‘परोपकारी’ रेडक्रसमा किन हुन्छ यस्तो गडबड ?

काठमाडौं–नेपाल रेडक्रसलाई दातृ संस्थाले दिएको सहयोगअनुसार काम हुन्छ कि हुँदैन ? रेडक्रसभित्रैबाट बेलाबेला प्रश्न उठछ् । हुन त समाजसेवी संस्थामा यो प्रश्न उठन नपर्ने हो तर जिम्मेवार पदाधिकारीले नै यस्तो रकममा आँखा लगाएपछि यस्ता प्रश्न उठने गरेका छन् ।

यसको उदारण खोज्न कोही जानु पर्दैन, नेपाल रेडक्रसको ब्लड बैङ्कको अवस्था हेरे हुन्छ । यो तीस महिनादेखि टहरामा छ । पैसा भएर पनि भवन बनाउने अवस्था बनेको छैन ।

२०७२ वैशाखमा गएको भूकम्पले रेडक्रसको ब्लड बैङ्क रहेको भवनमा क्षति पुगेको थियो । त्यसपछि अस्थायी रूपमा ब्लड बैङ्कलाई ललितपुरको बालकुमारीमा सारिएको थियो । सर्वसाधारणलाई अपायक रहेको बालकुमारीको भित्री स्थानमा रक्त सञ्चार केन्द्र सञ्चालित छ ।

नेपाल रेडक्रसले भूकम्पपश्चात दातृ निकायहरूसँग सहयोगका लागि आह्वान गरेको थियो । आपतकालीन अवस्थालाई ध्यानमा राखेर थाई रेडक्रसले ब्लड बैङ्क निर्माण गर्नका लागि ४० करोड सहयोग गरेको थियो । थाई रेडक्रसले तत्काल भवन निर्माण गर्नका लागि उक्त रकम सहयोग गरेको थियो ।

प्राप्त रकमलाई पदाधिकारीले लक्षित कार्यमा खर्च गर्न आलटाल गरेका छन् । परोपकारी संस्थाका पदाधिकारीले प्राप्त अनुदानलाई भम्रणका लागि खर्चिने गरेका छन् ।

भवन बनाउनका लागि दुई पटक खुला गरिएको टेन्डरलाई बीचमै रोकिएको छ । रक्त सञ्चार केन्द्रकी निर्देशक डा. मनिता राजकर्णिकारले ब्लड बैङ्कको निमार्ण कार्य भृकुटीमण्डपमा भइरहेको बताए पनि निर्माण कार्य अघि बढेको छैन ।

थाई रेडक्रसल उपलब्ध गराएको अनुदान रकममा ‘आर्थिक अपचलन’ गर्ने मनसायले गर्दा ठेकेदारहरू राख्ने, फेर्ने गरिएको रेडक्रसकै केही कर्मचारीको भनाइ छ ।
थाई रेडक्रसले दिएको आर्थिक सहायताको रकमबाट खर्च हुने गरी नेपाल रेडक्रसका सोसाइटीका आठ पदाधिकारी अध्ययन भ्रमण भन्दै भूकम्पपछि थाइल्यान्ड गएका थिए ।

रक्त सञ्चार केन्द्रको दुरावस्था
सर्वसाधारणलाई असुविधा हुने गरी स्थानान्तरण गरिएको नेपाल रेडक्रसको रक्त सञ्चार केन्द्र बालकुमारीमा दुरावस्थामा चलेको छ । रगत संवेदनशील वस्तु भएकाले प्रयोग गरिने टेस्टिङ किट तथा ब्लड व्याग गुणस्तरीय हुनुपर्दछ ।
रगत दान गर्ने स्थान सफा हुनुपर्दछ । रक्त परीक्षणमा प्रयोग गरिने साधनहरू गुणस्तरीय हुनुपर्दछ । केन्द्रीय प्रयोगशालामा अत्यन्तै पुराना सामग्री प्रयोग गरिराखिएको छ ।

सरकारले आव २०७१÷७२ मा सहयोग स्वरूप दिएको ब्लड ब्यागलाई प्रयोग नगरी राखेका कारणले म्याद सकिएर फाल्नुपरेको थियो । ‘सरकारले सहयोग गरेको ब्याग प्रयोग नगर्नुको मुख्य उद्देश्य ब्याग किनेर आर्थिक अनियमितता गर्नु हो ।’ स्रोतले बतायो ।
छाप्रोमा जेनतेन सञ्चालित रक्त केन्द्रमा आवश्यक सरसफाइलाई ध्यान दिइएको छैन ।
रगत परीक्षणमा गुणस्तरीय जाँच (स्क्रिनिङ) मा ध्यान नदिँदा कतिपय सङ्कलित रकम सुरक्षित नहुने गरेको छ । ३५ दिनसम्मका लागि सुुरक्षित तरिकाले राख्नुपर्ने रगतलाई विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार राखिएको केन्द्रको दाबी छ ।
साँघुरो तीनवटा कोठाबाट सेवा सञ्चालन गरिरहेको केन्द्रले दैनिक चार सय जनासँग रक्तदानको लक्ष्य राखेको केन्द्रकी निर्देशक डा. मनिता राजकर्णिकारले बताइन् ।

रगत सङ्कलन तथा आपूर्तिमा रेडक्रसले आवश्यक चासो नदेखाएकाले आशातित रगतको मात्रा सङ्कलन हुन सकेको छैन । आमनागरिकलाई उत्प्रेरणा जगाई रक्तदान गर्न प्रोत्साहन गर्ने कार्यमा नेपाल रेडक्रसले तदारुकता देखाएको छ्रैन ।

रगतलाई परीक्षणमा ध्यान नदिएको अवस्थामा रक्तजन्य सङ्क्रमण बढ्न सक्नेछ । एक जनाको सङ्क्रमित रगत अर्को व्यक्तिमा सारेको अवस्थामा रक्तजन्य रोगहरू एचआईभी, हेपाटाइटिस बी, सी सङ्क्रमण बढ्ने सम्भावना हुन्छ ।

केन्द्रका उपनिर्देशक डा. प्रकाशकुमार यादवले आर्थिक प्रलोभनमा परेर टेस्टिङ किट गुणस्तरीय प्रयोग नगरिएको भन्ने आरोप निराधार भएको बताए । उनले फ्रेस रगतको अभाव हुनसक्ने तर रगतै पाइएन भन्नु तथ्यहीन भएको बताए ।

Leave a Reply