गगन थापालाई लक्षित गरेर पड्काउने २२ जना पक्राउ, बम बिस्फोटबारे यस्तो भन्छ प्रहरी

काठमाडौँ, मंसिर १९- काठमाडौं–४ का लोकतान्त्रिक गठबन्धनका उम्मेदवार तथा कांग्रेस नेता गगन थापालाई लक्षित गर्दै बम पड्काएको आरोपमा २२ जना पक्राउ परेका छन् । प्रहरीले शंकास्पद नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका २२ जनालाई पक्राउ गरेको हो ।

‘हामीले फिल्डमै खटेर शंकास्पद २२ जनालाई पक्राउ गरेका छौं’ काठमाडौं प्रहरी परिसरका एसएसपी रबिन्द्र धानुकले खबरडबलीसँग भने ‘उनीहरुलाई चपली क्षेत्रबाट बम पड्किएलगत्तै पक्राउ गरेका हौं ।’ थापा लक्षित किट्ली बम रहेको तथ्थ खुलेको प्रहरीले जनाएको छ ।

विस्फोटमा घाइते भएका २८ वर्षीय जयराज लामिछाने र ३२ वर्षीय रेणु बरुवालको दुबै खुट्टामा चोट लागेको छ। ४० वर्षीय श्यामकृष्ण श्रेष्ठ र २५ वर्षीय राजकाजी श्रेष्ठको दाहिने खुट्टामा चोट लागेको छ ।

त्यस्तै ३० वर्षीय सुमन खड्काको पनि दाहिने खुट्टामा चोट लागेको छ । ४० वर्षीय ध्रुव खड्काको दाहिने हातमा चोट लागेको छ । ४३ वर्षीय पूर्णबहादुर श्रेष्ठको दाहिने हातमा चोट छ ।
४४ वर्षीय रवीन्द्र कार्कीको निधारमा चोट छ भने ४० वर्षीय कालीलाल श्रेष्ठ र ४० वर्षकै पार्वती श्रेष्ठको अवस्था समान्य छ ।

घाइतेहरुलाई महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । घाइते मध्ये ४ जनाको अवस्था अत्यन्त गम्भीर रहेको र बाँकी सातजनाको अवस्था सामान्य रहेको चिकित्सकले जनाएका छन् । नेता थापा अस्पतालबाट डिस्चार्ज भएका छन् ।

Leave a Reply