राजन भट्टराई कि गगन थापा !

काठमाडौँ, कार्तिक २७-  दुई युवाको उम्मेदवारीकै कारण यसपटक काठमाडौं क्षेत्र ४ मा चुनावी प्रतिस्पर्धा रोचक हुने देखिन्छ । लोकतान्त्रिक गठबन्धनबाट कांग्रेसका गगन थापा र वाम गठबन्धनबाट एमालेका राजन भट्टराई चुनावी मैदानमा छन् । आजको कान्तिपुर दैनिकमा खबर छ–दुवै उम्मेदवार घरदैलो अभियानमा व्यस्त रहँदा बाजी कसको पोल्टामा पर्ने हो ? अडकलबाजी भइरहेको छ ।

‘गगनजी (गगन थापा) र मेरोबीच प्रतिस्पर्धा होइन,’ काठमाडौं ४ नम्बर क्षेत्रको घरदैलो कार्यक्रममा कपनमा भेटिएका एमाले उम्मेदवार भट्टराईले भने, ‘म वाम गठबन्धन र उहाँ लोकतान्त्रिक गठबन्धबाट उम्मेदवार हुनहुन्छ, यो व्यक्तिभन्दा पार्टीको प्रतिस्पर्धा हो ।’ चुनावी प्रचारप्रसारमा व्यस्त रहेका भट्टराई निकै थकित देखिन्थे ।

अर्का बलिया प्रतिस्पर्धी थापाको कार्यक्रम पनि शनिबार कपनमै थियो । उनी पनि घरदैलोमै व्यस्त देखिन्थे । प्रत्येक व्यक्तिको घरभित्रै पसेर थापाले वृद्धवृद्धालाई मत हाल्न आग्रह गर्दै थिए । वृद्धवृद्धाहरू पनि उनलाई विजयका लागि अग्रीम शुभकामनासाथ आर्शीवाद दिइरहेका थिए ।

विद्यार्थी राजनीतिबाट आएका थापा र भट्टराई दुवै प्रखर वक्ता मानिन्छन् । स्वास्थ्यमन्त्री भइसकेका थापा दोस्रो संविधानसभा चुनावमा यही क्षेत्रबाटै विजयी भइसकेका हुन् । उनले एमालेका निर्मल कुइँकेललाई १३ हजार मतान्तरले पराजित गरेका थिए ।

‘मतदाताले पहिलो संविधानसभा चुनावमा स्नेह र विश्वास गरी मलाई जिताउनुभएको हो,’ थापाले भने, ‘मैले उहाँहरू (मतदाता) को सम्मान गरेको छु, उहाँको स्नेह र विश्वासमा कहिल्यै पनि चोट पुर्‍याउने छैन, यसपटक पनि मलाई जिताउनुहुन्छ भन्नेमा ढुक्क छु ।’

यो क्षेत्रको चुनाव प्रचारको विशेषता के देखिएको छ भने दुवै उम्मेदवारले एक–अर्कालाई आरोप प्रत्यारोप लगाएका छैनन् । सञ्चारकर्मीले सोधेका प्रश्नमा पनि उनीहरू कूटनीतिक तरिकाले जवाफ दिन्छन् । अन्तर्राष्ट्रिय सम्बन्धमा विद्यावारिधि प्राप्त भट्टराई भन्छन्, ‘यहाँ खानेपानी, सडक, कलेज केही पनि विकास नगरेको व्यापक जनगुनासो छ । हामीलाई गफ गर्नेभन्दा काम गर्ने नेता चाहिएको भन्छन्, त्यसकारण म जित्छु ।’ यसअघिका उम्मेदवारले यस क्षेत्रको विकास नगरेको पटक–पटक आरोप लगाए पनि भट्टराईले थापाको नामचाहिँ उच्चारण गरेनन् ।

माधव नेपाल सरकारमा प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार भएका भट्टराई दोस्रो संविधानसभा चुनावमा समानुपातिकबाट सभासद थिए । नेविसंघको महामन्त्री हुँदा सडकमा गणतन्त्रको नारा घन्काएर चर्चाको शिखरमा पुगेका थापा अघिल्लो कार्यकालमा संसदीय समिति सभापति र पछि स्वास्थ्यमन्त्री बने ।

स्वास्थ्यमन्त्रीका रूपमा उनले गरेका कामले प्रशंसा पाएका थिए । भट्टराईको विकास नभएको भन्ने आरोपको उनी खण्डन गर्छन् । ‘आरोप त जे लगाए पनि भयो, विकास गरे–नगरेको जनता जानकार छन्,’ उनी भन्छन्, ‘४ वर्षमा मैले यस क्षेत्रका लागि धेरै काम गरेको छु्, महानगरका ४ वटा वडा मेरो क्षेत्रमा पर्छन्, त्यस क्षेत्रको सडक निर्माण, पुरातात्त्विक वस्तुको संरक्षण र पुराना पोखरी निर्माणमा उल्लेखनीय काम गरेको छु,’ उनले भने, ‘कपन, बूढानीलकण्ठलगायत चाबहिलका भित्री गल्लीका सडक पनि निर्माण भएका छन्, यस क्षेत्रका मतदाताको स्नेहले मैले जितेको हुँ, त्यसकारण अब पनि यस क्षेत्रको विकासमा रातदिन नभनी लाग्नेछु ।’ कांग्रेस मात्र नभई वाम गठबन्धबाटै आफ्नो व्यक्तित्वका कारण मत आउने उनले दाबी गरे ।

आफू गफभन्दा काममा विश्वास गर्ने भएकाले चुनावअघि नै ५ वर्षभित्र गर्ने विकासको खाका सार्वजनिक गरिसकेको उनले बताए । ‘यस क्षेत्रको विकासको स्पष्ट खाका बनाएर अघि बढेको छु,’ थापाले भने, ‘म जहिले पनि काम गरेर स्थापित भएको व्यक्ति हुँ ।’

Leave a Reply