७० वटा गैँडामरेपछि सुरक्षा व्यवस्थामा कडाई

बर्दिया

बर्दिया, फागुन १७- चितवन राष्ट्रिय निकुञ्जबाट स्थानान्तरण गरिएका ७० वटा गैँडा बर्दिया राष्ट्रिय निकुञ्जको बबई उपत्यकामा मारेर र मरेर सिद्धिएपछि यसपटक भने बर्दियामा विशेष सुरक्षा व्यवस्था अपनाइएको छ ।

चितवन राष्ट्रिय निकुञ्जबाट भोलि दिउँसो नियन्त्रणमा लिएर पर्सि बिहान बर्दियाको बबई उपत्यकामा पहिलो चरणमा दुईवटा गैँडा छाडिँदै छ । फागुन २३ गते थप तीनवटा गैँडा यहाँ ल्याइँदैछ ।

संरक्षणकर्मीहरुले बर्दियाको बबई उपत्यका सुरक्षित नभएको भन्दै गैँडा स्थानान्तरण गर्न नहुने भनिरहेको बेला बर्दियामा भने निकुञ्ज प्रशासन, नेपाली सेना र मध्यवर्तीका बासिन्दा सुरक्षा तयारीका साथ गैँडाको संरक्षणमा जुट्दैछन् ।

सन् २००२ अघि पटकपटक गरेर चितवन राष्ट्रिय निकुञ्जबाट ल्याइएका ७० गैँडा बबईमा र १३ गैँडा कर्णाली नदी तटीय क्षेत्रमा छाडिएको थियो । बबईमा २०६३ सालमा बाँकी रहेका तीनवटा गैँडा तस्करले मारेपछि शून्य भएको थियो भने कर्णाली तटमा यो सङ्ख्या बढेर २९ वटा पुगेको छ ।

बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रमेशकुमार थापाका अनुसार बबई उपत्यकामा ३२ वटा गैँडा प्राकृतिक कारणले मरेका हुन् भने बाँकी चोरीसिकारीले मारेका हुन् । यसलाई हेर्दा ३८ गैँडा र थपिएका बच्चा गैँडा चोरीसिकारीले मारेका बुझिन्छ । बर्दियाको बबई गैँडाका लागि सुरक्षित नभएको भनिरहेको बेला गैँडा स्थानान्तरण गरी ल्याउन लागिएको सो क्षेत्रमा सुरक्षाको विशेष तयारी गरिएको थापा बताउनुहुन्छ । तत्कालीन समयमा सुरक्षा पोस्ट नभएको बबई क्षेत्रमा हाल १२ वटा सुरक्षा पोस्ट खडा गरिएका छन् ।

बबई क्षेत्रमा जाने बाटोसमेत नभएकामा ६५ किलोमिटर लामो वन पथ निर्माण गरिएको उहाँले बताउनुभयो । नेपाली सेनालाई अनुगमनको तालिम दिइएको बताउँदै उहाँले बबईको उत्तरी क्षेत्र मध्यवर्तीमा समावेश गरी स्थानीयवासीलाई संरक्षणमा लगाइएको बताउनुभयो । सोही क्षेत्रका स्थानीयवासीले पछिल्लो समय २५० वटा हतियार निकुञ्जलाई बुझाएका छन् ।

सो क्षेत्रमा ¥याफ्टिङको व्यवस्था गरिएको छ । गैँडाहरु बबईबाट निस्किएर पूर्वतर्फको आवादी ठाउँमा जाने र चोरीसिकारीले मार्ने समस्या आएकामा त्यहाँ गैँडा जान नमिल्ने गरी ग्याभिन जालीमा ढुङ्गा भरेर एक किलोमिटर पर्खाल लगाइएको थापाले बताउनुभयो । यो भेरी बबई ड्राइभर्सन बहुउद्देश्यीय आयोजनाले निर्माण गरेको हो ।

त्यसैगरी वरिपरिका तस्करीमा संलग्न युवालाई समुदायमा आधारित चोरीसिकारी नियन्त्रण इकाई बनाएर संरक्षणमा लगाइएको थापाले जानकारी दिनुभयो । यसअघि एक सय जना कर्मचारी रहेको निकुञ्जमा थप ८० जना कर्मचारी थपिएका छन् । विसं २०६४ मा ६० जना तस्करी पक्राउ गरी कारबाही गरिएको थियो । बबईमा ६०० हेक्टर घाँसेमैदान गैँडाका लागि व्यवस्थापन गरिएको र १० वटा पानीका घोलसमेत निर्माण गरिएका छन् ।

सो निकुञ्जको सुरक्षामा खटिएको रणसार्दुल गणका गणपति राजेन्द्र पन्तका अनुसार द्वन्द्वकालमा गाभिएका सुरक्षा निकाय, सुरक्षा पोस्ट विस्तार गरी ३० वटा पु¥याइएको र यसअघि सेनाको गुल्म रहेकामा अहिले गणमा परिणत भएकाले सुरक्षामा कुनै कमी हुने छैन । पन्तका अनुसार नेपाली सेनाले गैँडाको सुरक्षाका लागि अत्याधुनिक प्रविधिको प्रयोग गरी काम गरिरहेको छ ।

