नेपाल पहिलो पटक यू-१९ एसिया कपको सेमिफाइनलमा, भारत समुहचरणबाटै बाहिरियो

एशिया कप क्रिकेट

काठमाडौं । एसीसी यू-१९ युथ एशिया कप क्रिकेटको समूह चरणमा बंगलादेशले भारतलाई ८ विकेटले हराएपछि नेपाल समूह उपबिजेता हुँदै प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

उमेर समूहको एशिया कपमा सबैभन्दा सफल तीन पटकको च्याम्पियन भारत लगातार दुई खेलमा नेपाल र बंगलादेशसँग पराजित भएपछि समूहचरणबाट माथि जान सकेन ।

डकवर्थ लेविस नियम अनुसार ३२ ओभरमा झारिएको खेलमा १९० रनको लक्ष्य पाएको बंगलादेशले २८ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो । बंगलादेशका लागि पिनाक घोषले सर्बाधिक ८१ रनको अविजित पारी खेले ।

यसअघि रोयल सिलांगोर क्लवको मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले ३२ ओभरमा ८ विकेट गुमाएर १८७ रन बनाएको थियो । वर्षाले प्रभावित भएपछि खेल ३२ ओभरमा झारिएको थियो ।

समूह एमा बंगलादेशले शत प्रतिशत जित निकाल्दै समूह बिजेताको रुपमा सेमिफाइनलमा पुग्दा समूहमा २ जित निकालेको नेपाल ४ अंकसहित समूह उपबिजेताको रुपमा सेमिफाइनलमा पुग्यो ।

बंगलादेशसँग २ विकेटले हारेको नेपालले भारतलाई १९ रन र मलेसियालाई ८ विकेटले हरायो । यता भारतले भने पहिलो खेलमा मलेसियालाई २०२ रनले हराए पनि नेपाल र बंगलादेशसँग पराजित भयो ।

यस समूहबाट भारतसँग आयोजक मलेसिया पनि समूह चरणबाटै बाहिरियो ।

Leave a Reply