कांग्रेससँग एकीकरण गर्दै फोरम लोकतान्त्रिक

काठमाडौँ, असोज २७- फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले कांग्रेससँग पार्टी एकीकरण गर्न पार्टीभित्र छलफल थालेका छन् । फोरम लोकतान्त्रिकका अधिकांश केन्द्रीय नेताहरूले चुनावअघि नै कांग्रेससँग एकीकरण गर्न अध्यक्ष गच्छदारलाई सल्लाह दिएका छन् ।

सोहीअनुसार गच्छदारले कांग्रेससँग पार्टी एकीकरण गर्ने कि चुनावी तालमेल गर्ने भन्ने दुई विकल्पमा मंगलबार र बुधबार पार्टीका नेताहरू आन्तरिक छलफल गरेका हुन् । यसैगरी उनले कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि वार्ता गरेका छन् । यसबारे गच्छदारले बुधबार देउवासँग टेलिफोनमा कुरा गरेका थिए भने मंगलबार प्रधानमन्त्री निवासमै गएर देउवासँग छलफल गरेका थिए ।

फोरम लोकतान्त्रिकका प्रमुख सचेतक योगेन्द्र चौधरीले चुनावअघि कांग्रेससँग एकीकरण गर्न आफूले अध्यक्षलाई सल्लाह दिएको बताए । ‘अध्यक्षज्यूले कांग्रेससँग पार्टी एकीकरण गर्ने कि चुनावी गठबन्धन गर्ने भन्नेबारे हामीसँग सल्लाह माग्नुभएको थियो,’

चौधरीका अनुसार गच्छदारले देउवासँग पार्टी उपसभापति मागेका छन् । यसमा देउवा तयार रहेको कांग्रेस स्रोतको भनाइ छ ।
स्रोतका अनुसार गच्छदारलाई पार्टीमा ल्याउन सभापति देउवा र नेता रामचन्द्र पौडेल सक्रिय छन् ।

गच्छदारले देउवा र पौडेलसँग मात्र कुराकानी गरेका छन् । देउवाले चुनावअघि नै पार्टी एकीकरण गर्न गच्छदारलाई प्रस्ताव राखेका छन् । कांग्रेसबाटै राजनीति सुरु गरेका गच्छदारलाई कांग्रेसमा फर्कन त्यति गाहो छैन ।

Leave a Reply