विगतमा थुप्रै तस्कर समातिएका थिए र अहिले सम्भावित मानिसलाई निगरानीमा राखिएको छ । सबै गैँडामा रेडियो कलर जडान गरिने हुँदा सुरक्षा दिन पनि सहज हुने उहाँको भनाइ थियो । सेनालाई आइडिन्टिटी बेस राइनो मनिटरिङ र रियल टाइम स्मार्ट पेट्रोलिङ तालिम दिएको उहाँले जानकारी दिनुभयो ।

बर्दिया राष्ट्रिय निकुञ्ज मध्यवर्ती व्यवस्थापन समितिका अध्यक्ष नेत्रराज आचार्यले निकुञ्ज र जनताका बीचमा भएका द्वन्द्व अन्त्य भएको बताउँदै बबईको उत्तरी क्षेत्रमा रहेका तरङ्ग, हरिहरपुर, लेखपराजुल र छिन्चुमा उपभोक्ता समिति गठन गरी स्थानीयवासीलाई पनि संरक्षणमा लगाइएको बताउनुभयो । अध्यक्ष आचार्यले मध्यवर्तीका बासिन्दालाई चेतनामूलक, जीविकोपार्जन र आयआर्जनका लागिसमेत विशेष कार्यक्रम सञ्चालन गरिएकाले संरक्षणमा स्थानीय सकारात्मक रुपमा लागिपरेको बताउनुभयो । कुल ९६८ वर्गकिलोमिटर फैलिएको बर्दिया राष्ट्रिय निकुञ्जको अधिकांश भाग बर्दियामा पर्दछ भने बाँके र सुर्खेतका पनि केही क्षेत्र पनि यसले ओगटेको छ ।

मध्यवर्तीमा मात्रै ७० हजारभन्दा बढी घरधुरी र एक लाख ३० हजारभन्दा बढी जनसङ्ख्या रहेको छ । मध्यवर्ती क्षेत्रमा रहेका २३ वटा होटलमा ४५० जना पर्यटक राख्न सक्ने क्षमता छ । मध्यवर्ती क्षेत्र ५०७ वर्ग किमि छ भने त्यस क्षेत्रमा १९ वटा उपभोक्ता समिति रहेका छन् ।

बर्दिया पर्या–पर्यटन विकास मञ्चका अध्यक्ष कृष्णप्रसाद भट्टराईले स्थानीय जनता र पर्या–पर्यटन क्षेत्रमा लाग्ने एकजुट भई संरक्षणमा जुटेकाले अब गैँडा बबईमा नमर्ने बताउनुहुन्छ । पर्या–पर्यटन विकास मञ्चका सचिव श्रीधर पोखरेल बबई उपत्यकाको उत्तर पूर्वी क्षेत्र बबई खोलाबाट घेरिएको, दक्षिणतर्फ खुला नाका क्षेत्रमा सुरक्षा गस्ती दह्रो बनाइएको र स्थानीयवासी सकारात्मक रहेकाले अब चोरीसिकारी नहुने बताउनुहुन्छ । चोरीसिकारी नियन्त्रणका लागि यहाँ हजारौँ युवा परिचालन गरिएको छ ।

मध्यवर्ती क्षेत्रमा होटल सञ्चालन गर्दै आउनुभएका मोहन चौधरीले चोरको हातमा चाबी दिएर संरक्षण गर्ने नयाँ रणनीतिका साथ निकुञ्ज लागेको र स्थानीयवासीका लागि होमस्टेसहित विभिन्न परियोजना पाएकाले अब गैँडा चोरीसिकारीबाट नमर्ने बताउनुहुन्छ । बर्दिया राष्ट्रिय निकुञ्ज बाघका लागि प्रख्यात छ । यहाँ ५० वटा वयस्क बाघ, १० भन्दा बढी जङ्गली हात्ती, ५४ प्रजातिका स्तनधारी, ४३९ प्रजातिका चरा, २५ प्रजातिका घस्रने जनावर र १२१ प्रजातिका माछा रहेका छन् ।

विसं २०२६ मा शाही सिकार संरक्षित वनका रुपमा स्थापना भएको यो निकुञ्ज २०३० सालमा शाही कर्णाली वन्यजन्तु आरक्ष, २०३५ सालमा शाही वन्यजन्तु आरक्ष हुँदै २०४५ सालमा बर्दिया राष्ट्रिय निकुञ्ज भएको हो । सुरुमा ३४८ वर्गकिलोमिटर सुरु भएको निकुञ्ज ९६८ वर्गकिलोमिटर पुगेको छ । अदालतको कागजात हेर्दा एकसय वर्षअघि देखि यो निकुञ्जमा गैँडा रहेको पाइन्छ । प्रमुख संरक्षण अधिकृत थापाका अनुसार एकसय वर्ष अघि गैंडा मारेको मुद्दा अदालतमा छ । निकुञ्ज स्थापना गर्दा गैँडा मासिइसकेको हुँदा २०४५ सालदेखि स्थानान्तरण गरी यहाँ गैँडा ल्याउन थालिएको हो ।

Leave a Reply