सन्दीपको टिम १० विकेटले पराजित, विगब्यासमा सन्दीप पहिलोपटक विकेटविहीन

0
136

२५ माघ, काठमाडौं । बिग ब्यास लिगमा नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेको टिम मेलबर्न स्टार्सको लज्जास्पद हार भएको छ ।

ब्रिसबेन हिटसँगको खेलमा टस हारेपछि ब्याटिङमा आएको मेलबर्नले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ५६ रन बनाएको थियो ।

१ सय ५७ रनको लक्ष्य पछ्याएको ब्रिसबेनले १० ओभरमा विकेट नगुमाई लक्ष्य पूरा गर्‍यो । ब्रिसबेनका लागि म्याक्स ब्रायन्टले ३० बलमा ५ छक्का र ६ चौकासहित ७१ रन साथै बेन कटिङले ३० बलमै ८ छक्का र ४ चौकासहित ८१ रन बनाएका हुन् ।

दुई ओभर बलिङ गरेका सन्दीप लामिछानेले २८ रन खर्चिए । सन्दीपले आफ्नो पहिलो ओभरमा एउटा क्याच सिर्जना गरेपनि फिल्डिङ मिस भएको थियो । पहिलो ओभरमा ८ रन खर्चिएका उनले दोस्रो ओभरमा २० रन खाए ।

अब समूह चरणको अन्तिम खेलमा मेलबर्नले आइतबार सिड्नी सिक्सर्ससँग खेल्नेछ । जसमा जितेमा मेलबर्न सेमिफाइनल चरणमा पुग्ने छ । अहिले पाँचौ स्थानमा रहेको मेलबर्नको १३ खेलमा १२ अंक रहेको छ । चौथोमा रहेको ब्रिसबेनको १४ खेल पूरा भइसक्दा १३ अंक रहेको छ ।

बिग ब्यासमा सुरुका चार खेल खेलेपछि सन्दीप बंगलादेश प्रिमियर लिग र नेपालको युएई सिरिज खेल्न आएका थिए । अस्टे«लियामा आफ्नो पहिलो बसाइमा पारेको प्रभाव उनले यसपटक पार्न सकेनन् । बिग ब्यासको खेलमा उनी पहिलोपटक विकेटविहीन भएका हुन् ।

बंगलादेश आउनुअघि बिग ब्यासको चार खेलमा सन्दीपले ६.८१ को इकोनोमीमा बलिङ गर्दै आठ विकेट लिएका थिए ।

सन्दीपले सुरुमा खेलेका चार खेलमा मेलबर्नको दुई खेलमा हार र दुईमा जित भएको थियो । पहिलो खेलमा सन्दीपले दुई विकेट लिएका बेला र दोस्रो खेलमा तीन विकेट लिएका बेला मेलबर्न पराजित भएको थियो । त्यसपछिका दुई खेलमा उनले तीन विकेटसहित टिमको जितमा सामेल हुन पाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here