नेपालसामू १९५ रनको लक्ष्य पेश

काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत पाँचौं चरणको खेलमा मिशन रोड ग्राउण्ड मोङ ककमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले नेपालसामू १९५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

चौथो ओभरको चौथो बलमा करण केसीको बलमा हङकङका ओपनर अंशुमन रथ खाता नखोली पेविलियन फर्किएसँगै उसको विकेट पतन सुरु भएको थियो ।

हङकङले ११औं ओभरको पाचौं बलमा ३५ रन बनाउँदा दोस्रो विकेट गुमाएको हङकङका कप्तान बाबर हायत २९ रनको व्यक्तिगत स्कोरमा दिपेन्द्र सिंह ऐरीको हातबाट रनआउटको शिकार भएका थिए ।

हङकङको तेस्रो विकेट स्पिनर सन्दिप लामिछानेले लिए । १७।४ ओभरमा हङकङले ७० रन बनाउँदा अनुभवी ब्याट्सम्यान निजाकात खानलाई १२ रनको व्यक्तिगत स्कोरमा सन्दिपले विकेटकिपर बिनोद भण्डारीको हातबाट स्टम्पिङ गराए ।

मध्यम ओभरमा दुई स्पिनरहरु बसन्त रेग्मी र सन्दिप लामिछानेको स्पेल निक्कै प्रभावकारी देखियो । हङकङले पाँच ओभरको बीचमा चार विकेट गुमाउँदा मात्र ११ रन टिमको खातामा जोडियो ।

१४४ रन हुँदा आठौं विकेट गुमाएको हङकङका लागि तान्वीर अफजल र इशान नावाजले नवौं विकेटका लागि ३८ रनको ठोष साझेदारी गरे । ४७।४ ओभरमा करण केसीको बलमा सागर पुनबाट ब्याच आउट हुनुअघि अफजलले ३ चौका र ३ छक्काको सहयोगमा ३८ रन बनाए ।

नेपालका लागि सन्दिप लामिछानेले ३, करण केसी र बसन्त रेग्मीले २र२ तथा सुशान भारीले १ विकेट लिए ।

Leave a Reply