लोकतन्त्र प्राप्तिको आन्दोलनमा काँग्रेसको योगदान महत्वपूर्ण–प्रधानमन्त्री ओली

काठमाडौँ,  फागुन २०- नेकपा (एमाले)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रलाई सुरक्षित, सुदृढ तथा संस्थागत विकास गर्न राजनीतिक दलबीच थप सहकार्य, सहमति आवश्यक भएकामा जोड दिनुभएको छ ।

नेपाली काँग्रेसको १३आँै महाधिवेशनको उद्घाटन सत्रलाई आज खुलामञ्चमा सम्बोधन गर्दै उहाँले विकास निर्माण र राष्ट्रिय एकता कायम गर्न आफ्नो पार्टी सबै शक्तिसँग मिलेर अगाडि बढ्न चाहन्छ भन्नुभयो ।

“लोकतान्त्रिक संविधानमार्फत जनताका हकअधिकार संस्थागत र सुदृढ गरिएका छन्, जनता आर्थिक उन्नतिको नयाँ चरणमा प्रवेश गरेका छन्, अब विगतका तरिका र शैली परिवर्तन गर्नुपर्छ”, अध्यक्ष ओलीले भन्नुभयो ।

देशको आर्थिक विकास तथा समृद्धिका लागि राजनीतिक दलहरुले ध्यान दिनुपर्छ भन्नुहुँदै उहाँले यसका लागि नेपाली काँग्रेस र एमाले मुख्यरुपमा हातेमालो गर्दै अगाडि बढ्नुपर्छ भन्नुभयो ।

अध्यक्ष ओलीले नेपाल हिमाल, पहाड, तराई, १२५ जनजाति, १२३ भन्दा बढी भाषाभाषी भएको देश, पूर्वदेखि पश्चिमसम्म विभिन्न व्यापार, व्यवसाय र संस्कृति अपनाएको देश भएको चर्चा गर्दै सबै भाषा, जाति र पेसालाई सम्मान गर्न जरुरी छ भन्नुभयो ।

उहाँले लोकतान्त्रिक तथा प्रजातान्त्रिक आन्दोलनको इतिहासमा काँग्रेसले असाधारण योगदान दिएको चर्चा गर्दै नेपाली समाजलाई राणा शासनको अन्धकार युगबाट आधुनिक युगसम्म ल्याउन काँग्रेसले धेरै मिहिनेत, पसिना बगाएको, धेरै जुक्ति खियाएको र बलिदान गरेको छ भन्नुभयो । “लोकतन्त्र प्राप्तिको आन्दोलन तथा जनताको जीवनस्तरमा परिवर्तन ल्याउन काँग्रेसको योगदान उच्च रहेको छ”, उहाँले भन्नुभयो ।

“काँग्रेसको यो महाधिवेशन कर्मकाण्डी र नियमित संवैधानिक प्रक्रिया मात्र हुनु हुँदैन, नीतिगत, व्यावहारिक र नेतृत्वगत रुपमा आफूलाई तयार राख्नुपर्छ”, उहाँले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को बुधबारको बैठकले प्रजातान्त्रिक आन्दोलनमा सहादत प्राप्त गरेका २२ जनालाई राज्यका तर्फबाट सहिद घोषणा गरी उच्च सम्मान दिएको बताउनुभयो ।

Leave a Reply