प्रचण्डको छाताले मात्रै कति दिन चल्छ माओवादी ?

प्रचण्ड सरकारले १७ करोड बाँढेको खुलासा

काठमाडौँ, असोज १- टीकापुरबाट धनगढी जाँदै गर्दा माओवादी केन्द्रका एकजना नेताको मोबाइलमा मिनेटपिच्छै फोन बजिरहेको थियो । सबै फोनको एउटै उत्तर दिइरहेका थिए ती नेताले- कोही भेटिए भने पठाइदिम्ला, तर कोही पनि जान मान्दैनन्, अध्यक्षले भ्याउनुहुन्न ।

यी फोनहरु प्रदेशको पहाडी जिल्लाका इञ् चार्ज र विभिन्न स्थानीय तहका उम्मेद्वारहरुका थिए । सबैको आकांक्षा एउटै थियो- कोही केन्द्रीय नेता आइदेओस् चुनावी सभामा ।

 

तर बिडम्बना, प्रदेश नं. ७ का पहाडी जिल्लामा लीलामणि पोख्रेल ५/ ६ वटा चुनावी सभामा सहभागी भएबाहेक माओवादी केन्द्रबाट एकजना पनि नेता जान मानेनन् । पार्टी अध्यक्ष प्रचण्डले भने बाँके र बर्दियापछि दुई दिन कैलाली र कञ्चनपुरका १९ वटा कार्यक्रमलाई सम्बोधन गरे ।

कुनैबेला माओवादीको बलियो जीतको इतिहास बोकेका जिल्लाहरुमा एउटा पनि बृहतस्तरको या केन्द्रीय नेताहरुले सम्बोधन गरेको सभा भएन । काठमाडौं र ललितपुरमा मेयरको लज्जास्पद हार भयो ।

यो त्यही काठमाडौं हो, जहाँ माओवादी केन्द्रभित्र उत्तराधिकारीको दावी गर्ने र दोस्रो पुस्ताका भन्न रुचाउने दर्जनौं नेताहरु बस्ने गर्छन् । प्रचण्ड त्यतिबेला सरकारमा थिए, तर दोस्रो पुस्ताका एकजना नेताले पनि काठमाडौंमा आमसभाहरुको आयोजना गरेर पार्टी र सरकारको धारणा राख्ने काम गरेनन् । नारायणकाजीदेखि वर्षमान पुनसम्म सभामा देखिएनन् । न त दोस्रो र तेस्रो पुस्ताका अन्य नेताहरु नै चुनावी अभियानमा अहोरात्र लागेको देखियो । यदि त्यसरी सिँगो शक्ति परिचालित भएको भए सम्भवतः दुबै चरणको स्थानीय निर्वाचनको परिणाम अलि फरक हुनसक्थ्यो होला माओवादीका लागि ।

माओवादी केन्द्र नेताहरुको उल्लेख्य उपस्थिति भएको पार्टी हो । नयाँ संगठन भन्दा पनि युद्दकालदेखि नै नेता भएकाहरुको बाहुल्यता छ यो पार्टीमा । नेताहरुको चाप थेग्न नसकेर माओवादीले संसारमा नै कहीँ नभएको हजारौंको केन्द्रीय समिति समेत गठन गरेको छ ।

तर, पार्टीभित्र र जनवर्गीय संगठनमा नेता बन्न ठूलो होडबाजी चले पनि कार्यक्षेत्रमा खटिएर आम जनतामाझ पार्टीको एजेण्डा र विचार लैजाने सवालमा भने यो जम्बो नेताहरुको टिमले उल्लेखनीय केही गर्न सकेको छैन । जबकि सामाजिक सञ्जाल र पार्टी बैठकहरुमा हरेकले आफूलाई ठूलो, कतिपयले उत्तराधिकारी, दोस्रो पुस्ताको नेता भनेर दावी गर्दै आएका छन् ।

यसरी नेतृत्वको दाबी गर्नेहरुले प्रचण्डको सक्रियताबाट पाठ सिक्न भने खोज्दैनन् । प्रचण्डको आलोचना उनीहरुले सार्वजनिक गर्न रुचाउँछन् तर उनको मेहनत र सक्रियता अनुरुप आफूले समेत आफूलाई परिवर्तन गर्नुपर्छ भनेर सोच्दैनन् । यो माओवादी केन्द्रको अहिलेको तीतो यथार्थ हो ।

को-को पसे मधेस ?

