन्धान टोली आएको हो ।
नदी आसपासका क्षेत्रमा स्याल मार्न विषादी राखिएकाले विषादी खाएर गिद्ध मरेको हुनसक्ने आशङ्का स्थानीयवासी दानस मल्लको छ ।

एक उत्तर छोड्न