आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप : हङकङले नेपाललाई दियो १९५ रनको चुनौती

काठमाडौं : आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा हङकङले नेपाल नेपाललाई १९५ रनको चुनौती दिएको छ ।शुक्रबार बिहान घरेलु मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले ५० ओभरमा सबै विकेट गुमाउँदै १९४ रन बनाएको हो ।

हङकङका लागि जेके एटकिन्सनले सर्वाधिक ७६ रनको योगदान दिए भने अफजल ३८, बाबर हायात २९ रन, एहसान नवाज १६, निजाकत खान १२, वकास खान १४ रन बनाए ।

नेपालका लागि सन्दिप लामिछानेले १० ओभरमा ४८ रन खर्चँदै तीन विकेट लिए । करण केसी तथा बसन्त रेग्मीले दुई–दुई विकेट तथा सुशन भारीले एक विकेट लिए ।

आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको शीर्ष चारमा परेर सन् २०१९ को विश्वकपमा छनोटको संभावना कायम राख्न नेपाललाई हङकङसँगका दुवै खेल जित्नु पर्ने दबाब छ ।

नेपालले हङकङसँगको अर्को खेल आइतबार खेल्ने छ । अहिलेसम्मका १० खेलबाट ८ अंक बटुलेको नेपाल अंक तालिकाको छैटौं स्थानमा छ ।

हङकङको भने ११ अंक छ । नेपालका अनुभवी मानिएका शरद भेषावकर मैदानमा छैनन् । उनको ठाउँमा नरेश बुढाऐर सहभागी भएका छन् ।

Leave a Reply