रासायनिक विषादीमुक्त ‘खानीटार गाउँ’

प्रकाश धौलाकोटी
तेह्रथुम, १ असोज (रासस) ः तेह्रथुमको आठराई गाउँपालिका–५ छातेढुंगाको खानीटारका अगुवा कृषक चन्द्र तिवारीले बालीनालीमा कुनै पनि रासायनिक मल र विषादी प्रयोग नगर्दा पनि उहाँका खेतबारीमा टमाटर, अकबरे खुर्सानी, केरा, स्याउ, सुन्तला, कागतीलगायत फलफूल तथा तरकारी बाली राम्रैसंग फष्टाएका छन् ।

थोरै जमिनमा पनि उहाँ अरुलेभन्दा धेरै तरकारी तथा फलफूल फलाउँदै आउनुभएको छ । तिवारीले उत्पादन गर्नुभएका तरकारी र फलफूलले मूल्य पनि राम्रै पाएको छ । सात वर्षअघि रासायनिक मल र विषादीको प्रयोग छाडेर प्राङ्गारिक उत्पादन गर्ने अभियानमा लाग्नुभएका उहाँले अहिले आफ्नो माटो, घर र गाउँलाई नै प्राङ्गारिक बनाउनुभएको छ ।

प्राङ्गारिक खेती गरिरहनुभएका उहाँले बारीको डिलमा मौरीका घार राख्नुभएको छ । प्राङ्गारिक वस्तुको प्रयोगले महको माग पनि रामै भएको छ । आफूले थालेको ‘ प्राङ्गारिक उत्पादन, प्राङ्गारिक भान्सा र प्राङ्गारिक गाउँ’को अभियान अहिले सार्थक बन्दै गएको तिवारी बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “छिमेकीले पनि शुरुमा केके न गर्ने भइस् भने, एक÷दुई वर्ष उत्पादन पनि राम्रो भएन तर त्यसपछि राम्रो उत्पादन हुन थाल्यो ।” अहिले तिवारीले तरकारी, फलफूल र अलैँची खेतीबाट वार्षिक कूल रु सात लाखभन्दा बढी आम्दानी गरिरहनुभएको छ । रासायनिक मल र विषादी प्रयोग नगर्ने कृषक तिवारीका मल र विषादी पनि प्राङ्गारिक भएकाले उत्पादन प्राङ्गारिक हनुका साथै माटो बिग्रने र त्यो उत्पादन खाने मान्छेको स्वास्थ्यमा पनि असर नगर्ने भएकाले उहाँले थालेको ‘ प्राङ्गारिक उत्पादन, प्राङ्गारिक भान्सा र प्राङ्गारिक गाउँ’को अभियान गाउँभरि फैलिएको छ ।

उहाँकै सिको गरेर स्थानीय जापान कन्दङ्वाले पनि प्राङ्गारिक खेतीमै आकर्षित हुनुभएको छ । “चन्द्र दाइले गरेको देखेर त्यस्तै गर्ने उद्देश्यले काम थालेको हुँ, अहिले मैले पनि कागती, अकबरे, टमाटर, च्याउ आदि खेती गरेको छु”– कन्दङवाले भन्नुभयोे, तिवारीकोे उदाहरणीय काम देखेर जापान जस्तैः गाउँका युवराज कन्दङवा, प्रेम उप्रेती, मदन कन्दङवा र लक्ष्मी कन्दङवा पनि प्रभावित भएका छन् ।

उनीहरुमध्ये धेरैले गत वर्षबाटै आफ्नो जमिनमा अकबरे, कागती र अलैँची खेती लगाएका छन् । सबैको एउटै स्वर छ, अब गाउँमै व्यावसायिकरूपले प्राङ्गारिक खेती गरेर पैसा कमाउने । यी र यस्तै गाउँका ३१ जना युवालाई समेटेर खानीटार बहुउद्देश्यीय कृषक समूह बनाएको तिवारीले बताउनुभयो ।

