कर्मचारीको आचरणमा परिवर्तन हुनुपर्छ : कृषिमन्त्री

विकास

बनेपा, २० फागुन – आव २०७३-७४ का लागि काभ्रेपलाञ्चोकको धुलिखेलमा आजदेखि मध्यमाञ्चलस्तरीय दुई दिने क्षेत्रीय योजना तर्जुमा गोष्ठी सुरु भएको छ । क्षेत्रीय कृषि निर्देशनालयको आयोजनामा सुरु भएको गोष्ठीमा कृषि विकास मन्त्री हरिबोल गजुरेलले कृषकको हक अधिकार स्थापित गराउन कर्मचारीको आचरण र व्यवहारमा परिवर्तन आउनुपर्ने बताउनुभयो ।

परम्परागत र निर्वाहमुखी कृषिलाई उकास्नका लागि पकेट क्षेत्रको अवधारणा ल्याएको उल्लेख गर्दै उहाँले साना कृषकलाई समेत आधुनिक कृषि प्रणालीसँग जोड्नुपर्नेमा जोड दिनुभयो ।

मन्त्री गजुरेलले भन्नुभयो बजेट निर्माण गर्दा हामीले साना र उत्पीडित समुदायका कृषकलाई ध्यानमा राखेर काम गर्न जरुरी छ ।

कृषि विकास मन्त्रालयका सचिव उक्तकुमार भट्टराईले कृषिको बाली बिमा प्रभावकारी नभएको उल्लेख गर्दै त्यसलाई प्रभावकारी नबनाउँदा अप्ठ्यारो परिस्थिति आउन सक्छ भन्नुभयो ।

उहाँले कृषक कल सेन्टरलाई जिल्लामा पनि विस्तार गनुपर्नेमा जोड दिँदै कृषि औजारमा दिएको अनुदानबाट सरकारले लाभ पाउन नसकेको बताउनुभयो ।

मध्यमाञ्चलको १९ जिल्लाका कृषि विकास कार्यालय, मत्य विकास केन्द्र, मौरी फार्म, माटो प्रयोगशाला, बीउ भण्डारण केन्द्र, वरिष्ठ कृषि अर्थ विज्ञलगायत करिब १५० जनाको सहभागिता रहेको गोष्ठीमा भूकम्पबाट प्रभावित कृषकलाई सहुलियत दिने र आर्थिक अवस्थामा सुधार गर्ने विषयमा छलफल हुनेछ ।

Leave a Reply