उत्तर कोरिया हाइड्रोजन बम गिराउन तयार; अमेरिकाको जुनसुकै शहरलाई निशाना बनाउन सक्ने चेतावनी

एजेन्सी, असोज १- जापानविरुद्ध लामो दूरीको मिसाइल परीक्षण गरेर चर्चामा रहेका उत्तर कोरियाले पुनः अमेरिकाको विरुद्ध आक्रोश पोखेको छ । उत्तर कोरियाका सांस्कृतिक सम्बन्धसम्बन्धी विशेष प्रतिनिधि एलेग्जेंड्रो काओ डि बेनोका अनुसार कुनै पनि हमलाको जवाफमा उत्तर कोरियाले अमेरिकामा हाइड्रोजन बम गिराउन तयार छ । यति मात्र होइन, उनले उत्तर कोरियाले आजको दिनमा अमेरिकाको जुनसुकै शहरलाई निशाना बनाउन सक्ने चेतावनी दिएका छन् ।

लेग्जेंड्रो काओ डि बेनो किमका सबैभन्दा नजिकका मानिन्छन् । परमाणु परीक्षण पछि दुई हप्ताभन्दा कम समयमा उत्तर कोरियाले जापानतर्फ एक अर्को मिसाइल प्रहार गरेको छ । यो घटनासँगै यो क्षेत्रमा विद्यमान तनाव झनै बढेको छ ।

एलेग्जेंड्रो काओ डि बेनोले बीबीसीसँग कुरा गर्दै भने, ‘अमेरिकाका सबै वैज्ञानिकलाई हामीले मिसाइल प्रहार गरेको र त्यो कम उचाईको बावजुद पनि लामो दूरीसम्म जान सक्छ भन्ने थाहा पाए होलान् । हामी यसलाई चार हजार किलोमिटरसम्मको दूरीमा प्रहार गर्न सक्छौं । यसको मतलब अब हामी अमेरिकाको जुनसुकै शहरमा प्रहार गर्न सक्छौं ।’

उनले अगाडि भने, ‘यसको साथै हामीले अन्य कयौं परमाणु परीक्षण पनि गरेका छौं । यसले हाम्रो परमाणु क्षमता देखाउँछ । संसारलाई अब हाम्रो प्राविधिक र वैज्ञानिक क्षमता थाहा भएको छ ।’

उत्तर कोरियाको सेनाले भनेको छ, ‘मिसाइलले ७७० किलोमिटरको उचाई लियो र होकाइडोको समुद्र नजिकै करिब ३ हजार ७०० को दूरी पार गरेको छ ।’ काउ डि बेनो भन्छन्, ‘डोनाल्ड ट्रम्पलाई थाहा छ कि खेल सकिइसकेको छ । तर संसारको अगाडि टिभीमा आफू बलियो भएको ढोंग देखाउने कि अमेरिकालाई फेरि पनि महान बनाउने प्रयास गर्ने हो, अर्कोतर्फ कुनै पनि गम्भीर स्थितिबाट बच्नको लागि र सुरुवाती सहमति बनाउनको लागि हाम्रो कुराकानी जारी छ ।’

उत्तर कोरियाको परमाणु गतिविधिलाई लिएर अमेरिकाले लगातार चेतावनी दिइरहेको छ । यद्यपि उत्तर कोरियामाथि यसको कुनै असर देखिएको छैन । यसबीच, संयुक्त राष्ट्र संघमा अमेरिकी राजदूत निकी हेलीले उत्तर कोरियाविरुद्ध कडा आर्थिक नाकाबन्दी नलगाएर वासिंगटनसँग सैन्य कारबाही बाहेकको विकल्प नरहने चेतावनी दिएका छन् ।

सुरक्षा परिषदको यसै साता बसेको आपतकालीन बैठकले उत्तर कोरियालाई यस्ता कारबाही तत्काल रोक्न आग्रह गरेको छ । रुसले हतियारबाट भन्दा कुटनीतिक वार्ताबाट समाधान निकाल्नुको विकल्प कसैसँग नरहेको बताउँदै आएको छ ।

Leave a Reply