विप्लवको ‘हिट लिस्ट’मा प्रचण्ड र महरा

काठमाडौँ, कार्तिक २७-  विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले धमाधम उम्मेदवारमाथि निशाना दाग्न थालेपछि त्रास उत्पन्न भएको छ । विशेष गरी प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवारहरु आक्रमणमा परिने भयमा छन्, यतिबेला । तर, विप्लवले सबै उम्मेदवारलाई होइन, केही सीमित उम्मेदवारलाई छानी–छानी आक्रमण गर्न कार्यकर्तालाई सर्कुलर नै जारी गरेर पठाएको दाबी स्रोतको छ ।

विगतमा कम्युनिस्टहरुको निसानामा कांग्रेसलगायतका दलहरु पर्दै आइरहेका भए पनि यसपटक विप्लवले वाम गठबन्धनका उम्मेदवारलाई मात्रै आक्रमण गर्न कार्यकर्तालाई उर्दी जारी गरेको छ । वाम गठबन्धनका उम्मेदवारहरुमा पनि माओवादीकालाई मात्रै आक्रमण गर्नू भन्ने फरमान विप्लवले कार्यकर्तालाई जारी गरेको बताइन्छ । त्यसकै असरस्वरु रुकुममा जनार्दन र रोल्पामा वर्षमान पुनमाथि आक्रमण गरिएको दाबी स्रोतको छ ।

‘माओवादी केन्द्रका उम्मेदवार मात्रै हिट लिस्टमा किन त ?’ भन्ने प्रश्नको जवाफमा विप्लव माओवादीका एक नेताले माओवादी आन्दोलनलाई प्रचण्ड नेतृत्वको पार्टीले अपमान गरेकाले त्यही पार्टीभित्रका नेतालाई कालोसूचीमा राखिएको जानकारी दिए ।

स्रोतका अनुसार, विप्लवको हिट लिस्टमा माओवादीभित्र बदनामी कमाएका नेताहरुको नाम छ । पहिलो चरणमा जनार्दन र वर्षमानलाई आक्रमण प्रयास गरेका विप्लवका कार्यकर्ताले पार्टी नेतृत्वले दिएको निर्देशन पछ्याउँदै गएमा चितवनबाट उम्मेदवार बनेका प्रचण्ड र दाङबाट उम्मेदवार बनेका कृष्णबहादुर महरा आक्रमणको सिकार बन्नु पर्नेछ । स्रोतका अनुसार, चुनावी वातावरण धुमिल पार्न सक्रिय नेकपाले कार्यकर्ताहरुलाई तर्साउनका लागि मात्रै आक्रमण गर्न निर्देशन दिएको स्रोतले बताएको छ । साँघु साप्ताहिकमा खबर छ ।

Leave a Reply