किशोरी बलात्कार र हत्या प्रकरण : निलम्बित एसपी विष्ट, उनका छोरा र मेयरका भतिजाको डीएनए परिक्षण

काठमाडौँ — कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको छानबिन अनुसन्धानमा संग्लन उच्च प्रहरी अधिकारीतर्फ नै सोझिएको छ । प्रहरी प्रधान कार्यालयले निलम्बित एसपी डिल्लीराज विष्टको डीएनए परीक्षणका लागि रगतको नमूना संकलन गरेको छ ।

त्रिवि शिक्षण अस्पताल, महाराजगन्जका फोरेन्सिक विशेषज्ञ प्रा.डा.हरिहर वस्तीले बिहीबार नमूना संकलन गरेर प्रहरीलाई बुझाएका हुन्। ‘मैले आज बिहान डीएनए परीक्षणका लागि निलम्बित एसपी विष्टबाट नमूना संकलन गरेर प्रहरीलाई बुझाएको छु’, डा. वस्तीले भने।

प्रहरी प्रवक्ता एसएसपी शैलेश थापाले निलम्बित एसपी विष्ट, उनका छोरा किरण र कञ्चनपुरको भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुष विष्टको रगतको नमुना संकलन गरिएको जानकारी दिए। यसरी संकलित नमुना डीएनए प्रोफाइलिङ गर्नका निम्ति प्रहरीको फरेन्सिक ल्याबमा पठाइसकिएको छ। प्रवक्ता थापाले जनस्तरबाट शंका गरिएका व्यक्तिको पनि डीएनए टेस्ट गर्न थालिएको बताए। उनले भने, ‘हामीले शंका लागेका सबैमाथि निगरानी र अनुसन्धान गरिरहेका छौं।’

प्रहरी प्रधान कार्यालयले निर्मला प्रकरणको अनुसन्धानमा खटिएका प्रहरीको भूमिकामाथि छानबिन गर्न एसएसपी उत्तम सुवेदीको नेतृत्वमा छुट्टै पाँच सदस्यीय समितिसमेत गठन गरेको छ। थापाले यस्तो टोली केही दिनअघि नै बनाइएको बताए। स्रोतका अनुसार मानसिक सन्तुलन ठिक नभएका दिलीपसिंह विष्ट अभियुक्त नभएको पुष्टि डीएनए परीक्षणबाट भएपछि एसएसपी सुवेदी नेतृत्वको समितिले नयाँ ढंगले अनुसन्धान अगाडि बढाएको छ।

प्रवक्ता थापाका अनुसार यो समितिले काठमाडौंबाट गएको केन्द्रीय अनुसन्धान ब्युरो र जिल्लास्थित प्रहरी कार्यालयका अनुसन्धान अधिकारीको काम–कारवाहीबारे छानबिन गर्नेछ। अनुसन्धानमा प्रहरीको भूमिका त्रूटिपूर्ण रहेको भन्दै चौतर्फी आलोचना भएपछि प्रहरी प्रधान कार्यालयले टोली गठन गरेको हो। समितिले अनुसन्धानमा खटिएका प्रहरीसँग छुट्टाछुट्टै बयान लिइरहेको छ।

निर्मला हत्या घटना अनुसन्धानका लागि गठन गरिएको यो दोस्रो छानबिन टोली हो। गृह मन्त्रालयले बनाएको छुट्टै छानबिन टोलीले अहिलेसम्म अनुसन्धान प्रतिवेदन बुझाइसकेको छैन। स्रोतका अनुसार गृहले बनाएको र प्रहरी प्रधान कार्यालयले बनाएका दुवै समितिले समानान्तर रूपमा काम गरिरहेका छन्।

दबाबमा प्रहरी

संसद र सडक दुवैतिरबाट दोषी पत्ता लगाउन दबाब बढिरहँदा प्रहरी रक्षात्मक बन्दै गएको छ । स्रोतका अनुसार अनुसन्धानमा गृह मन्त्रालयका अधिकारीहरूको संग्लनतालाई प्रहरीका उच्च अधिकारीले त्यति रुचाइरहेका छैनन् । नाटकीय रूपमा राजीनामा फिर्ता लिएका छानबिन समितिका उपसचिव वीरेन्द्र केसीको भूमिकालाई पनि प्रहरीका उच्च अधिकारीले छानबिन समितिको असफलताका रूपमा अथ्र्याएका छन् । प्रहरीको आन्तरिक छानबिनको परम्परागत प्रणालीलाई पन्छाएर गृह अघि सरेको र छानबिन समितिले १५ दिन बितिसक्दा पनि प्रतिवेदन नदिएकाले घटना थप गिजोलिन पुगेको उनीहरूको बुझाइ छ ।

