भौतिक संरचना नहुँदा कर्मचारी अलपत्र

5
पत्रकार

डडेल्धुरा,साउन ३ भौतिक संरचना नहुँदा स्थानीय तहमा कामकाज गर्नका लागि समस्या भएको छ ।

स्थानीय तहको निर्वाचनपछि यही साउन १ गतेदेखि स्थानीय तहमै जिल्लास्तरका सरकारी कार्यालयले कामकाज शुरु गर्न थाले पनि कार्यालय सञ्चालनका लागि भौतिक संरचना छैन । “गाउँपालिकाबाटै सरकारी सेवा दिन खोजिए पनि कार्यालय सञ्चालनका लागि भौतिक संरचना नहुँदा काम शुरु हुनसकेको छैन”, भागेश्वर गाउँपालिका अध्यक्ष कौशिला भट्टले भन्नुभयो ।

कार्यालय सञ्चालनका लागि न त सरकारी घर छ, न निजी घर । कार्यालय सञ्चालन त परै जाओस् कर्मचारीको आवासका लागि समेत घर भाडामा नमिलेको भट्टले बताउनुभयो ।

गाउँपालिकाको सानो घरमै जिल्लाबाट गएका सरकारी कार्यालयका कर्मचारी बस्ने गरेका छन् । “ कार्यालय सञ्चालनका लागि पहिला भवनको खोजी गरेर मात्रै पठाइनुपथ्र्यो”, भट्टले बताउनुभयो । अमरगढी नगरपालिकासहित अन्य छ स्थानीय तहमा भवनलगायत भौतिक संरचना नहुँदा कार्यालय सञ्चालनमा समस्या हुने गरेको छ । भवन नहुँदा सेवाग्राहीलाई सेवा दिनसकिएको छैन ।

सरकारले स्थानीय तहमै अधिकांश सेवा दिनका लागि कर्मचारी पठाए पनि कार्यालय स्थापनाका लागि भवन नहुँदा कार्यालय व्यवस्थापन हुनसकेको छैन । यति मात्रै नभई स्थानीय तहमा गएका कर्मचारीलाई आवासका लागि समेत समस्या भएको छ ।

बेल्जियमका विद्यार्थी भवन निर्माणमा

कुष्ठरोग र क्षयरोगको उपचारका लागि बेल्जियममा कक्षा १० मा अध्ययनरत १२ विद्यार्थी आजभोलि स्वास्थ्यसम्बन्धी भवन निर्माणमा व्यस्त रहेका छन् । दामियन फाउण्डेशन बेल्जियम नेपालको आर्थिक सहयोगमा उपक्षेत्रीय अस्पताल डडेल्धुरामा आठकोठे भवन बन्दैछ ।

सुदूरपश्चिम उपक्षेत्रीय अस्पताल डडेल्धुरामा निर्माण भइरहेको उक्त भवनको निर्माणका लागि विद्यार्थीले काम गर्ने गरेका छन् । सुदूरपश्चिमका सात वटै पहाडी जिल्लाका बिरामीको उपचार केन्द्रका रुपमा भवन निर्माण भइरहेको सुदूरपश्चिम उपक्षेत्रीय अस्पताल डडेल्धुरा विकास समितिका अध्यक्ष लक्ष्मण सिंहले बताउनुभयो ।

भवन निर्माण अवधिभर विद्यार्थीले निःशुल्क काम गर्ने फाउण्डेशन नेपालका निर्देशक डा सुरेश कोइरालाले बताउनुभयो । भवन निर्माणका लागि अस्पताल र फाउण्डेशनका बीचमा द्विपक्षीय हस्ताक्षर भएको थियो ।

एक उत्तर छोड्न