तेस्रो चरणको निर्वाचनको बेला मिडियामा प्रचण्डको सक्रियताका बारेमा मध्यरातसम्म चुनावी प्रचारमा भन्ने आशयका थुप्रै सामग्री प्रकाशित भए । प्रचण्ड फिल्डमै खटिए । १५ दिन उनी मधेसमै बसे ।

मधेसमा रहेका बेला प्रचण्डको दिनचर्या व्यस्त रह्यो । बिहान ५ बजे उठेर बसेको स्थान वरपर डुल्ने, आम मानिससँग दुखसुखका कुरा गर्ने, त्यसपछि गाउँबस्ती, टोल, नगरमा आयोजना भएका सभाहरुमा सहभागी हुने काम उनीबाट भयो ।

राति ११ बजेसम्म सुरक्षाको प्रवाह नगरी तराईका गाउँबस्तीका अत्यन्तै कठिन बाटोहरु छिचोल्दै प्रचण्डले जनतामाझ पार्टीका एजेण्डा लैज्ााने काम गरे । सुरक्षाका हिसाबले अत्यन्तै संवेदनशील मानिने कतिपय गाउँमा समेत उनले १० बजे राति आमसभालाई सम्बोधन गरे । प्रचण्डको यो सक्रियता लोभलाग्दो अवश्य थियो ।

तर यही बेला दोस्रो पुस्ताको नेताको दावी गर्ने र प्रचण्डपछिका नेताहरुको सक्रियता भने देखिएन । नारायणकाजी श्रेष्ठ महोत्तरी पुगेर फर्किए, अन्य जिल्ला जाने जाँगर उनमा चलेन ।

पार्टीले शीर्ष सबै नेताहरुलाई जिल्लाहरुको समन्वय गर्ने जिम्मेवारी तोकेको थियो । तर, यस्तो बेलामा कोही जापान हानिए, कोही राजधानीमै बसे । बादल, देव गुरुङहरु कतै देखिएनन् मधेसमा । न त अग्नि सापकोटालगायतका नेताहरु नै मधेसमा देखिए । महरा चीन भ्रमणमा थिए, गृहमन्त्री एक दुईवटा सभामा सहभागी भए प्रचण्डसँगै ।

एक्ला प्रचण्डले ८ वटा जिल्लामा पुरै १५ दिन बिताए । दैनिक १८ घण्टा उनी खटिए । यही अपेक्षा पार्टीभित्रबाट नारायणकाजीबाट थियो । खासगरी आफूलाई प्रचण्डको उत्तराधिकारीको अघोषित दावी उनले गर्दै आएका छन् । अझ प्रदेश नं. २ मा उनीहरुको आधार समेत थियो । सर्लाही, सिरहा, महोत्तरी, धनुषालगायतका जिल्लामा नारायणकाजीले प्रचण्डसँग या जिल्ला पार्टीसँग समन्वय गरेर दुई चार दर्जन आमसभामा पार्टीका कुरा राखेको भए यसको फरक प्रभाव पथ्र्यो । तर, यसो भएन ।

माओवादी आन्दोलनमा बादल अर्का चर्चित नेता हुन् । उनले दुईचार वटा जिल्लाका अभियानमा हिँडेको भए यसले उल्लेख्य परिवर्तन हुन्थ्यो होला । तर, उनी पनि डेग चलेनन् । प्रचण्डको काँधमा मधेसको भार आइपुग्यो । ६३ वर्षको उमेरमा उनले जति सकिन्छ, एक्लै भ्याए । करिब दुई सय बढी कार्यक्रममा सहभागी भए ।

