तरकारीको भाउ व्यापारीको कब्जामा, सरकार बन्यो दर्शक !

काठमाडौँ, कार्तिक २९- किसानले उब्जाउ गरेको तरकारीको भाउ थोक व्यापारीको नियन्त्रणमा पुगेको छ । जसकारण अहिले तरकारीको भाउ अकासिँदा उपभोक्ताले चर्को मूल्य तिर्नुपरेको छ । औसतमा दुई महिना लगाएर तरकारी उत्पादन गर्ने किसान न्यून मूल्यमा बिक्री गर्न बाध्य छन् ।

मंगलबार धादिङको तरकारी संकलन केन्द्र धार्केमा धुनीबेसी नगरपालिका– ५, पुरानो धार्केका कृषक रामभक्त भुजेलले स्थानिय काउली ५० रुपैयाँ प्रतिकिलोमा बिक्री गरे । उनीसँग ५० रुपैयाँ प्रतिकिलोमा काउली खरिद गर्ने व्यवसायीले आधा घण्टापछि उपभोक्तालाई ९० रुपैयाँ प्रतिकिलोमा बिक्री गरे ।
यो खबर आजकोनयाँ पत्रिकामा छ , धार्केस्थित तरकारी संकलन केन्द्रका व्यवसायीले काठमाडौंको कालिमाटी तरकारी बजारमा दिनहुँ तरकारी पठाउँछन् ।

संकलन केन्द्रका व्यापारीले काठमाडौं पठाउने तरकारीको भाउ थाहा पाउँदैनन् । ‘हामीले तरकारी पठाउने हो, भाउ कालिमाटीकै व्यापारीले तोकेर हामीले पाउने भाग पठाइन्छन्’ त्यहाँका एक व्यवसायी भन्छन् ।
थोक व्यापारीले मूल्य तोक्छन्
केही दिनअघि कालिमाटी तरकारी बजारमा मूल्यको अनुगमन गर्न पुगेको आपूर्ती व्यवस्थापन तथा उपभोक्ताहित संरक्षण विभागका कर्मचारीले थोक व्यापारी भेला भई खुद्राका लागि मूल्य तोक्ने गरेको भेटाएको छ ।

सरकारको सामान्य पहल
प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव महेन्द्रमान गुरुङले आइतबार बैठक डाकेर तरकारीको मूल्य आकासिएको बिषयमा छलफल गरेका थिए । उनले मूल्य अस्वभाविक वृद्धि भएकाले नियन्त्रणका लागि अनुगमन गर्न, दैनिक मुल्यसूचीको रिपार्टटिङ दिन, मूल्य निश्चित तहभन्दा माथी जान थालेपछि सजग हुने प्रणाली विकास गर्न निर्देशन दिएको बताए । ‘एक हप्तासम्म हेरौं, त्यसपछि पनि मूल्य घटेन भने छलफल राख्छु’ उनले भने ।

के गर्दैछन् आपूर्ती मन्त्री ?

कात्तिक पहिलो साताबाट आपूर्ती मन्त्री सम्हालेका राप्रपा नेता जयन्त चन्दले अनुगमन, मूल्य नियन्त्रणका बिषयमा खासै चासो दिएका छैनन् । बरु उनले आयल निगममा अनियमितता आरोप लागेका गोपालबहादुर खड्कालाई कारबाही गर्न कस्सिएका आपूर्ती सचिव कृष्णप्रसाद देवकोटालाई सरुवा गरेका छन. ।

 कालिमाटीमा तरकारी कम आएको छैन
मंगलबार बिहान ५ बजे कालिमाटीको थोक बजार पुग्दा त्यहाँ सबै प्रकारका तरकारी उपलब्ध थिए । व्यापारीले आ–आफ्नो स्टलमा करिब एउटै भाउ लगाएर तरकारी बिक्रीका लागि राखेका थिए । विभिन्न बजार तथा पसलमा लगेर तरकारी बिक्री गर्ने उदेश्यले खरिद गर्न पुगेका खुद्रा बिक्रेताले भ्यान र मोटरसाइकलमा मनग्ये तरकारी लगेको दृश्य देखिन्थ्यो ।

