सबैका लोकप्रिय नेता भरतमोहन अधिकारी, यस्तो थियो उनको राजनीतिक जीवन

0
88

वि.सं. १९९३ वैशाख २२ गते महोत्तरीको भ्रमणपुरामा रामचन्द्र अधिकारी र पूर्णकुमारी अधिकारीको कान्छो छोराका रुपमा जन्मिएका भरतमोहन अधिकारी नेपाली कम्युनिस्ट आन्दोलनको अगुवादेखि लोकप्रिय सरकारको अर्थमन्त्रीसम्म भएर काम गरे ।

२००८ सालदेखि १६ वर्षको उमेरमै कम्युनिष्ट राजनीतिमा सक्रिय बनेका अधिकारी पूर्व प्रधानमन्त्री स्वर्गीय मनमोहन अधिकारीका सहोदर भाइ हुन् । नेता अधिकारीले विराटनगरको आर्दश माध्यमिक विद्यालयबाट प्रारम्भिक शिक्षा सुरु गरेका थिए । त्यसपछि भारतको इलाहावादबाट प्रविणता प्रमाणपत्र तह उत्तिर्ण गरेका नेता अधिकारीले बनारसको हिन्दु विश्वविद्यालयबाट राजनीति शास्त्र, दर्शन शास्त्रमा स्नातक तथा त्रिभुवन विश्व विद्यालयबाट अर्थ शास्त्रमा एमए र कानुनमा स्नातक गरेका छन् । 

नेता अधिकारीले ल्याएका लोकप्रिय कार्यक्रम
तत्कालिन नेकपा एमालेको ९ महिने शासनकाल अर्थात २०५१ सालमा नेता अधिकारी पहिलो कम्युनिष्ट सरकारको अर्थमन्त्री भए । उनी अर्थमन्त्री भएपछि ‘वृद्धभत्ता’ र ‘नौ स’ जस्ता लोकप्रिय कार्यक्रम ल्याएर नेता अधिकारीले नेपाल कम्युनिष्ट पार्टीलाई नयाँ शिराबाट परिचित गराएका थिए । 

त्यस्तै नेता अधिकारीले आफ्नो गाउँ आफैँ बनाऔँ, राष्ट्रिय विभूतिका नाममा सडक नामकरण, हेटौंडा–काठमाण्डु सुरुङमार्ग, सडकको दुवैतिर वृक्षारोपण, सुत्केरी भत्ता, श्रीमान–श्रीमतीको संयुक्त नाममा जग्गाको रजिष्ट्रेशन पास, गाउँगाउँमा सहकारी घरघरमा रोजगारी लगाउतका कार्यक्रम ल्याएर जनतामा बेजोड उत्साह ल्याएका थिए । 

त्यहि कार्यक्रमले गर्दा अघिल्ला वर्षसम्म तत्कालीन एमालेका नेताहरूमा आफ्नो क्षमताको कुरा उठ्दा २०५१ सालको सरकारले गरेका कामको प्रसङ्ग दोर्होयाई रहन्छन् । ‘गाउँ–गाउँमा सहकारी घरघरमा रोजगारी’ कार्यक्रम सञ्चालन उनकै पहिलो कार्यकालबाट सुरु भएको हो । पहिलोपल्ट जेष्ठ नागरिक र सुत्केरीलाई भत्ता दिएपछि प्रधानमन्त्री मनमोहन अधिकारी नेतृत्वको एमाले सरकार सबैभन्दा लोकप्रिय बनेको थियो । 

नेता अधिकारी मोरङ जिल्लाबाट विसं २०४८, २०५१ र २०५६ गरी तीनपटक सांसदमा निर्वाचित भएका उनी भने दोस्रो संविधानसभामा समानुपातिक सभासद बने । पटक–पटक अर्थमन्त्री भएका अधिकारीसँग उपप्रधानमन्त्रीसहित कानुन, उर्जा, वाणिज्य तथा आपुर्ति मन्त्रालय सम्हालेको अनुभव थियो ।

स्व. भरतमोहन अधिकारी

राजनीकि यात्रा
नेता अधिकारी २००८ सालमा गठन भएको आर्दश विद्यालयको छात्र संघका अध्यक्ष बने । अधिकारीकै नेतृत्वमा २००७ सालमा विराटनगरको जुद्ध स्कुलको बोर्ड परिवर्तन गरेर आर्दश स्कुलको बोर्ड राखिएको थियो । विराटनगरको मोरङ क्याम्पसमा अधिकारीले अध्यापन समेत गरेका थिए । नेता अधिकारी पञ्चायतको विरोधमा संघर्ष गर्दा विराटनगरकै जेलमा बन्दी समेत बने । 

