झूटो उजुरीकर्ताविरुद्ध पीडित पक्षबाट उजुरी परेन

गरिबी

काठमाडौँ, फागुन १७- दुःख दिने नियतले झूटो उजुरी गर्ने व्यक्तिलाई कारबाही गर्न सकिने भए पनि त्यस्ता उजुरीकर्ताविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पीडित पक्षबाट कुनै उजुरी परेको छैन ।

भ्रष्टाचार निवारण ऐनको दफा ४९ मा कसैलाई हानि–नोक्सानी पुर्याउने नियतले उजुरी दिनेलाई रु पाँच हजार जरिवाना गर्न सकिने भए पनि आयोगका प्रमुख आयुक्तसहितको मनोनयनपछि पीडित पक्षबाट औपचारिकरुपले त्यस्तो उजुरी नपरेको सहायक प्रवक्ता खगेन्द्र रिजाल बताउनुहुन्छ ।

आयोगमा उजुरी दर्ता भएपछि सम्बन्धित शाखाबाट प्रारम्भिक अनुसन्धान गरी टुृङ्गो लगाउन सकिने जति उजुरी पहिलो चरणमै टुृङ्गो लगाउने र शङ्कास्पद देखिएमा टिप्पणी उठाएर विस्तृत अनुसन्धानका लागि अनुसन्धान अधिकृतसमक्ष पेस गर्ने गरिन्छ । तर दुखः दिने नियतले परेका उजुरी, आयोगको अधिकार क्षेत्र बाहिरका उजुरी तथा तथ्यहीन उजुृरी भने आयोगको स्क्रिनिङ कमिटीले हेरेर फछ्र्यौट गर्ने र छानबिनको टुङ्गो लागिसकेपछि आरोपित व्यक्तिलाई सम्बन्धित निकायमार्फत वा व्यक्तिगतरुपमा पनि जानकारी गराइने व्यवस्था पनि सो ऐनमा छ ।

आयोग, यसका क्षेत्रीय कार्यालय र अधिकार प्रत्यायोजन भएका जिल्ला प्रशासन कार्यालयमा समेत गरी आव २०७१÷७२ मा दर्ता भएका ३१ हजार २१३ उजुरीमध्ये ८० प्रतिशत उजुरी बेनामी भएको सहायक प्रवक्ता रिजाल उल्लेख गर्नुहुन्छ ।

ती उजुरीमध्ये शिक्षा क्षेत्रमा २३ प्रतिशत, सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयसँग सम्बन्धित १३ प्रतिशत, भूमिसुधार तथा व्यवस्था मन्त्रालयसँग सम्बन्धित सात प्रतिशत र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग सम्बन्धित पाँच प्रतिशत उजुरी छन् ।

यसैगरी वन तथा भूसंरक्षण र गृह मन्त्रालयसँग सम्बन्धित चार–चार प्रतिशत उजुरी छन् भने अतिरिक्त सम्पत्ति मूल्याङ्कन तथा विशेष अनुसन्धानतर्फ १३ प्रतिशत र शैक्षिक प्रमाणपत्र छानबिनतर्फ ११ प्रतिशत उजुरी परेको आयोगको प्रतिवेदनमा उल्लेख छ ।

Leave a Reply