बालिकालाई मोसो दलेर यातना दिएको प्रकरण : दोषीलाई उन्मुक्ति नदिने अगुवाहरुको प्रतिबद्धता

मोरङ ।  बेलबारी नगरपालिका–२ देबी झोडामा बालिकालाई मोसो दलेर अमानवीय यातना दिएको घटनापछि अधिकारकर्मीहरुले समुदायमा गरेर अन्र्तक्रिया गरेका छन ।

पीडित बालिका र परिवारलाई त्रासमुक्त्त गराई समाजिक द्वन्द्व न्युनिकरण गर्न बिहिबार घटना स्थल पुगेर पिडित बालिका पिडित र पीडकका आफन्त, स्थानीय दलित अधिकारकर्मी र समाजका अगुवाहरुसँग अधिकारकर्मीहरुले अन्तरक्रिया गरेका हुन् ।

महिला अधिकारको क्षेत्रमा काम गर्ने ओरेक नेपाल, बालबालिकाको क्षेत्रमा काम गर्ने सिविन नेपाल र मानव अधिकारको क्षेत्रमा काम गर्ने ईन्सेकका प्रतिनिधिहरुले बिहिबार घटना स्थलको पछिल्लो अवस्था अवलोकन गरि द्वन्द्व न्युनिकरण गर्न अन्तरक्रिया गर्दै पिडित बालिका र उनको परिवारलाई मनोविमर्श पनि प्रदान गरेका थिए ।

ओरेक  बिराटनगरकी प्रमुख मौसम राईले समाजिक एकता बिग्रन नदिने नाममा घटना मिलापत्र गराएर पिडितलाई न्यायबाट बञ्चित गर्न कोही पनि लागि पर्न नहुने बताइन् । उनले पिडित बालिका र उनको परिवारलाई ओरेक नेपालले आवश्यक उपचार र मनोबिर्मश प्रदान गर्न लागेको जानकारी गराइन् ।

अन्तरक्रियामा घटना अमावीय भएकोले कसैले पनि मिलापत्र गराउन दवाव नदिने र घटनाको बिषयमा थप झगडा गरेर सामाजिक द्वन्द्व नवढाउने पिडित, पिडक र समाजका अगुवाहरुले प्रतिबद्धता गरेका छन् ।

शिक्षक डिल्लीराम ढकालले घटना अमानवीय भएकोले दोषीले कानुन अनुसार सजाय पाउनुपर्ने र घटनाको बिषयमा कसैले पनि समाजमा नकारात्मक टिकाटिप्पणी गर्न नहुने बताए ।

सिँहदेबी  युवा क्लवका अध्यक्ष केशव खडकाले गल्ति गर्नेहरुलाई कानुन अनुसार सजाय भैरहेकोले अब समाजमा घटनाबाट सबैले पाठ सिकेर समाजिक एकता बढाउन आग्रह गरे ।

बेलवारी नगरपालिका २ नम्बर वडा सदस्य खिना बस्नेतले बालिकालाई न्याय दिलाउन र समाजिक एकता बिग्रन नदिन आफू सधै सजग रहेको बताइन् ।

दलित अधिकारकर्मीहरु गीता शिवा, माधव शिवा, काजिकमान बिश्वकर्मा लगायतले दलित बालिकालाई मोसो दलेर यातना दिने कार्य अमानवीय भएकोले दोषीले कानुन अनुसार सजाय पाउनु पर्ने माग गरे ।

२०७४ असोज १९ गते दिउँसो पैसा चोरेको आरोपमा १४ बर्षिया दलित समुदायकी बालिकालाई टोलबासीले मोसो दलेर जुत्ताको माला लगाई सिस्नोले डामेर कुटपिट गर्दै बजार घुमाएर अमानबिय यातना दिएका थिए ।

