घाँटी रेटेर हत्या गरिएपछि व्यवसायी सुरक्षाको माग गर्दै विरोधमा (कलुवापुर बजार बन्द)

मनोरथ पाठक

कञ्चनपुर, फागुन १७- कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका–११ कलुवापुरका व्यापारीको हत्याको विरोधमा आज कलुवापुर बजार बन्द गरी व्यवसायी विरोधमा उत्रिएका छन् ।

आज बिहान बैतडी होटल एन्ड रेस्टुराँका सञ्चालक ४० वर्र्षीय दामोदर अवस्थीको घाँटी रेटेर होटलभित्रै हत्या गरिएपछि व्यवसायी सुरक्षाको माग गर्दै विरोधमा उत्रिएका हुन् ।

तत्काल हत्यारा पत्ता लगाइनु पर्ने, व्यवसायीको भरपर्दो सुरक्षाको व्यवस्था गरिनुपर्ने र मदिराको कारोबारलाई व्यवस्थित गरिनुपर्ने माग राखेर विरोध गरिएको कलुवापुर बजार व्यवस्थापन समितिका पूर्व अध्यक्ष जयबहादुर विष्टले बताउनुभयो ।

व्यवसाय गरेर बसेका होटेल व्यवसायी माथि होटलभित्रै हत्या हुनु दुर्भाग्य हो उहाँले भन्नुभयो, “शोक र विरोधमा बजार बन्द गरेका छौँ ।”

व्यवसायीले साङ्केतिकरुपमा कलुवापुर बजार क्षेत्रको पूर्व पश्चिम राजमार्गमा आधा घन्टा धर्नासमेत दिएका छन् ।

घटनास्थलमा पुगेका महाकाली अञ्चल प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रामप्रसाद श्रेष्ठले व्यवसायीलाई तत्काल हत्यारा पत्ता लगाउने, शान्ति सुरक्षाको प्रत्याभूत गर्ने र प्रहरीको बिट कलुवापुर बजार क्षेत्रमा राख्ने आश्वासन दिएपछि व्यवसायीले विरोधका कार्यक्रम स्थगित गरेका छन् ।

एक उत्तर छोड्न