नेपाल–बङ्गलादेश सहकार्यको सैद्धान्तिक सहमति

काठमाडौँ, फागुन २१- नेपाल र बङ्गलादेशका सरकारी सञ्चारमाध्यमबीच समाचार आदान–प्रदान एवम् पारस्परिक सहकार्यको सैद्धान्तिक सहमति भएको छ ।

काठमाडौँ, फागुन २१- नेपाल र बङ्गलादेशका सरकारी सञ्चारमाध्यमबीच समाचार आदान–प्रदान एवम् पारस्परिक सहकार्यको सैद्धान्तिक सहमति भएको छ ।

सूचना तथा सञ्चारमन्त्री शेरधन राई र उहाँका बङ्गलादेशी समकक्षी हसनुल हक इनुबीच आज यहाँ भएको भेटवार्तामा दुबै देशका सरकारी सञ्चारमाध्यमबीच त्यस्तो सहमति भएको हो ।

भेटवार्तामा राष्ट्रिय समाचार समिति (रासस) र बङ्गलादेश सङ्घवाद संस्था (बासस), रेडियो नेपाल र बङ्गलादेश बेतार तथा नेपाल टेलिभिजन र बङ्गलादेश टेलिभिजन (बिटिभी) बीच सूचना र समाचारको आदान–प्रदान गर्ने सम्बन्धी समझदारीपत्रमा निकट भविष्यमा हस्ताक्षर गर्न दुबै मुलुकका सञ्चारमन्त्रीले सैद्धान्तिक सहमति जनाउनुभयो ।

पहिलो चरणमा रासस र बाससबीच सहकार्य गर्न दुबै मुलुकका सञ्चारमन्त्रीले सम्बन्धित निकायलाई निर्देशन दिने र समझदारीपत्रको मस्यौदा दुबै देशका राजदूतावासमार्फत दुबै राष्ट्रका सरकारले अन्तिम रुप दिन हस्ताक्षर गर्ने सहमति मन्त्रीद्वयले गर्नुभयो ।

त्यसैगरी, दोस्रो चरणमा दुबै देशका सरकारी रेडियो र टेलिभिजनबीच सहकार्यको सहमति हुनेछ । तीनवटै सञ्चारमाध्यमबीचको सहकार्यको प्रक्रियागत काम तत्काल प्रारम्भ गर्न उहाँहरुले सम्बन्धित निकायलाई निर्देशन दिने प्रतिबद्धता पनि बैठकमा व्यक्त गर्नुभयो ।

निकट भविष्ष्यमा सञ्चालन हुने आमसञ्चार प्रशिक्षण प्रतिष्ठानलाई व्यावसायिक एवम् सुदृढ बनाउन बङ्गलादेशको पत्रकारिता प्रशिक्षण प्रतिष्ठान तथा पत्रकारिता र आमसञ्चार अध्यापन गराउने विश्वविद्यालयसँग मिलेर काम गर्न नेपाल सरकार इच्छुक रहेको मन्त्री राईले बताउनुभयो ।

सूचनाको हकको प्रभावकारी कार्यान्वयनका लागि दुबै देशका राष्ट्रिय सूचना आयोगबीचको सहकार्यबारे आफूलाई जानकारी भएको र द्विपक्षीय समझदारी गर्न नेपाल तयार रहेको पनि मन्त्री राईले बताउनुभयो ।

नेपाल र बङ्गलादेशबीच राजनीतिक, आर्थिक एवम् सामाजिक स्तरको सम्बन्धलाई सबल तुल्याउन समाचारको आदान–प्रदान महत्वपूर्ण हुने विचार पनि मन्त्री राईले व्यक्त गर्नुभयो ।

नेपालका श्रमजीवी पत्रकारलाई व्यावसायिक उत्तरदायित्वबाट मर्यादित बनाउने उद्देश्यले आमसञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना हुन लागेको जानकारी दिँदै मन्त्री राईले बङ्गलादेशले त्यस क्षेत्रमा हासिल गरेका उपलब्धि नेपालका निम्ति उपयोगी हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, “नेपाल प्राकृतिक सौन्दर्य र जातिय विविधताले भरिपूर्ण छ । चलचित्रको छायाङ्कनका निम्ति केन्द्रबिन्दु बन्न सक्छ । त्यस निम्ति पनि मिलेर काम गर्न सकिन्छ ।”

संविधानसभाबाट संविधान जारी भइसकेपछि नेपालको पहिलो कार्यसूची आर्थिक उन्नति भएको उहाँले बताउनुभयो । उहाँले सामाजिक विकास, समानता र न्याय सुनिश्चित गर्दै राष्ट्र निर्माणमा वर्तमान सरकार दत्तचित्त रहेको पनि जानकारी दिनुभयो ।

प्रधानमन्त्री केपी ओलीको हालै सम्पन्न भारतको राजकीय भ्रमण र त्यस क्रममा भएका सम्झौताले बङ्गलादेश र नेपालबीचको पारवहन मार्ग सञ्चालनलाई मूर्त रुप दिएकाले द्वि–देशीय व्यापार विस्तार र लगानीका ढोका खुलेको उहाँले बताउनुभयो ।

मन्त्री इनुले बर्सेनि २७ हजारभन्दा बढी बङ्गलादेशी पर्यटक नेपाल आउने गरेका र दुई हजारभन्दा बढी नेपाली विद्यार्थी चिकित्साशास्त्र अध्ययन गर्न बङ्गलादेश जाने गरेका जानकारी दिँदै दुई देशबीचको जनस्तरको सम्बन्ध अझ सुदृढ तुल्याउन बङ्गलादेश सरकार इच्छुक रहेको बताउनुभयो ।

उहाँले प्रेस इन्स्टिच्युट अफ बङ्गलादेशले पत्रकारितासम्बन्धी विविध तालिम सञ्चालन गर्दै आएको जानकारी दिँदै नेपालका श्रमजीवी पत्रकारहरुलाई तालिमका निम्ति स्वागत गर्न बङ्गलादेश तयार रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “हाम्रो मुलुकका निजी र सरकारी गरी १९ वटा विश्वविद्यालयले आमसञ्चार तथा पत्रकारिता अध्यापन गराउँदै आएका छन् । नेपालका पत्रकारहरुलाई अल्पकालीन तालिमका निम्ति हामी सहभागी हुन आह्वान गर्दछौँ ।”

उहाँले मन्त्री राईलाई बङ्गलादेश भ्रमणका निम्ति आमन्त्रण गर्नुभयो । मन्त्री इनुको निमन्त्रणालाई स्वीकार गर्दै मन्त्री राईले उपयुक्त समयमा बङ्गलादेशको भ्रमण गर्ने जानकारी दिनुभयो । साथै, उहाँले भ्रमणको निम्ताका लागि मन्त्री इनुप्रति कृतज्ञता पनि व्यक्त गर्नुभयो ।

भेटका अवसरमा नेपालका लागि बङ्गलादेशका राजदूत मास्फी बेन्टे शाम्स र यहाँस्थित बङ्गलादेशी राजदूतावासका वरिष्ठ अधिकारीहरुको उपस्थिति थियो ।

Leave a Reply