प्रहरीले घटनाका आरोपीहरु ४५ बर्षीय दुर्गा चौधरी, ५० बर्षीय कुलदीप कुँवर, २२ वर्षीया अनिता दनुवार, २१ वर्षीय गोबिन्द थापा मगर, ४४ वर्षीया हर्कमाया तामाङ, ५२ बर्षीया  मनकुमारी तामाङ र २४ बर्षीय बीरजङ परियार र अनिता दनुवारलाई पक्राउ गरेर सार्बजनिक अपराधमा मुद्दा दर्ता गराएको छ ।

बेलवारीमा यसरी दोहोरिएको थियो मोसो काण्ड 

मोरंगको बेलबारीको करमडाँडामा २०७० साउन ७ गते  दलित महिला माया सार्कीलाई स्थानियले जुत्ता चप्पलको माला लगाउँदै मोसो दलेर कुटपिट गरि अमानवीय यातना दिएका थिए । उक्त्त घटनाले राष्ट्रिय अन्तर्राष्ट्रिय समुदायकै ध्यान आर्कषित गरेको थियो ।

१२ जना आरोपीहरुले जिल्ला प्रशासन र अदालतबाट सजया भोग्नुपरेको थियो । उक्त्त घटनाले कहलिएको बेलबारीमा चार बर्षपछि २०७४ असोज १९ गते दिउँसो फेरि उस्तै प्रकारको घटना घटेको हो ।

फरक कतिमात्र हो भने २०७० को घटनामा पिडित हुने महिला बालिग थिइन तर २०७४ मा पिडित हुने बालिका हुन् । माया सार्कीलाई कथित उपल्लो जातिका पहुँचबालाहरुले यातना दिएका थिए तर बालिकालाई सकुम्बासी बस्तीका दलित र जनजातिहरुले मिलेर यातना दिएका छन् । मायालाई जुत्ताको माला लगाएर मोसो मात्र दलिएको थियो तर दलित बालिकालाई सिस्नोपानीले डामेर हातबाँधी मोसो दलेर कुटदै गाउँ समेत घुमाइएको छ । समान चाँही के भने त्यो बेला र यो बेला पिडित हुने दुवैजना दलित समुदायका हुन् ।

यसरी दिइएको थियो यातना

बेलबारी नगरपालिका २ देबी झोडाकी अनिता दनुवारको घर भित्रको खाटबाट सात सय रुपैया एक्कासी गायव भएको हल्ला चल्यो । गाउँमा खैलाबैला मच्चियो । खोज्दै जाँदा सात सय रुपैया छिमेकी १४ बर्षीया सम्झना परियारसँग फेला परयो । अनिताले सम्झनालाई चोरको अरोप लगाइन् । सम्झनाले आफुले सँगै लुँडो खेल्दा जितेको पैसा नदिएकोले लिएको बताउँदै चोर नभएको प्रतिबाद गरिन् ।

गाउँमा खैलाबैला मच्चियो । सबैले अनितालाई साथ दिए । सम्झनाको कुरा कसैले बिश्वास गरेनन । यत्तिकैमा छिमेकीहरु मनकुमारी तामाङ, हर्कमाया तामांङ, गोबिन्द थापामगर, दुर्गा चौधरी र कुलदीप कुँवर र बीरजङ्ग परियार र अनिता दनुवार लगायत मिलेर बालिका सम्झनालाई चोर भन्दै कपाल भुत्ल्याउँदै कुटपिट गरे । खोजखान गरेर जुत्ताचप्पलको माला लगाइदिए  । अनुहारमा व्याट्री कुटर बनाएको मोसो दले । जिउमा म चोर हुँ भन्ने झुण्डाइदिए । अनि सिस्नुले कुटदै गाउँ घुमाए । कसैकसैले यस्तो गर्न हुन्न भन्न खोजे तर बिरोध गर्नेहरुलाई पनि मोसो दल्ने उनीहरुले चेतावनी दिए । कोही चुँ समेत बोलेन ।  धन्न इप्रका बेलबारीबाट गस्तिमा गएको टोलीले बालिकालाई अमानवीय यातना दिएको प्रहरीले देख्यो अनि उद्धार गरयो र बालिकाको ज्यान जोगियो ।

