माथिल्लो तामाकोशी जलविद्युत् आयोजना : साढे ९२% निर्माण सम्पन्न

दोलखा, कार्तिक २७- दोलखाको लामाबगर गाविसमा निर्माणाधीन ४ सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको निर्माण साढे ९२ प्रतिशत सम्पन्न भएको छ । २०६८ बाट निर्माण शुरू भएको आयोजना २०७४ असारसम्म निर्माण सम्पन्न हुनुपर्नेमा भूकम्प र भारतीय नाकाबन्दीले गर्दा ढिला भएको हो ।

विभिन्न ४ लट गरी निर्माण शुरू भएको आयोजनाको साढे ९२ प्रतिशत लक्ष्य हासिल गर्दा रू. ३५ अर्ब ८३ करोड खर्च भएको आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले जानकारी दिए । उनका अनुसार आयोजनामा लट–१ को मुख्य ठेकेदार चिनियाँ कम्पनी सिनो हाइड्रोले सिभिल निर्माण करीब ९५ प्रतिशत सम्पन्न गरेको हो ।

आयोजनाको सबैभन्दा कठिनमध्ये ३३ मिटर सुरुङ एक हप्ताभित्र छेडिने भएको छ । सहायक सुरुङसहित आयोजनाको सुरुङको कुल लम्बाइ १८ दशमलव २ किलोमिटर हो । खनिएको सुरुङको सफाइ, प्लाष्टरलगायतका काम बाँकी छ ।

लट–२ को इलेक्ट्रोमेकानिकलले पनि बाँधसम्बन्धी गेट राख्ने कार्यहरू करीब ८७ प्रतिशत पूरा भएको छ भने लट–३ मा पर्ने हाइड्रोमेकानिकलअन्तर्गत टर्वाइनका पार्ट्सहरू आयोजनास्थल पुगी ‘डेभलपिङ’ कार्य भइरहेको आयोजनाले उल्लेख गरेको छ ।

आयोजनाको लट–४ अन्तर्गत पर्ने विद्युत् प्रसारणका लागि २२०/१३२ केभीको प्रसारण लाइन भारतीय कम्पनी केईसी इण्टरनेशनल लिमिटेडले शुरू गरेको निर्माण करीब ७५ प्रतिशत सम्पन्न भएको न्यौपानेले जानकारी दिए । केईसीले गोङ्गरखोलादेखि खिम्तीसम्मको ४७ किलोमिटर लाइन प्रसारण गर्ने १ सय २७ ओटा टावरमार्फत ९६ ओटा टावर निर्माण सम्पन्न भई ८ किलोमिटर तार टाँग्ने कार्य पनि सम्पन्न गरिसकेको उनले जानकारी दिए । आयोजनाबाट २०७५ पुसमा विद्युत् उत्पादन गर्ने लक्ष्य छ ।

Leave a Reply