माओवादी इत्तरका मानिसहरु भन्ने गर्छन- प्रचण्ड भए माओवादी रहन्छ, माओवादी भन्नु नै प्रचण्ड भइसक्यो । ‘वान मेन इन अल’ । यसो भन्दा दोस्रो पुस्ताका नेताहरुलाई पक्कै पनि चोट पर्छ । माओवादीभित्र कुनै बेलाका जुझारु र पछिल्लो समयमा आलोचित लोकेन्द्र विष्टले त सार्वजनिकरुपमा नै यो आशयका टिप्पणीहरु गर्दै आएका छन् ।
नारायणकाजी समूहका र अन्य नेताहरुले समेत प्रचण्डको सक्रियताले मात्रै माओवादी जीवित रहेको छ भन्ने टिप्पणी पचाउँदैनन् । हिजो बाबुराम भट्टराईले यही विषयमा दशकसम्म प्रचण्डको आलोचना गरे ।

तर, यथार्थले के देखाउँछ ? खासगरी माओवादी पार्टी संकटमा परेको बेला र पुनर्निर्माणको शुरुआत भएका बेला बनेको माओवादी पार्टीको नेतृत्वको सरकार र स्थानीय निकायको निर्वाचनमा प्रचण्डको भूमिकाले के देखाउँछ ? कसैले प्रचण्डको जस्तो सक्रियता देखाउन सक्ने पार्टीभित्र हिम्मत गर्न सकेको छ ?

पहिलो चरणको निर्वाचनको बेला केन्द्रीय नेताहरु नआएकै कारण चुनाव हारेको तीतो अनुभूति गर्ने दर्जनौं जिल्ला इञ्चार्जहरुको कुरा सुन्नुस् त ? कति खटिए दोश्रो पुस्ताका नेताहरु । कति जनतासम्म पार्टीका एजेण्डा लगे उनीहरुले । स्वतःस्फूर्तरुपमा त कुरै छोडौं, पार्टीले संस्थागत निर्णय गर्दा समेत त्यसलाई पालना गरेर संगठन परिचालनका लागि कति हिँडे पार्टीका नेताहरु ।

पहिलो र दोश्रो चरणमा रोल्पा र रुकुममा मात्रै दर्जन बढी शीर्ष नेताहरु ओइरिएको बेला ताप्लेजुङ, इलामदेखि बैतडी र बाजुराका जनता केन्द्रीय नेताको मुख हेर्न छटपटिएको यथार्थ होइन ? जनार्दन शर्मादेखि वर्षमान पुनसम्मले, नारायणकाजीदेखि गिरिराजमणि पोखरेलले आफ्नो गृहजिल्लामा मात्रै समय दिएको यथार्थ होइन ?

अहिले तेस्रो चरणको निर्वाचनमा समेत आम माओवादी समर्थक र तल्लो तहका कार्यकर्ताहरुको एउटै प्रतिक्रिया देखिन्छ- कहाँ हराए अरु नेताहरु ? प्रचण्डजस्तै अरु नेताहरु पनि १८ घण्टा खटिन्थे भने दुई नम्बरमा पहिलो बन्न कसले रोक्न सक्थ्यो । तर, यो खटाइ देखिएन ।

त्यसैले प्रश्न स्वभाविकरुप्मशीर्ष, केन्द्रीय र दोश्रो पुस्ताको दावी गर्ने नेताहरुका लागि नेपालका ७७ जिल्ला समान होइनन् ? आफ्नो चुनावी क्षेत्रमा मात्रै सुरक्षित गर्न खोज्ने, आफ्ना समर्थकहरुको मात्रै झुण्डलाई परिचालन गर्ने प्रवृत्ति मौलाउन मलजल गरेका होइनन् ? बरु तेस्रो पुस्ताका नेताहरुले उल्लेख्यरुपमा प्रचण्डको स्पिरिटलाई समातेर परिचालन भएको यथार्थ होइन ? पूर्वी, मध्य र पश्चिमका जिल्लाहरुमा दोश्रो र तेश्रो पुस्ताका नेताहरु परिचालन भएको तथ्यांक हेर्दा के देखिन्छ ? आफूले सिन्को नभाँच्ने तर प्रचण्डको सक्रियतालाई नकारात्मक अर्थमा हेरेर फेरि आफू अब्बल र सक्षम भएको दावी गर्न नैतिकताले दिन्छ र ?

