करिब सत्तरी हजार शरणार्थी ग्रीसमा फस्ने

एथेन्स (ग्रीस),  फागुन १६ – आगामी महिनाको अन्त्यसम्म बाल्कन राष्ट्रहरुले गरेको अवरोधपछि करिब सत्तरी हजार शरणार्थी ग्रीसमा फस्ने यहाँको सरकारले बताएको छ ।

बसाइसराई मामिलामन्त्री यानिस मौजालासले भन्नुभयो, अहिले करिब २२ हजार आप्रवासी शरणार्थी ग्रीसमा रहेको भन्दै आगामी महिनामा यसमा तीन गुणा वृद्धिभई करिब ७० हजार मानिस शरणार्थीका रुपमा ग्रीसका विभिन्न टापुमा फस्ने बताउनुभयो ।

हालैका दिनमा मेसेडोनियाली सीमा अधिकारीले शरणार्थी प्रवेशमा कडाई गरी दैनिक ३०० मात्र मानिसलाई ग्रीस हुँदै मेसेडोनिया प्रवेश दिने नीति लिएपछि करिब छ हजार ५०० आप्रवासी ग्रीसको उत्तरी सीमास्थित आइडोमेनी शिविरमा बस्दै आएका मन्त्री मौजालासले बताउनुभयो ।

उक्त शिविरको क्षमता करिब एक हजार ५०० शरणार्थीका लागि मात्र भए पनि मेसेडोनियाले अफगान नागरिकलाई प्रवेशमा पूर्णतया अवरोध गर्न थालेको छ । यस्तै सिरियाली तथा इराकी नागरिकलाई पनि शरणार्थी पुष्टि हुने किसिमका कागजातसहित बलिया प्रमाण पेस गरेपछि मात्र प्रवेश दिने नीति लिएको छ ।

मेसेडोसिया बाहेकका ईयू सदस्य राष्ट्रहरु स्लोभेनिया, क्रोयसिया, सर्भियाले दैनिक ५८० शरणार्थीलाई मात्र आफ्नो देशमा प्रवेश दिने नीति लिँदा यसको भार ग्रीसमा पर्न गएको हो ।

Leave a Reply