बेखबर नेपाली अधिकारीहरु, किन बढायो भारतले एयर मार्सलको संख्या ?

नयाँदिल्ली — भारत सरकारले काठमाडौं जाने विमानहरुमा विशेष सुरक्षा दस्ता (एयर मार्सल) को संख्यामा बृद्धि गरेको छ । भारतीय सुरक्षा एजेन्सी र हवाई सेवासम्बन्धी निकायहरुलाई प्राप्त विमान अपहरण हुनसक्ने गोप्य सूचनाको आधारमा मार्सलको संख्या बढाइएको आइतबार प्रकाशित भारतीय अंग्रेजी दैनिक हिन्दुस्तान टाइम्सले जनाएको छ ।

भारतको वायुसेवा सुरक्षा उच्च अधिकारीलाई उद्धत गर्दै उक्त पत्रिकाले इन्टेलिजेन्स एजेन्सीले प्राप्त गरेको काठमाडौं र काबुल उडानका भारतीय विमान अपहरण हुने सूचनाका आधारमा एयर मार्सलको संख्यामा बृद्धि गरिएको जनाएको छ। तर, त्यस्तो सूचना कहिले प्राप्त भयो भन्ने ती अधिकारीले खुलाएका छैनन्।

तर, एयर मार्सलको संख्यामा गरिएको बृद्धिका बारेमा काठमाडौंस्थित सरकारी अधिकारीहरु भने अनभिज्ञ देखिए। एयर मार्सलको संख्यामा बृद्धि गर्दा गृह मन्त्रालयको पूर्व स्वीकृति लिएर त्यसको जानकारी सम्बन्धित निकायलाई दिनुपर्ने हुन्छ। तर, संस्कृतिक पर्यटन तथा नागरिक उड्डयन प्राधिकरणका सहसचिव सुरेश आचार्यले एयर मार्सलको संख्या बढाइएको बारे थाहा नभएको बताए। ‘गृह मन्त्रालयको पूर्वस्वीकृति लिए पछि आधिकारिक निकायलाई जानकारी हुनुपर्ने हो, तर, अहिलेसम्म त्यस बारेमा कुनै जानकारी आएको छैन,’ उनले भने।

सन् १९९९ मा दिल्लीबाट काठमाडौं जाँदै गरेको एयर इण्डियाको विमान अपहरणमा परेपछि भारतले आफ्ना विमान कम्पनीहरुमा नेसनल सेक्युरिटी गार्डका कमाण्डोहरुलाई सादा पोशाकमा खटाउँदै आएको छ। नेपाल सरकारले एयर मार्सल राख्न अनुमति दिएदेखि नै यो विषय विवादित रहँदै आएको छ। एयर मार्सलका सम्बन्धमा अन्तर्राष्ट्रिय हवाई संगठन (आइकाओ) को प्रष्ट निर्देशिका नभए पनि सम्बन्धित मुलुकहरुले आपसी सहमतिमा एयर मार्सल खटाउने गरेका छन्।

सुरक्षा जोखिमलाई हेरेर भारतले आफ्ना विमानहरुमा दुई देखि छ जनासम्म एयर मार्सल तैनाथ गर्दै आएको छ। ‘सुरक्षा जोखिमलाई ध्यानमा राख्दै अन्तर्राष्ट्रिय रुट र सम्वेदनशील क्षेत्र मार्सल खटाइने गरिएको छ,’ पत्रिकाले सरकारी अधिकारीलाई उद्धृत गर्दै लेखेको छ, ‘ती एयर मार्सलहरुले बन्दुक र पेस्तोल हतियारसमेत बोक्छन्।’ उडानमा एयर मार्सलहरुको पहिचान भने अत्यन्त गोप्य राखिन्छ।

‘सबै यात्रु चढिसकेपछि मात्र विमान कर्मचारीहरुलाई एयर मार्सलका बारेमा जानकारी दिइन्छ,’ भारतीय विमान कम्पनीका एक चालकलाई उद्धृत गदै पत्रिकाले लेखेको छ। सन् २०१५ मा काठमाडौं उडानका क्रममा एयर मार्सलको पहिचान खुलाएकोमा एक जना कर्मचारीलाई कारबाही गरिएको समेत पत्रिकाले जनाएको छ।

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here