टिकौली जंगलमा अस्थायी सुरक्षा चौकी

8
अस्थायी सुरक्षा पोष्ट

चितवन साउन, १ – संरक्षित वन्यजन्तुको आवतजावत हुने क्षेत्र टिकौलीस्थित जैविक मार्गको सुरक्षाका लागि यहाँ ‘अस्थायी सुरक्षा चौकी’ स्थापना गरिएको छ ।

जथाभावी गाडी रोक्ने सवारी चालकलाई जरिवानासहितको कारबाही गर्ने गरी स्थापना भएको चौकीको आज बिहान उद्घाटन गरिएको छ । चितवन राष्ट्रिय निकुञ्ज, जिल्ला वन कार्यालय तथा स्थानीय प्रशासनसँगको समन्यवमा आजदेखि चौकी स्थापना गरी जैविक मार्गमा कडाइ थालिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले जानकारी दिनुभयो ।

जथाभावी फोहर फाल्ने, गाडी रोक्ने र वन्यजन्तुको सुरक्षामा हेल्चेक्र्याइँ गर्नेलाई आजदेखि जरिवानासमेत लिन थालिएको छ । लापर्बाही गर्नेलाई मुद्दासमेत चलाइने छ ।

चितवन निकुञ्ज, जिल्ला वन कार्यालय, सशस्त्र वनरक्षक तालीम केन्द्र तथा नेपाली सेनाबाट आजदेखि सो क्षेत्रमा संयुक्त कारबाही चलाई सुरक्षामा कडाइ गर्न थालिएको निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठकले जानकारी दिनुभयो ।

‘जैविक मार्गको सुरक्षा चुनौतीपूर्ण’ शीर्षकमा ‘रासस’मा समाचार आएपछि निकुञ्ज कडा रुपमा प्रस्तुत भई सुरक्षा चौकी स्थापना गर्न बाध्य भएको हो । आजदेखि हेल्चेक्र्याइँ गरेर गाडी रोक्ने मोटरसाइकललाई रु १००, साना सवारीलाई रु ५०० र ठूला गाडीलाई रु एक हजार जरिवाना लगाएर कारबाही थालिएको पाठकको भनाइ छ ।

यसअघि संरक्षणका लागि एक मिनेट भनेर सवारी चालकलाई सो कार्यक्रमबारे जानकारी दिइएको थियो । यहाँ सिसी क्यामेराबाट समेत निगरानी गर्ने गरिएको छ ।

यहाँको जैविक मार्गमा बाघ, गैंडा, चित्तल, जरायो, मृगलगायत वन्यजन्तु राजमार्गबाटै ओहोरदोहोर गर्छन् । गाडीले यस्ता वन्यजन्तुलाई हानेर भाग्ने गरेका छन् ।

गत एक वर्षको तथ्यांकमा यस क्षेत्रमा वन्यजन्तु आक्रमणमा १३ घटनामध्ये तीन घटनामा मात्रै कारबाही भएको छ । रत्ननगर र भरतपुर जोड्ने पूर्वपश्चिम राजमार्गस्थित टिकौली जंगलको करिब ७ किमी क्षेत्र जैविक मार्ग छ ।

एक उत्तर छोड्न