योजना तर्जुमासम्बन्धी अन्तक्र्रिया कार्यक्रम आजदेखि सुरु

अन्तक्र्रिया

पोखरा, फागुन १७- राष्ट्रिय योजना आयोगको आयोजनामा १४ औँ त्रिवर्षीय योजनाको तयारी सम्बन्धमा प्रदेश नं ४ को योजना तर्जुमासम्बन्धी अन्तक्र्रिया कार्यक्रम आजदेखि यहाँ सुरु भएको छ ।

सीमित स्रोत र साधनलाई उपयोग गरी जनमुखी विकास आयोजनामा खर्च गरेर जनतालाई अधिकतम लाभ दिने खालका योजना तर्जुमा गर्न सुझाव लिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

त्रिवर्षीय योजनाले पुनःनिर्माण, नयाँ लगानीका माध्यमबाट उच्च आर्थिक वृद्धि तथा उत्पादनमूलक रोजगारीका अवसर वृद्धि गर्दै गरिबी न्यूनीकरण गर्ने समेत लक्ष्य राखेको बताइएको छ ।

अन्तक्र्रिया कार्यक्रममा यस प्रदेशअन्तर्गत जिल्लाका विभिन्न राजनीतिक दल, विकाससम्बन्धी कार्यालयका प्रमुख, गैरसरकारी सङ्घसंस्था, नागरिक समाज र सञ्चारकर्मीको सहभागिता रहेको छ ।

राष्ट्रिय योजना आयोगका सदस्य डा चन्द्रकान्त पौडेलले कार्यक्रमको शुभारम्भ समारोहलाई सम्बोधन गर्दै विकास आयोजनामा पुँजीगत खर्च हुन नसक्दा नेपाल राष्ट्र बैंकमा झन्डै रु नौ खर्ब थुप्रिएको जानकारी दिनुभयो ।

गत वैशाख १२ गते गएको विनाशकारी भूकम्प र नाकाबन्दी तथा अन्तर्राष्ट्रिय प्रतिकूल परिस्थितिले अझैँ हामीलाई तर्साइरहेको बताउँदै उहाँले प्रदेश नं ४ प्राकृतिक सम्पदा, सांस्कृतिक, बौद्धिक एवम् आर्थिक क्षेत्रको हिसाबले अग्रणी अवस्थामा रहेको विचार व्यक्त गर्नुभयो ।

आयोगका अर्का सदस्य डा सुनिलबाबु श्रेष्ठले बर्सेनि देशमा चार लाख युवायुवती रोजगारीका लागि श्रम बजारमा आउने हुनाले अब आयोगका कार्यक्रम रोजगारीमूलक खालका हुनुपर्नेमा जोड दिनुभयो ।

क्षेत्रीय प्रशासक शङ्करप्रसाद कोइरालाको अध्यक्षतामा भएको सो कार्यक्रममा सहभागीका तर्फबाट रामबहादुर पौडेल, आनन्दराज मुल्मी, गोविन्द सुवेदी, विश्वप्रकाश लामिछाने, कृष्णप्रसाद बराल, लेखनाथ भट्टराईलगायतले विभिन्न सुझाव दिनुभएको छ ।

Leave a Reply