नेता नेपाल र बङ्गलादेशका सञ्चारमन्त्रीबीच भेट

1
सञ्चार

काठमाडौँ, फागुन २१- नेकपा (एमाले)का वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग बङ्गलादेशका सूचना तथा सञ्चारमन्त्री हसनुल हक इनुले आज अपराह्न भेटवार्ता गर्नुभयो ।

त्यस अवसरमा उहाँहरूबीच नेपाल–बङ्गलादेश सम्बन्धका साथै आपसी हित र चासोका विविध विषयमा विचारविमर्श भएको नेपालका लागि बङ्गलादेशका राजदूत मास्फी विन्टे शाम्सले राससलाई बताउनुभयो ।

बङ्गलादेशले नेपालमा जलस्रोत र ऊर्जाको क्षेत्रमा लगानी गर्न चाहेको जानकारी मन्त्री इनुले गराउनुभएको उहाँले बताउनुभयो ।

नेता नेपालले नेपालमा लगानीको वातावरण बनेकाले ढुक्क भएर पुँजी लगाउन आह्वान गर्नुभएको थियो । राजदूत शाम्सका अनुसार उहाँले संविधान कार्यान्वयनमा दृढतापूर्वक वर्तमान सरकार लागेको र राजनीतिक स्थायित्वसँगै शान्ति र आर्थिक विकासको बाटोमा नेपाल अग्रसर भइरहेको बताउनुभएको थियो ।

एक उत्तर छोड्न