बाँसको झ्याङमा रहस्यमय अवस्थामा युवतीको शव भेटियो

रहस्यमय

भक्तपुर, फागुन १४- भक्तपुरको नगरकोट नगरपालिकास्थित मुहान पोखरी नजिकै रहस्यमय अवस्थामा आज एक युवतीको शव भेटिएको छ ।

नगरकोट जाने सडकबाट केही तल बाँसको झ्याङमा करिब २२ देखि २५ वर्षकी युवतीको शव भेटिएको महानगरीय प्रहरी परिसर भक्तपुरकी प्रहरी उपरीक्षक किरण बज्राचार्यले जानकारी दिनुभयो ।

मृतकको शवमा बाहिरी घाउ नदेखिएको भए पनि आफै मरेको वा अरुले हत्या गरेर ल्याएर फालेको हो भन्ने यकिन हुन नसकेको उहाँले जानकारी दिनुभयो ।

स्थानीयले पहिचान गर्न नसकेको र स्थानीयबाट आफन्त हराएको उजुरी पनि नआएकाले मृतक स्थानीय नभई अन्तैको हुनसक्ने आशङ्का पैदा भएको छ ।

जुत्ता नलगाएको, कालो टिसर्ट र पाइन्ट लगाएको युवतीको शवको पहिचान हुन सकेको छैन । शवलाई परीक्षणका लागि शिक्षण अस्पताल पठाएको बताउँदै प्रहरी उपरीक्षक बज्राचार्यले घटनाबारे अनुसन्धान भइरहेको बताउनुभयो ।

Leave a Reply