नेपालीको स्वास्थ्य बीमा अनिवार्य

काठमाडौँ, असोज २५- महँगो बन्दै गएको स्वास्थ्य सेवामा आमनागरिकको पहुँच स्थापित गर्न अब हरेक नागरिक ‘स्वास्थ्य बिमा’ मा आबद्ध हुनुपर्ने भएको छ । स्वास्थ्य बिमा व्यवस्थित गर्ने ऐन संसद्को मंगलबारको बैठकले पारित गरेपछि आमनागरिकको स्वास्थ्य बिमा गराउने बाटो खुलेको हो ।

ऐन लागू भएपछि पहिलो चरणमा राष्ट्रसेवक कर्मचारी, वैदेशिक रोजगारमा जानेको परिवार र औपचारिक क्षेत्रमा कार्यरत व्यक्ति अनिवार्य रूपमा बिमामा आबद्ध हुनुपर्नेछ । ऐनले विपन्न र विशेष वर्गको प्रिमियम राज्यले व्यहोर्ने गरी चरणबद्ध रूपमा सम्पूर्ण नेपालीको स्वास्थ्य बिमा गर्ने ग्यारेन्टी गरेको छ । विपन्नको प्रिमियम सरकारले व्यहोर्नेछ ।

 

विधेयक तत्कालीन स्वास्थ्यमन्त्री गगन थापाले दर्ता गराएका थिए । उनले पछि संसदीय समितिमा संशोधन हालेर छुटेका विषय थप्न लगाएका थिए । गत साउन ३२ मा बसेको संसद् बैठकले समितिमा पठाएको विधेयक महिला बालबालिका तथा सामाजिक समितिले असोज २४ मा संसद्मा फिर्ता पठाएको थियो । बिमा ऐनसँगै स्वास्थ्य सेवाको पहुँचमा ठूलो फड्को मार्ने विश्वास अधिकारीहरूले लिएका छन् ।

पूर्वमन्त्री थापाले यसअघि बिमाको छिटफुट कार्यक्रम सञ्चालन भइरहे पनि कानुनी आधार नहुँदा र राष्ट्रव्यापी नबन्दा प्रभावकारी नभएको बताए । आजको नागरिक दैनिकमा खबर छ ।

Leave a Reply