रामेछापमा विद्यार्थी नेता मनोज केसीले ब्यबशायीलाई ‘बार्गेनिङ गरि रकम मागेको आरोप

0
160

काठमाडौं, ३ फागुन । नेकपा निकट विद्यार्थीको रुपमा चिनिने मनोज केसीले राष्ट्रिय गौरवका आयोजनामा मोटो रकम मागेको खुलासा भएको छ । केसीको घर नजिकै हुँदै हाल मध्यपहाडी लोकमार्ग निर्माणको काम धमाधम निर्माण भइरहेको छ । आफू शिक्षा मन्त्री गिरीराजमणि पोखरेल निकट व्यक्ति हुँ भन्दै केसीले भुकम्पबाट भत्किएको घर निर्माणमा पनि मध्य पहाडी लोकमार्ग आयोजनाको स्रोत र सामाग्री प्रयोग गरेको स्थानीयको आरोप छ ।


केसीले आफ्नो घर निर्माणको लागि आयोजनाबाट गिटी बालुवा, पानी लगायतका निर्माण सामाग्री निःशुल्क रुपमा लगेका थिए । केसीको गोठमा मध्य पहाडी लोकमार्ग आयोजना कर्मचारी र कामदारहरु बस्दै आएका थिए । माघ ११ गते राती बिजुली सर्ट भएर केसीको गोठ आगलागी भएपछि उनको लागि मागी खाने भाँडो बनेको छ ।

शिक्षामन्त्री गिरिराजमणि पोखरेलको मान्छे बताउँदै केसीले गोठ निर्माणको लागि पैसा उठाउने अभियान नै चलाएको रामेछापमा चर्चा सुनिन्छ ।

गोठ आगलागी भएपछि मध्य पहाडी आयोजना निर्माणको जिम्मेवारी पाएको ठेकेदार कम्पनीले बनाइदिने प्रतिबद्धता गरिसकेको छ । तर केसी भने प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्मा आफ्नो मान्छे भएको भन्दै थप क्षतिपूर्तिको लागि दौडधुपमा लागेका छन् ।

शुक्रवार प्रजिअ शर्मालाई भेटेर केसीले आगलागीबाट गोठ पूर्ण रुपमा क्षति भएको १२ लाख रुपैयाँ क्षतिपूर्ति दिलाइदिन पुनः ठेकेदार कम्पनीलाई दबाब दिन लगाएको बताइएको छ ।

केसीको गोठ आगलागी भएपनि उनले अहिलेसम्म प्रहरी कार्यालय, वडा कार्यालाय, गाउँपालिकामा कुनै पनि निवदेन दर्ता गराएका छैनन् ।


सुनापती गाउँपालिकाका एक जनप्रनिधिले दियोपोष्टसँग भने,‘गोठको क्षतिपूर्ति दिने गाउँपालिका हो, अहिलेसम्म केसीको परिवारले कुनै पनि निवेदन दर्ता गराएको छैन, जिल्लामा क्षतिपूर्तिको लागी परेको सुनेका छौं ।’ स्थानीय सरकारले आगलागीको प्रकृति हेरेर पाँचदेखि २५ हजार रुपैयाँ क्षतिपूर्ति दिन सक्ने प्रावधान रहेको छ ।


गोठ आगलागी भएपछि केसीको चन्दा असुली गर्ने ढंगले गोठ नजिकै सिन्दुरेटारस्थित सुनकोसी नदीमा निर्माणाधिन पुलको ठेकेदारसँग पनि पाँच लाख रुपैयाँ मागेको स्रोतको दावी छ । स्रोतका अनुसार पुल निर्माणको साइट इन्चार्जले केसीले मोटो रकम मागेकाले काम गर्न नसक्ने गाउँपालिकालाई जानकारी गराएको छ ।


केसीले गोठ आगलागी भएको बहानामा निशुल्क रुपमा बालुवा संकलनको काम समेत अगाडि बढाएका छन् । खाँडादेवी गाउँपालिकाले सुनकोसी नदीमा बालुवाको ठेक्का लगाएको छ ।

उक्त ठेक्का लिएका पुष्प श्रेष्ठसँग सुरुमा तीन टिप बालुवा मागेका थिए । तर उनले बढाउदै १२ टिप चाहिने बताएपछि बालुवा नदिएको श्रेष्ठले बताए ।

ठेक्का लिएको कम्पनीले माग अनुसारको बालुवा दिन नसक्ने जवाफ दिएपछि केसीले ३ नम्बर प्रदेशका सांसद एवं नेकपा केन्द्रीय सदस्य राजन दाहाललाई फोन गर्न लगाएर बालुवा दिन दबाब दिएका थिए । श्रेष्ठका अनुसार केसीलाई बालुवा दिन भन्दै राजधानीमा क्रियाशिल एक पत्रकारले पनि दबाव दिएका थिए ।


‘मन्त्रीको नजिकको मान्छे हुँ भन्दै धम्की आउँछ । कोही पत्रकार भनेर पनि धम्काउँछन्,’ श्रेष्ठ भन्छन्,‘हामीले कस कसलाई दिने । दिएर पनि सुख छैन ।’


मनोज भन्छन्,‘कोसीको छेउमा मेरो गोठ छ मैले किन बालुवा माग्नु ?’


यस विषयमा मनोज केसीलाई सम्पर्क गर्दा उनले आफ्नो गोठ जलेको विषयमा प्रहरी रिपोर्ट बन्न बाँकी रहेको बताए ।

उनले आफू शिक्षा मन्त्रीको सचिवालयमा नरहेको र कसैलाई फोन समेत नगरेको बताए । आफूले पुष्प श्रेष्ठ भन्ने मान्छेसँग बालुवा नमागेको समेत बताए ।

‘कोसीको छेउमा मेरो गोठ छ मैले बालुवा किन माग्ने ?’ केसीले प्रश्न गरे,‘यो अरोप गलत हो ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here