सय वर्ष पुरानो अस्पतालः भगवान् भरोसामा उपचार

4
डेन्टल हस्पिटल

भक्तपुर,साउन ३ देशकै वीर अस्पतालपछिको दोस्रो अस्पतालका रुपमा रहेको एक सय १३ वर्ष पुरानो भक्तपुर अस्पतालमा सघन कक्ष सञ्चालनका लागि आएको करोडौँको सामान एक वर्षदेखि अलपत्र परेको छ ।
अस्पताल पुरानो भए पनि अस्पतालमा सघन कक्षसमेत नहुँदा सामान्यदेखि जटिल शल्यक्रियासमेत भगवान् भरोसामै हुने गरेको यहाँ कार्यरत चिकित्सकले बताएका छन् । केन्द्रीय अस्पतालका रुपमा रहेको सो अस्पताल राणा प्रधानमन्त्री चन्द्रशम्शेरले विसं १९६१ असार १७ गतेदेखि ‘चन्द्रलोक डिस्पेन्सरी’ नामबाट सञ्चालन गरेका हुन् ।

विशेषगरी प्रसूतिको सबैभन्दा बढी शल्यक्रिया हुने सो अस्पतालमा सघनकक्षबिना नै मिर्गौलाको पत्थरीलगायत विभिन्न शल्यक्रिया हुँदै आएका छन् । शल्यक्रियापछि बिरामीलाई ‘पोष्ट अपरेटिभ’ कक्षमा केही घण्टा राखेर आवश्यकतानुसार सघन कक्षमा राखी उपचार गरेपछि मात्रै पोष्ट अपरेटिभ कक्षमा सारिनुपर्ने नियम भए पनि भक्तपुर अस्पतालमा भने सघनकक्षविना नै शल्यक्रिया गरी बिरामीलाई सो कक्षमा सार्ने गरिएको छ ।

अस्पतालमा न त सुविधासम्पन्न पोष्ट अपरेटिभ कक्ष नै छन्, न त सघन कक्ष नै । अस्पतालका प्रसूति रोग विशेषज्ञ डा जमुनाकिरण पौडेलले सघन कक्ष नहुँदा स्त्रीरोग र प्रसूतिको जटिल शल्यक्रियामा समेत हचुवाका भरमा उपचार गरिँदै आएको बताउनुभयो ।
पाठेघरका साना तथा ठूला ट्युमर झिक्ने तथा शल्यक्रिया गरेर शिशु निकाल्ने र आमा एवं शिशुको अवस्था जोखिम भएका बेलामा समेत भगवान् पुकार्दै शल्यक्रिया गर्नुपर्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो,“दिनमा १८ वटासमेत गाइनो तथा प्रसूतिको शल्यक्रिया ग¥याँै तर शल्यक्रियापछि बिरामीलाई राख्ने पोष्ट अपरेटिभ वार्डसमेत छैन, सघन कक्ष समेत सञ्चालनमा नआउँदा कतिपय सघन कक्ष चाहिने बिरामीलाई अन्य अस्पतालमा रिफर गर्नुपर्छ ।”

बिरामीलाई शल्यक्रियापछि सघन कक्षमा नराखी सामान्य कक्षमा राख्नुपर्ने बाध्यताले बिरामीलाई संक्रमण हुन सक्ने जोखिमसमेत उत्तिकै बढ्ने अस्पतालका परिचाारिका बताउँछन् । यहाँको सामान्य कक्षमा समेत अक्सिजन छैन । बिरामीलाई आवश्यक पर्ने न्यूनतम पूर्वाधारसमेत नहुँदा शल्यक्रियापछि बिरामीलाई जस्तै चिकित्सक र परिचारिकालाई पनि चिन्ता हुने गर्छ ।

सघन कक्ष सञ्चालन नभएसम्म ल्याइएका उपकरण एवम् मोनिटरलगायत केही सामान राखेर शल्यक्रियापछि बिरामी राख्ने पोष्ट अपरेटिभ कक्ष सञ्चालन गर्न अस्पतालका चिकित्सक एवं परिचारिकाले माग गर्दा समेत अस्पताल प्रशासनले अटेर गरेको छ ।

अस्पतालका पूर्वअध्यक्ष नवराज गेलालले आफ्नै पहलमा भेन्टिलेटरसहितको पाँच शय्याको सघन कक्ष सञ्चालन गर्न आवश्यक सम्पूर्ण सामग्री ल्याइए पनि त्यसलाई अलपत्र राखेर सघन कक्ष अझै सञ्चालनमा नल्याइएकामा दुःख व्यक्त गर्नुभयो ।

स्त्रीरोगमा शल्यक्रिया गर्दा एउटा बल्ब बालेर गर्नुपर्ने अवस्था आएको र कतिपय अवस्थामा जेनेरेटरसमेत सञ्चालनमा नआउँदा मोबाइलको लाइट बालेर अप्रेशन गर्नुपर्ने अवस्था रहेको चिकित्सक बताउँछन् । अस्पतालका एनेस्थेसियन(बेहोस पार्ने) डा सरिता श्रेष्ठले अस्पतालमा एम्बुलेन्ससमेत नभएको बताउँदै राति गर्नुपर्ने शल्यक्रियाका लागि घरबाट आउने र राति घर जाने सवारी साधनसमेत नहुँदा निकै समस्या भोग्नुपरेको गुनासो गर्नुभयो ।

अस्पतालले सञ्चालन गर्न सक्ने सेवासमेत सञ्चालन हुन नसकेको बताउँदै उहाँले अस्पतालको उपचार हचुवामा चलेको छ भन्नुभयो । राति समस्या पर्दा प्रशासनदेखि मेट्रोनसमेतले सहयोग नगर्दा निकै जोखिम मोलेर शल्यक्रिया एवम् उपचार गर्नुपर्ने बाध्यता रहेको यहाँका कर्मचारी बताउँछन् ।

“राति अपरझट अप्रेशन गर्नुपर्ने अवस्थामा नजिकै क्वाटरमा बस्ने नर्सिङ इन्चार्जले समेत कुनै सहयोग गर्नुहुन्न, मोबाइल अफ हुन्छ, राति त प्रशासन प्रमुखको समेत मोबाइल अफ हुन्छ, बिरामी अन्यत्र रिफर गर्नुपरेमा अस्पतालसँग एम्बुलेन्ससमेत छैन, जोखिम मोलेर भगवानको नाम लिँदै शल्यक्रिया गर्नुपर्छ”, अस्पतालका एक चिकित्सकले गुनासो गर्नुभयो ।

अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा सुधा देवकोटाले भन्नुभयो, “अस्पताललाई सघन कक्ष नभएर उपचारमा खासै समस्या आएको छैन, सघन कक्ष आवश्यक पर्ने बिरामीलाई अन्यत्र अस्पतालमा रिफर गर्छाँै ।” सघन कक्ष सञ्चालनका लागि आएको सामान अलपत्र परेको स्वीकार्दै उहाँले सघन कक्ष सञ्चालनका लागि जनशक्ति नभएकाले स्वास्थ्य मन्त्रालयसँग जनशक्ति पठाइदिन माग गरिएको जानकारी दिनुभयो ।

एक उत्तर छोड्न