समूह बिजेता बन्दै पोर्चुगल विश्वकपमा

काठमाडौँ, असोज २५- युरोकप विजेता पोर्चुगलले समूह ‘बी’ को विजेता बन्दै अर्को वर्ष रसियामा आयोजना हुने विश्वकप फुटबलमा स्थान बनाएको छ ।
युरोपियन छनोटको समूह ‘बी’ छनोटको अन्तिम खेलमा शीर्ष स्थानमा रहेको स्वीट्जरल्याण्डलाई २–० ले पराजित गर्दै पोर्चुगलले समूह विजेताको रुपमा विश्वकपमा स्थान पक्का गरेको हो । पोर्चुगलसँग पराजित भएपनि स्वीट्जरल्याण्डले प्लेअफमा स्थान बनाएको छ ।

घरेलु मैदान स्टेडियो डा लुजमा भएको खेलमा पोर्चुगलले ४१ औं मिनेटमा उपहार गोलमार्फत अग्रता लिएको थियो । इलेसुले क्रस गरेको बललाई क्लियर गर्न खोज्दा स्वीट्जरल्याण्डका जोहान डिजोरोउले आफ्नै पोष्टमा गोल गर्न पुगेका थिए । ५७ औं मिनेटमा आन्द्रे सिल्भाले गोल गर्दै पोर्चुगलको अग्रता २–० मा पुर्याए । बर्नाडो सिल्भाको थ्रु बलललाई सिल्भाले गोलमा परिणत गरेका थिए । त्यसपछि दुवै टोलीले गोल गर्ने प्रयास गरेपनि गोल गर्न नसक्दा पोर्चुगलले २–० को जित निकाल्यो ।

पोर्चुगलले १० खेलबाट ९ खेलमा जित र १ खेलमा हार सहित २७ अंक जोड्न सफल भयो । स्वीट्जरल्याण्डको समान २७ अंक भएपनि गोल अन्तरमा पछि पर्दै दोस्रो स्थानमा रहदै प्लेअफमा खुम्चन पुग्यो । यसै समूहको अर्को खेलमा हंगेरीले फारोई आइल्याण्डलाई १–० ले तथा लातभियाले एन्डोरालाई ४–० ले पराजित गर्यो ।

Leave a Reply