पोथी गैँडाको घाँटीमा रेडियो कलर जडान

रेडियो कलर

रत्ननगर (चितवन), फागुन १९ – चितवन राष्ट्रिय निकुञ्जले आज दिउँसो नियन्त्रणमा लिएको एउटा पोथी गैँडाको घाँटीमा रेडियो कलर जडान गरिदिएको छ ।

बर्दिया पठाउन लागिएको उक्त गैँडाको आनीबानी र विचरण स्थल अध्ययनका लागि दिउँसो करिब २ बजे गैँडाको घाँटीमा रेडियो कलर जडान गरिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले जानकारी दिनुभयो ।

यसअघि गएराति एउटा भाले गैँडा बर्दिया राष्ट्रिय निकुञ्ज पठाई सकिएको छ । निकुञ्जले आज दिउँसो एउटा पोथी गैँडालाई ‘डाट’ गरेर बेहोस बनाई घाँटीमा रेडियो कलर जडान गरेको हो ।

उहाँका अनुसार आवश्यक प्रक्रिया पूरा गरी काठले बनाइएको खोरमा राखेर उक्त गैँडालाई आजै ट्रकमा हालेर बर्दिया पठाइने छ । आज राति नै चितवनबाट प्रविधिज्ञसहितको टोली गैँडा लिएर बर्दिया जाने प्रमुख कँडेलले जानकारी दिनुभयो ।

गएराति १० बजे पठाइएको गैँडा आज बिहान ९ बजे बर्दिया पुर्या इएको समेत निकुञ्जले जनाएको छ । चितवन निकुञ्जबाट यही फागुन २३ गतेसम्ममा पाँच वटा गैँडा बर्दिया लगिने छ ।

यसमा दुई भाले र तीन पोथी हुनेछन् । मङ्गलबार नै दुई वटा गैँडा पठाउने भनिए पनि सम्भव नभएपछि आज दोस्रो गैँडा नियन्त्रणमा लिइएको हो । आज नियन्त्रणमा लिइएको गैँडा निकुञ्जको सुकिभार क्षेत्रको हो ।

निकुञ्जका अनुसार गैँडालाई बर्दिया स्थानान्तरण गर्न निकुञ्जका ३६ वटा हात्ती र १५० जनशक्ति खटाइएको छ ।

1 टिप्पणी

एक उत्तर छोड्न