५० लाखको लगानीमा सामूहिक कृषि तथा पशुपालन फर्म सञ्चालन

पशुपालन

बलेवा (बागलुङ), फागुन २१- जिल्लाको काँडेवासका किसान सामूहिक कृषि उत्पादनमा जुटेका छन् । विभिन्न समूहमा आबद्ध यहाँका किसान विभिन्न पेसामा व्यावसायिक बन्न थालेका हुन् । काँडेवास गाविसमा मात्रै पछिल्लो दुई वर्षको अवधिमा करिब रु ५० लाखको लगानीमा सामूहिक कृषि तथा पशुपालन फर्म सञ्चालन गरिएको छ । समूहमा आबद्ध भएर काम गर्दा लगानी जुटाउन सजिलो हुने कृषकले बताएका छन् ।

समूहमा आबद्ध भएर काम गर्न सजिलो हुने साथै ठूला योजना सञ्चालनका लागि लगानी जुटाउनसमेत सजिलो हुने जागृति पशुपालन तथा कृषि समूहका अध्यक्ष घनश्याम चालिसे बताउनुहुन्छ । “समूहमा आबद्ध भएर अपनत्व महसुस गर्नसके निकै लाभ हुँदो रहेछ” उहाँले भन्नुभयो ।

जागृति पशुपालन तथा कृषि समूहले काँडेवासमा गाई फर्म, बाख्रापालन, माछापालन तथा बङ्गुरपालन गरेको छ । सरकारी अनुदानले समूहमा आबद्ध भएर व्यवसाय सञ्चालन गर्न पे्ररित गरेको चालिसेको भनाइ छ । समूहले गाविसको वडा नम्बर २ चालिसेटोलामा गाईफर्म सचालन गरेको छ । करिब रु १५ लाखको लागतमा १५ वटा जर्सी तथ होलेस्टोन जातक गाई पालिएको छ ।

यस्तै वडा नम्बर–३ मा रु २० लाखको लगातमा बाख्रा फर्म, वडा नम्बर–३ कै पचुवा गैरीफाँटमा रु १२ लाखको लागतमा माछापालन तथा तरकारीखेती गरिएको छ । करिब रु १५ लाखको लागतमा समूहमार्फत नै बङ्गुरपालन गरिएको चालिसेले बताउनुभयो ।

समूहमा आबद्ध सबै १८ जना सदस्यलाई विभिन्न फर्ममा जिम्मेवारी तोकिएको छ । सञ्चालित फर्मले क्रमशः मुनाफा हुन थालेको छ । सुरुका दुई वर्ष लगानी वर्षको रुपमा रहे अब क्रमशः प्रतिफल पाउन थालेका सहकारीले जनाएको छ । सामूहिक कृषिबाट समयको बचत, लगानी जटाउन सजिलो, उत्पादन र बजारीकरणमा सहजता र सामाजिक उत्तरदायित्व जस्ता सकारात्मक प्रभाव परेको पाइएको छ ।

सहकारीमार्फत खेती किसानी गर्दा सरकारी अनुदानसमेत पाउन भएपछि किसानको थप आकर्षण बढेको छ । जिल्लाका कृषि तथा पशु विकास कार्यालयमार्फत किसानलाई अनुदान प्रदान गर्दा सामूहिकताले प्राथमिकता पाउने गरेको छ । “समूह वा सहकारीमार्फत फर्म वा व्यवसाय सञ्चालन गर्ने किसानलाई सरकारी अनुदानको दायरामा ल्याउन सजिलो हुन्छ ।” वरिष्ठ कृषि विकाश अधिकृत विनोद हमालले भन्नुभयो ।

Leave a Reply