राजनीतिक संयन्त्रलाई पूर्णता दिई अघि बढ्न प्रमको आह्वान

सरकार गठनमा के गर्ला एमाले ?

काठमाडौँ, फागुन १६- प्रधानमन्त्री केपी शर्मा ओलीले वार्ता र सहमतिकै आधारमा मुलुकको समस्या समाधान गर्न राजनीतिक संयन्त्रलाई पूर्णता दिई अघि बढ्न आन्दोलनरत संयुक्त लोकतान्तिक मधेसी मोर्चालाई आह्वान गर्नुभएको छ ।

इन्टरनेसनल कन्सर्न सेन्टरले आज यहाँ आयोजना गरेको ‘नेपाल–भारत सम्बन्ध : नयाँ आयाम र उत्तरदायित्व’ विषयको अन्तरक्रियालाई सम्बोधन गर्दै उहाँले असहमतिका विषयलाई आवश्यकता आधारमा समाधान गरेर अघि बढ्न सकिने बताउनुभयो । प्रधानमन्त्रीले भन्नुभयो–“तराईको समस्या अलिक जटिल छ । म मधेसी मोर्चाका साथीहरुलाई भन्छु, ओइरोबिनाको जातो घ्वाइँ घ्वाइँ नपारौँ, तात्तै जान्छ, निष्कर्ष केही छैन, त्यस्तो खालको जाँतो नघुमाऔँँ । सधँै समस्या मात्रै खडा गर्ने हैन, हठ छाडेर असमानता कहाँ छ, समाधान खोजौँ ।”

संविधानले तराईका जनतालाई कुनै विभेद नगरेको बरु विशेष व्यवस्था गरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले नेपाली जनताका लागि बनाइएको संविधान आवश्यकताका आधारमा परिमार्जन गर्दै जान सकिने बताउनुभयो ।

नेपाल–भारतबीच देखिएको असमझदारी हटाउन आफ्नो भारत भ्रमण उपलब्धिमूलक भएको बताउँदै प्रधानमन्त्रीले भन्नुभयो, “दुई देशबीच अलिकति असमझदारी थियो, त्यसलाई हटाउन मेरो भ्रमणले मद्दत पुगेको छ, अबको मूल्य र मान्यताका आधारमा सम्बन्धलाई नयाँ ढङ्गले अघि बढाइनुपर्छ ।”

उहाँले छिमेकीविरुद्ध कुनै पनि प्रकारको सोच राख्ने कुरा कल्पना पनि गर्न नसकिने उल्लेख गर्दै असल छिमेकी भारत र चीनबाट आर्थिक लाभ लिनसक्नुपर्नेमा जोड दिनुभयो । “हामी सबै मित्र राष्ट्रसँग बरोबर सम्बन्ध स्थापित गर्न चाहन्छाँै, एउटाको भूमि अर्कोलाई प्रयोग गर्न दिँदैनौँ, अब नयाँ आवश्यकतामा जानुपर्छ पछाडि फर्केर हेर्ने हैन”, उहाँले भन्नुभयो ।

सो अवसरमा नेकपा (एमाले)का सचिव प्रदीपकुमार ज्ञवालीले प्रधानमन्त्रीको भारत भ्रमणले दुई देशबीचको असमझदारी अन्त्य गरी विश्वासको वातावरण सिर्जना गर्न मद्दत पुगेको बताउनुभयो ।

पूर्वपरराष्ट्रमन्त्री डा प्रकाशचन्द्र लोहनीले दुई देशबीचको कूटनीतिक असमझदारीले आएको तिक्ततालाई प्रधानमन्त्रीको भारत भ्रमणले अन्त्य गरेको उल्लेख गर्दै भारतको आधारभूत सम्बन्धमा दखल नपर्ने गरी छिमेकी मुलुक चीनसितको व्यापारिक सम्बन्धलाई अघि बढाइनुपर्नेमा जोड दिनुभयो । पूर्वपरराष्ट्रमन्त्री डा भेषबहादुर थापाले असहज परिस्थितिमा भएको प्रधानमन्त्रीको भारत भ्रमण सम्बन्ध सुधार्न उपलब्धिमूलक छ भन्दै आपसी शङ्का मेटेर दिगो सम्बन्ध कायम गरिनुपर्ने औँल्याउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुरारकाले प्रधानमन्त्रीको भारत भ्रमण आर्थिक दृष्टिकोणले सफल भएको र नेपालमा भारतीय लगानी अभिवृद्धि गर्ने दरिलो वातावरण सिर्जना भएको स्पष्ट गर्नुभयो ।

Leave a Reply