१९ असोज दिउँसोको घटना हो यो । कक्षा ६ मा पढने बालिका सम्झनालाई छिमेकीहरु मिलेर चोरको आरोपमा यसरी चरम यातना दिएका थिए । प्रहरी आफैले नदेखेको भए यस्तो अमानवीय घटना कसैले सार्बजनिक गर्ने थिएनन ।

प्रहरीले तत्काल दुर्गा चौधरी र कुलदीप कुँवरलाई पक्राउ गरयो । बालिकाको शरिरमा चोट नदेखिएको भन्दै उपचारमा लगेन । तर सिस्नुको यातनाले भत्भत्ती पोलेको र कुटाईबाट शरिरभरि निलडाम बोकेकी सम्झना रातभरि हनहनी ज्वरोले निदाउन सकिनन् । भोलिपल्ट छोरीको उपचारकालागि सहयोग खोज्दै आमा संगीता बेलकारीस्थित इप्रका आइन् ।

स्थानिय पत्रकार नरेन्द्र बस्नेत लगायतले उनको प्रारम्भीक उपचार स्थानिय मेडिकल हलमा गराए । तर, शरिरभरि चोट पाइएको र घटना प्रहरीमा दर्ता भैसकेकोले ईप्रका बेलबारीले सम्पुर्ण घाउजाँच गराउन बालिकालाई धरान स्थित बिपी प्रतिष्ठान पठायो ।

शुक्रबार प्रतिष्ठान बन्द भएकोले आइतबार बालिका पुनः पूर्ण स्वास्थ्य जाँच गराएर  बालिका आमा र भाइसँगै प्रहरीको सहयोगमा घर फर्किएकी छन । प्रहरीले आमा, छिमेकी र बालिकाको बयानको आधारमा बिहिबार, शुक्रबार र शनिवार गरि बालिकालाई यातना दिने सात जनालाई पक्राउ गरयो ।

पक्राउ पर्नेहरुहरुलाई मानव अधिकारविरोधी कार्य गरेको आरोपमा सार्वजनिक अपराध अन्र्तगत सबैलाई प्रहरीले मुद्दा दर्ता गराएको छ ।

कानुन थाहा नभएको भन्दै छाडिदिने रुवाबासी 

प्रहरीका अनुसार आरोपीहरुले चाँही बालिकाले घरभित्र छिरेर सात सय रुपैया चोरेकोले सचेत गराउन सजाय स्वरुप यातना दिएको प्रहरीलाई बताएका छन् । यातना दिन हुन्न भन्ने आफुहरुलाई थाहा नभएको भन्दै प्रहरी समक्ष गल्ती नदोहोरयाउने शर्तमा छाडिदिन अनुनय बिनय गरिरहेका छन् । तर, प्रहरीले भने कानुन हातमा लिएर मानव अधिकार बिरोधी कार्य गरेकोले सबैलाई सार्वजनिक अपराध अन्र्तगत मुद्दा चलाएको बताएको छ ।

मोरंङका एसपी अरुण बिसीले कसैले सानोभन्दा सानो अपराध गरेपनि त्यसबारे कानुनी निकायलाई खवर गरेर समाधान खोजिनुपर्नेमा आफैले अदालत खडा गरेर अमानबिय सजाय दिनु झन् दण्डनिय भएकोले सबैलाई कानुन अनुसार कार्बाही हुनुपर्ने बताए । एसपी बिसीले  भने — ‘अनुसन्धान भैरहेको छ अमानवीय यातना दिने कार्यमा संलग्न कसैले पनि उन्मुक्त्ति पाउदैनन  सबैलाई कसुर अनुसारको सजाय हुनेछ  ।,’

पीडित बालिकाका बाबु हेमकुमार परियार भारतको सिलगडीमा मजदुरी गर्छन् । उनी ३ बर्षे भाई र आमा संगीतासँगै सुकुम्बासी बस्तीमा बस्दै आएकी छन् । आमा घर निर्माण गर्ने स्थानमा मजदुरी गर्छिन् ।

Leave a Reply