पार्टी कसरी बन्छ भन्ने कुरा दोश्रो पुस्ताका नेताहरुलाई कसैले भनिराख्नु पर्दैन । इतिहासका जटिल कालखण्डमा पार्टी र संगठन निर्माण गरेको उनीहरुको अनुभव छ । पूर्व एकताकेन्द्र-मसालदेखि माओवादीको संगठन निर्माण गरेका नेताहरुलाई संगठन र जनतामाझ कसरी जाने भन्ने कुराको निकै गहन अनुभव छ ।

तर, अहिले आएर त्यो अनुभव चरम व्यक्तिवाद र आत्मसुरक्षावादमा किन रुपान्तरण भयो ? किन केन्द्रीय नेताहरु आफू र आफ्नो निर्वाचन क्षेत्रलाई मात्रै ध्यान दिन पुगेका छन् । संगठन बलियो भयो भने मात्रै आफ्नो पनि भविष्य सुरक्षित हुन्छ भन्नेतर्फ उनीहरुको ध्यान किन पुग्दैन ? प्रचण्डले गरेर मात्रै कति दिन थेगिन्छ ? प्रचण्डको ज्यानले मात्रै कति गर्न सम्भव छ ?

हरेक टोलटोल, गाउँ बस्ती, नगर र जिल्लामा एक्ला प्रचण्डले कसरी आफूलाई खटाउन सक्छ्न ? कार्यविभाजन गरेर सोही अनुरुपको जिम्मेवारी अरुले किन लिन सक्दैनन् ? अहिले तेश्रो चरणको निर्वाचनमा समेत आम माओवादी समर्थक र तल्लो तहका कार्यकर्ताहरुको एउटै प्रतिक्रिया देखिन्छ- कहाँ हराए अरु नेताहरु ? प्रचण्डजस्तै अरु नेताहरु पनि १८ घण्टा खटिन्थे भने दुई नम्बरमा पहिलो बन्न कसले रोक्न सक्थ्यो । तर, यो खटाई देखिएन ।

संगठनात्मक पद्दतीको अभाव, चेन अफ कमाण्ड नहुनु, जनता र पार्टीबीचको सम्बन्धको कडी टुट्नु जस्ता कतिपय कारणले माओवादी अहिले एजेण्डाका हिसाबले ठीक भएपनि संकटपूर्ण अवस्थामा पुगेको छ ।

माओवादीको संकटको मुख्य कारण आन्तरिक हो, बाहृय होइन । र, दोश्रो पुस्ताका नेताहरुको अहिले विकास भएको प्रवृत्तिका कारण अब यो संकट नेतृत्वको पर्ने निश्चित छ ।

आलोचनालाई सहजरुपमा ग्रहण गर्ने संस्कृति माओवादीमा छैन । आलोचनालाई सके निषेध गर्ने, नसके पलायनतातर्फ धकेल्ने या धकेलिने प्रवृत्ति माओवादीमा विकास भएको छ । आलोचनाको आलोकमा आफूलाई सुधार्ने र त्यसलाई व्यवहारले खण्डन गर्ने पद्दतीको विकास नभएसम्म दोश्रो पुस्ताको नेतृत्व सच्चिन गारो छ ।

तर, माओवादी पार्टीलाई पहिलो पार्टी बनाउने र पुरा हुन नसकेको क्रान्तिका कार्यभार पूरा गर्ने हो भने दोश्रो पुस्ताले आलोचनात्मक संस्कृतिको विकास गर्दै आफूलाई गतिशील पार्नु एकदमै जरुरी देखिन्छ । प्रचण्डको सक्रियताबाट पाठ सिक्दै सोही स्पिरिटमा संगठन निर्माणमा होमिने हो भने माओवादीको वर्ग आधार र एजेण्डाको ‘स्पेस’ पुरै बाँकी छ । यसतर्फ सबै माओवादीहरुले सोच्नु जरुरी छ ।

(लेखक माओवादी कार्यकर्ता हुन्)

अनलाइन खबर बाट साभार गरिएको

Leave a Reply