डिभाइन क्लबले मेडिटेशन क्याम्प सञ्चालन गर्दै

क्याम्पमा मह जोडी, रबीन्द्रलगायतले स्पिच दिने

काठमाडौं, माघ २४ । डिभाइन युथ क्लबले तीन दिने मेडिटेशन क्याम्प सञ्चालन गर्दैछ । क्लबले शनिबारदेखि भक्तपुर नयाँ थिमीस्थित श्यामा श्यामा धाममा मेडिनेसन क्याम्प सञ्चालन गर्न लागेको हो ।

क्लबले जनचेतनामूलक र्याली र योगासँगै ‘मोटिभेशन स्पिच’सम्मको कार्यक्रम राखेको छ । देशका लब्ध प्रतिष्ठित तथा सफल व्यक्तिहरुले युवाहरुलाई मोटिभेसन स्पिच दिने छन् । हास्यकलाकारद्वय हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ण, नेपाल विद्युत प्राधिकारण प्रमुख कुलमान घिसिङ, विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रसँगै युवा नेताद्वय महेश बस्नेत, गगन थापा र चिकित्सक बाबुराम हुमागाईंले मोटिभेशन स्पिच दिने कार्यक्रम तय भएको क्लबका अध्यक्ष उत्सव पाण्डेले जानकारी दिए ।

क्लबले क्याम्पमा एक हजारभन्दा बढी युवा सहभागी हुने अपेक्षा गरेको छ । क्याम्पमा सहभागी हुने चाहना राखेर सम्पर्क गर्नेहरु बढीरहेको पाण्डेले बताए ।

पछिल्लो पुस्ताका युवाहरुमा बढेको विकृति न्यूनिकरण गर्ने उद्देश्यका साथ मोटिभेसन क्याम्पको आयोजना गरिएको क्लबका काठमाडौं सहसंयोजक संगम केसीले बताए ।

अहिलेको समयमा जुन युवाहरुमा गलत संगत, नैतिक शिक्षाको कमी एवं विभिन्न तनाव भोगिरहेको अवस्था छ, त्यसमा कमी ल्याउनका लागि यो कार्यक्रम तय गरिएको हो ।’ केसीले भने । क्याम्पमा सहभागी हुन चाहनेले divineyouthclubnepal@gmail.com मा इमेल गर्न र ०१६६३००५९ वा ९८४३०९२१८४मा फोन गर्न सकिने केसीले बताए ।

डिभाइन युथ क्लबले यसअघि पनि यस्ता खालका विभिन्न कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिसकेको छ । २०७० सालमा स्थापना भएको यो क्लबले समाजकल्याण, वातावरण र देशको सेवाका क्षेत्रमा निकै महत्वपूर्ण काम गरिसकेको छ ।

बागमती सफाई अभियानमा सक्रिय भूमिका निर्बाह गरेको क्लबले जेष्ठ नागरिक सेवा, विद्यालयलाई शैक्षिक सामग्री प्रदान, स्वास्थ्य शिविर सञ्चालन, भूकम्पपीडितको आवास पुनर्निर्माणमा सहयोगलयागत थुप्रै समाज कल्याणको काम गरिसकेको छ ।

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here