२०१७ सालमा तत्कालिन राजा महेन्द्रले प्रजातन्त्रविरुद्ध ‘कु’ गरेपछि उनले सोभियत संघमा पिएचडी पढ्न पाएको छात्रवृत्ति त्यागेर सक्रिय राजनैतिक संघर्ष रोजेका थिए । अधिकारीले २०१८ सालदेखि कोसी प्रान्तीय कमिटीको सचिव बनेर पूर्वमा कम्युनिष्ट आन्दोलनको नेतृत्व गरेका थिए । 

तत्कालिन नेकपाका महासचिव केशरजंग रायमाझीले राजाको सेवा गर्न थालेपछि उनले २०१९ मा नेकपाको तेस्रो महाधिवेशन गराउन पहल गरे । जसमा पुष्पलाल श्रेष्ठ, तुलसीलाल आमत्यसहित देशभरबाट एकसय बढी क्रान्तिकारीहरु सहभागी भएका थिए । नेता अधिकारी तेस्रो महाधिबेशनबाट पोलिटब्यूरो सदस्य निर्वाचित भए । तत्कालिन माले र माक्र्सवादीलाई एकीकरण गराएर एमाले बनाउने भूमिकामा पनि नेताको मुख्य योगदान थियो । 

त्यस्तै नेता अधिकारीले २०४६ सालको पञ्चायत विरुद्धको आन्दोलनमा बाम मोर्चा गठनमा सक्रिय रुपमा भूमिका समेत खेलेका थिए । उनकै पहलमा सात वटा बाम घटकहरु एक भएर संयुक्त बाम मोर्चा निर्माण भएपछि पञ्चायत विरुद्धको आन्दोलन सफल भएको थियो । 

तत्कालिन नेकपा एमालेको पाँचौँ, छैटौँ, सातौं र आठौं महाधिवेशनमा उनी मूल आयोजक समितिको संयोजक थिए भने छैटौँ, सातौँ र आठौं महाधिवेशनबाट स्थायी समितिमा निर्वाचित भएका थिए । नेता अधिकारी राजनीतिमा ५० वर्षभन्दा बढी समय केन्द्रीय तहको नेतृत्वको भूमिका निर्वाह गरे । २०७१ को महाधिबेशनबाट अधिकारीले पार्टीको कुनैपनि जिम्मेवारी नलिने स्वैच्छिक अवकाशको घोषणा गरेर फेरी उदाहरणीय नेता बनेका थिए । 

उनको नेपालमा औद्योगिकरणको समस्या, मेरो जीवन यात्रा भाग–२, संसददेखि संविधानसभासम्म पुस्तक प्रकाशित छन् भने जनताको बहुदलिय जनवादको अर्थशास्त्र प्रकाशोन्मुख छ । साना र कुटिर उद्योगलाई प्रोत्साहन गर्ने अधिकारी आयातमुखि अर्थतन्त्रलाई रोक्न गाउँगाउँमा उद्योग धन्दा खेल्नुपर्छ भन्ने अभियानका अभियन्ता थिए ।

२०६१ सालमा राजा ज्ञानेन्द्रले ‘कु’ गरेर सत्ता हातमा लिँदा उनी उपप्रधानमन्त्रीकै अवस्थामा पक्राउ परेर तीन महिना नजरबन्दमा बसेको तितो यथार्थ हामी सामु छ । २०६२ सालमा पनि ज्ञानेन्द्र शासनविरुद्ध संघर्ष गर्दा उनलाई नजरबन्दमा राखिएको थियो । 

नेता अधिकारी ‘नेपाल अधिराज्यको संविधान २०४७’ को संविधान सुझाव आयोगका सदस्य समेत थिए ।  त्यस्तै ‘नेपालको संविधान २०७२’ जारी गर्दा संविधानसभाको मस्यौदा लेखन समितिमा बसेर काम गरेका थिए । 

‘कम्युनिस्ट आन्दोलन ठूलो बलिदानी र संघर्षले भित्राएका हौँ,’ भनेर बारम्बार भनिरहने अधिकारी पछिल्ला दिनमा सक्रिय राजनीतिमा नदेखिएपनि उनको  नेपाल र नेपालिप्रतिको माया उस्तै थियो ।

तिनै अनुभवी, सच्चा एवं निष्ठावान नेताका रुपमा परिचित अधिकारीलाई आज हामीले गुमाएका छाँै । उनको निधनले देशले एक अभिभावक गुमाएको छ । तिनै नेता अधिकारी प्रति श्रद्धासुमन । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here