सामान्य लेखपढ गर्नुभएका तिवारीले गाउँलाई प्राङ्गारिक उत्पादन हुने गाउँका रुपमा चिनाउन थालेको अभियान सार्थक बन्दैछ । करिब ३५ घरधुरी रहेको खानीटार गाउँका अधिकांश घरधुरीले रासायनिक मल र विषादीको प्रयोग गर्न छाडेका छन् । आफूले देखेको सपनाजस्तै अबको गाउँको सबै कृषिजन्य उत्पादन प्राङ्गारिक हुने भएपछि कृषक तिवारी पनि दंग हुनुहुन्छ । “मेरो सन्देशमूलक अभियान सफल हुन लागेकाले म पनि खुशी छु, उहाँ भन्नुहुन्छ ।

रासायनिक मल र विषादीले कोही व्यक्तिलाई बेखुशी बनाएको उहाँको तर्क छ । विषादी भनेको विष नै हो, आफैँले खाने चीज बीजमा विष किन छर्ने ? कृषक तिवारी भन्नुहुन्छ । अहिले गाउँका युवाले लगाएको खेतीसँगै प्राङ्गारिक मल बनाउने र प्रयोग गर्ने अभ्यास शुरु भएको छ । उनीहरुले जिल्ला कृषि विकास कार्यालय र देउराली सोसाइटी नामक गैरसरकारी संस्थाको सहयोगमा प्राङ्गारिक मल बनाउने, व्यावसायिक खेती तथा बजारीकरण कसरी गर्ने ? भन्ने सम्बन्धमा तालीम र प्रशिक्षणसमेत लिएका छन् । अब अकबरे, तरकारी, फलफूललगायत बाली विशेष खेती प्रविधिसम्बन्धी तालीम आवश्यक रहेको युवा कृषक जापान कन्दङवाको भनाइ छ ।
रासायनिक विषादी प्रयोग नगर्ने गरेका उनीहरुले गाउँघरमै पाउने वनस्पति जस्तैः धतुरो, अदुवा, लसुन, बेसार, निमपात, घ्युकुमारी, सुर्ती, टिमुर, बोजो, तितेपाती, असुरो र सिस्नु आदिको मिश्रण गरेर जैविक विषादी बनाउने गरेका छन् । त्यसरी बनाएको विषादीले नै बाली नालीमा लाग्ने रोग किराको निदान गर्ने गरेको कन्दङवाले बताउनुभयो । रासायनिक मलको सट्टामा भने उनीहरुले गोठे मल प्रयोग गर्छन् ।

गोठे मलले नपुगे स्याउला र घाँसपातबाट पनि प्राङ्गारिक मल बनाएर प्रयोग गर्ने गरिएको स्थानीय बताउँछन् । “रासायनिक बस्तु अब प्रयोग नै नगर्ने हो, कृषक कन्दङवा भन्नुहुन्छ, “हामी प्राङ्गारिक उत्पादनको स्वाद चखाउने नमूना गाउँ बनाउन चाहान्छौँ ।” उहाँ भन्नुहुन्छ, ‘‘गाउँलाई प्राङ्गारिक उत्पादन खान पाइने रासायनिक विषादीमुक्त गाउँ घोषणा नै गर्ने रहर छ, अझ गाउँलाई पर्यटकीय घरबासयुक्त गाउँ बनाउन चाहान्छौँ। ”

गाउँका युवा मिलेर प्राङ्गारिक उत्पादन गर्ने, गाउँलाई घरबासका रुपमा विकास गरी पर्यटकको गन्तव्य बनाउने लक्ष्य राखेका यी युवालाई सरकारी निकायबाट भने कुनै सहयोग छैन । गाउँमा व्यावसायिक कृषिका लागि लगानी गर्ने रकम कुनै निकायबाट सहयोग भए आफूहरुलाई राहत मिल्ने उनीहरु बताउँछन् ।

गाउँमुनि निर्माणाधीन मध्यपहाडी लोकमार्ग छ । सडक भएर पाँचथरको फिदिम, इलाम र झापासम्म यहाँको कृषि उत्पादन निकासी हुन थालेको छ । सडकको पहुँच राम्रो भएकाले पनि गाउँमा प्राङ्गारिक उत्पादन गर्नसके बजारको कुनै समस्या नहुनेमा स्थानीय सन्तोष कन्दङवा जोड दिनुहुन्छ ।

Leave a Reply