यस्तो छ मूल्य श्रृङ्खला
१) किसानले आफ्नो बारीमा औषतमा २ महिना लगाएर तरकारी उत्पादन छन् । तरकारी बजारमा पहुँच बिहिन किसानले स्थानिय संकलन केन्द्रले तोकेको दर भाउमा तरकारी बेच्छन् । जुन भाउले किसानको मेहनत पाउँदैनन् । ‘हरेक दिनजसो आँखै अगाडी आफ्नो उत्पादन आधा नाफा खाएर व्यवसायीले विक्रि गर्छन, हेरेर बस्नुको विकल्प छैन । तरकारीको मुल्य पनि व्यापारीले नै निर्धारण गर्छन् । प्रतिबाद गरौं भने तरकारी विक्री हुँदैन, नबेचौं जिविका चल्दैन’ धादिङस्थित धुनीबेसी नगरपालिका– ५, पुरानो धार्केका कृषक रामभक्त भुजल गुनासो गर्छन् ।

२) स्थानिय संकलन केन्द्रले तरकारी बिक्री हुने सहरी क्षेत्रमा प्रतिकिलो १ देखी ५ रुपैयाँ नाफा लिएर पठाउँछन् । गाउँको संकलन केन्द्रले यसका लागि कुनै लगानी गरेका छैनन् । सडकको पेटी वा चोकको छेऊमा त्रिपाल ओछ्याएर तरकारी राखिएको हुन्छ । बेलुका ट्रक आएर तरकारी सोही ठाउँबाट उठाउँछन् । गाउँका संकलन केन्द्रबाट उपभोक्तालाई तरकारी बिक्री गर्ने थोक व्यापारी होइन, विभिन्न बजारमा तरकारी बिक्री गर्ने व्यवसायीसँग सम्पर्क भएका ठूला थोक व्यापारी कहाँ पुग्छ ।

३) काठमाडौं उपत्यकाको हकमा सबैभन्दा धेरै कालिमाटी बजारमा तरकारी आइपुग्छ । ट्रक र कन्टेनरमा आउने तरकारी ठूला थोक व्यापारीले स्टल लिएर बसेका अन्तिम थोक व्यापारीलाई दिन्छन् । ठूला थोक व्यापारीले पनि स्टल राखेका छन् । दुवै व्यापारीको प्रत्यक्ष भेटघाट हुने भएका कारण नाफाको दर आपसी समझदारीमा तय गर्छन् ।

४) कालिमाटीमा स्टल लिएकार केही थोक बिक्रेताले सोझै संकलन केन्द्रबाट तरकारी आपूर्ती पनि गर्ने गरेका छन्, तर यस्ता थोकको संख्या कम छ । अन्तिम थोक बिक्रेताले खुद्रामा बिक्री गर्ने तरकारीको भाउ निर्धारण गर्न भेला बस्छन् । र, तराईका विभिन्न जिल्लादेखी उपत्यका आसपासका जिल्लादेखी ल्याएको तरकारीको परिमाण र ढुवानी लागतसबै हिसाब गरी प्रचुर नाफा राखेर खुद्राका लागि थोक मूल्य गर्छन् ।

५) उपभोक्तालाई तरकारी उपलब्ध गराउने पसले, ढेलागाढा संचालक, साना तरकारी बजारका व्यवसायीलगायत प्रत्येक दिन बिहान कालिमाटीको थोक बजार पुग्छन् । त्यहाँ आलू, प्याज प्रतिबोरा, गोलभेडा प्रति क्यारेट र अन्य तरकारी ढक (प्रति पाँच किलो) मा बिक्री हुन्छन् । त्यहाँबाट खरिद गर्नेले उपभोक्तालाई आफैले निर्धारण गरेको भाऊमा बिक्री गर्छन् ।

६) खुद्रा पसलेकहाँ पुगेर दिनुहँ बार्गिनिङ गरी तरकारी खरिद गर्नु उपभोक्ताको नियति बनेको छ ।

Leave a Reply