सिंगापुरे लाहुरेको नेपालका लागि दौडिने धोको

२५ असोज, काठमाडौं । संखुवासभाका मादी मूलखर्क चिरैतेका निमेश गुरुङ पेशाले सिंगापुरे लाहुरे हुन् । उनको सपना छ, अन्तर्राष्ट्रिय दौडमा नेपालको प्रतिनिधित्व गर्ने । तर, उनले असम्भव सपना देखेका पनि होइनन्, किनकी उनी प्रशिक्षक विनाका च्याम्पियन हुन् ।

 

कसरी बने धावक ?

फौजी बन्ने सपना पुरा गर्न उनले २०६२ सालमा १२ कक्षाको परीक्षा सकाएर नेपाल प्रहरी, नेपाली सेना, एपिएफ हुँदै बि्रटिस आर्मीसम्म प्रयास गरे । तर, सिंगापुर प्रहरीमा भर्ना हुन पुगे । फैजमा भर्ना भएपछि उनी केही मोटाए ।

साथीहरुले मोटे भन्न थालेपछि उनले सोच्न थाले आखिर तौल घट्ने कसरी ? ‘पल्टनमा नियमित दौडन पनि मलाई समस्या हुन थाल्यो, साथीहरुले पनि मोटे भनेर जिस्क्याएपछि ‘पिन्च’ हुँदो रहेछ’ निमेशले भने, ‘त्यही इखले दौडिन थालेँ ।’

७/८ महिनामै १५ केजीसम्म तौल घटाए । त्यसपछि उनलाई लाग्यो म पनि धावक बन्नसक्छु ।

त्यसो त गोरखा रेजिमेन्टका अन्य सदस्यहरुले दौड प्रतियोगिता जितेर मेडल लिएर आउँदा उनलाई पनि धावक बन्ने सुसुप्त इच्छा नजागेको होइन ।

तर, फौजमा भर्ना हुन बाहेक अरु बेला नदौडिएका उनका लागि यो सहज थिएन । २०६८ सालको कुरा सम्झँदै निमेशले भने, ‘सिंगापुर विश्वमै धेरै दौड आयोजना भइरहने शहरमध्येमा पर्छ । पुरस्कार र फिटनेश दुबै हुने भएकाले खेल्ने इच्छा थियो ।’

सिंगापुर पुलिसमा भर्ना भएको ३ वर्षपछि उनले आफूलाई एथ्लेटिक्समा उतारे र अहिले सिंगापुर पुलिसका ५ र १० किलोमिटरका सबैभन्दा उत्कृष्ट धावक हुन् ।

प्रशिक्षक बिनाका च्याम्पियन

उनले सिंगापुरमा आयोजना हुने प्रायः सबै दौडमा भाग मात्र लिएका छैनन् । आफ्नो बिधामा उपाधि जितेका छन् ।

तर, अझैसम्म उनको प्रशिक्षक छैनन् । ‘प्रशिक्षक नहुँदा खासै समस्या छैन’ निमेशले भने, ‘फिटनेसका लागि फौजमा सिकेका सीप र ज्ञानहरु प्रयोग गर्छु, टेक्निकल सीपहरु भने बिभिन्न दौड हेरेर तथा यूट्युबबाट हेरेर सिकेको हुँ ।’

प्रशिक्षक अनुबन्ध गरेर नियमित प्रशिक्षक गर्न पनि गाह्रो छ किनकी फौजमा फुलटाइम खेलाडी होइनन् । पुलिसको ड्युटी पूरा गरेर बाँकी समयमा हो उनले प्रशिक्षण गर्ने ।

३०० भन्दा बढी मेडल

नेपाली पासपोर्टधारी निमेश गुरुङ सिंगापुरमा मध्यम दूरीका बादशाह नै भन्दा फरक पर्दैन । किनभने सिंगापुरमा अयाोजना भएका हरेक दौडको ५ हजार र १० हजार मिटर विधाको उपाधि उनले सन् २०१३ यता जित्दै आएका छन् ।

सन् २०१३ मा सिंगापुरको राष्ट्रिय दौडमा उनले ५ र १० हजार मिटरमा १७ वर्ष पुरानो कीर्तिमान तोडेर सनसनी मच्चाएका थिए ।

 

सन् २०१४ मा मलेसियामा भएको ‘माउन्ट कीनाबालु इन्टरनेसनल दौड’मा उपाविजेता बनेका उनी केन्याली धावकसँग पराजित भएका थिए । त्यस दौडमा ६१ मुलुकका धावकहरुले सहभागिता जनाएका थिए ।

केहि समयअघि अमेरिकामा भएको ‘बर्ल्ड पुलिस फायर गेम्स’मा केन्या, रुस, चीन, भारत लगायतका मुलुकका धावकलाई पछि पार्दै १० हजार मिटर र हाफ म्याराथनमा स्वर्ण जिते ।

९१ मुलुकका प्रहरी धावकको सहभागिता रहेको यस प्रतियोगितामा उनी मध्यम दूरीमा अब्बल रहे । यसले उनको सिंगापुर पुलिसमा कद उँचो भएको छ ।

शनिबार सिंगापुरका राष्ट्रिय धावकहरु सम्मिलिन ‘सिंगापुर एयरलाइन्स’ १० हजार मिटर दौडमा स्वर्ण जितेर ३० वर्षीय गुरुङले आफ्नो उच्च लय कायमै राखेका छन् ।

सिंगापुरस्थित उनको निवासमा ३०० बढी मेडल सजिएका छन्, जसमा आधा भन्दा बढी त स्वर्ण नै छ ।

नेपाली टिमबाट खेल्ने धोको

सिंगापुरबाट दौड सिकेर अन्तर्राष्ट्रिय स्तरमै आफूलाई अब्बल बनाएका निमेशको अबको एकमात्र धोको छ, नेपालको झण्डा लिएर अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने ।

‘मैले मेरो देशको लागि योगदान दिने अवसर पाएको छैन’ निमेशले भने, ‘भविश्यमा नेपाली टिमबाट खेल्ने धोको पालेको छु । आजसम्म मैले विदेशमा गरेको दुःख र बटुलेको अनुभबलाई आफ्नै मुलुकमा प्रयोग गर्न चाहन्छु ।’

करिव साढे २ बर्षअघि नेपाली एथ्लेटिक्समा भविश्य खोज्न उनी नेपाल आएका पनि थिए । तर, लगत्तै भूकम्प गयो । भूकम्पले अन्य क्षेत्रजस्तै खेलक्षेत्रमा पनि नराम्रो प्रभावित भयो । ६ महिना बसेर उनी पुनः सिंगापुर फर्किए ।

Leave a Reply