‘अपराध अनुसन्धानका बारेमा ज्ञान नभएका प्रशासनिक अधिकारीलाई अनुसन्धान जिम्मा दिनु नै गलत थियो’, एक प्रहरी अधिकारीले भने । ती अधिकारीका अनुसार घटनालाई होल्ड गर्न र गल्ती सच्याउन तत्काल कदम चाल्न प्रहरी महानिरीक्षक चुकेका कारण प्रहरीको चौतर्फी आलोचना भइरहेको छ ।

त्यसो त कञ्चनपुर घटनालगत्तै जिल्ला प्रहरी कार्यालयले दिएको सूचनाको आधारमा गृहमन्त्री थापाले नामै किटेर दुई जना अभियुक्त पक्राउ परेको सूचना संसदलाई दिएका थिए । तर, ती दुवै जना केही दिनमै निर्दोष ठहरिए । प्रहरीको गलत सूचनाका कारण आफू गुमराहमा परेको निष्कर्षमा पुगेका गृहमन्त्रीले त्यसको केही दिनमै गृह मन्त्रालयकै नेतृत्वमा छानबिन कमिटी गठन गरेका थिए ।

अबको अनुसन्धान ?

घटनालगत्तै स्थानीयले शंकाको घेरामा राखेका बम दिदी–बहिनी छुटिसकेका छन् । प्रहरीले दुईजनामध्ये दिदी बबिताको पोलिग्राफ टेस्ट गरेको थियो । जसबाट उनीहरूमाथिको शंका प्रमाणित हुन सकेन । १६ वर्षभन्दा कम उमेरका कारण रोशनीको भने पोलिग्राफ टेस्ट गरिएन । प्रहरीले मुख्य अभियुक्तका रूपमा उभ्याएका दिलीपसिंह विष्ट पनि निर्दोष ठहरिए । प्रहरी प्रधान कार्यालयका उच्च अधिकारीका अनुसार घटनाबारे अनेकन तथ्य आएका छन् तर त्यसलाई पुष्टि गर्ने आधार कतैबाट जुट्न सकेको छैन ।

स्थानीय बासिन्दाले शंकाको घेरामा राखेका निलम्बित एसपी विष्ट, उनका छोरा र मेयरका भतिजाको डीएनए परीक्षणका लागि नमूना संकलन भइसकेको छ । उनीहरूको रिपोर्ट आएपछि निर्मलाको भेजाइनल स्वाबमा भेटिएको बीर्यको नमूनाबाट निकालिएको डीएनएसँग म्याच गरिनेछ । प्रहरीले बलात्कार र हत्या घटनामा संलग्न रहेको हुनसक्ने आशंकामा आफ्नो डीएनए टेस्ट गर्न स्याम्पल लिएको स्वीकार गर्दै निलम्बित एसपी विष्टले आफू अनुसन्धानमा सहयोग गर्न तयार रहेको बताएका छन् । ‘निर्मलाको हत्यारा पत्ता लगाउन राज्यले गर्ने कुनै पनि अनुसन्धानमा सहयोग गर्न म तयार छु’, उनले भने, ‘मेरो र परिवारको डीएनए परीक्षणका लागिसमेत तयार छु ।’

घटनास्थल मुचुल्का उठाउने बेलादेखि नै भएका त्रुटिको निरन्तरताका कारण घटनासँग सम्बन्धित धेरै प्रमाण नस्ट भइसकेको गृहको छानबिन समितिको प्रारम्भिक अनुसन्धानले देखाएको छ । निर्मलाको अन्तरवस्त्र र अन्य वस्त्र पनि जलाइसकिएको छ । केन्द्रीय अनुसन्धान ब्युरोको टोली पुगेको भोलिपल्टै निर्मलाको शव जलाइएको थियो । शव जलाउने क्रममा घटनास्थलबाट भेटिएका कपडा पनि जलाइएको एक प्रहरी अधिकारीले बताए । ती प्रहरी अधिकारीका अनुसार सीआईबी टोलीले यो कुरा शव जलाएपछि मात्रै थाहा पाएको थियो ।

प्रहरीको अनुसन्धान अधिकारीका अनुसार उक्त कपडा नजलाइएको भए त्यसमा रौं, वीर्य वा रगतको कुनै न कुनै प्रमाण भेटिनसक्ने सम्भावना रहन्थ्यो । बम दिदी–बहिनीको घरबाट निस्केपछि निर्मला कहाँ गइन् भन्नेमा प्रहरीले पछिल्लो अनुसन्धान केन्द्रित गरे पनि त्यसबारे अनेकन अपुष्ट सूचनाबाहेक प्रहरीले ठोस कारण पत्ता लगाइसकेको छैन ।

केन्द्रिय अनुसन्धान ब्युरोको नयां टोलीले सुरु चरणबाट अनुसन्धान थालेपछि उक्त टोलीले केही नयां तथ्य फेला पारिसकेको छैन । त्यसो त प्रहरी महानिरिक्षक खनाल कंचनपुर पुगेका बेला स्थानिय अधिकारकर्मी महिलाले घटनाबारे केही नयां तथ्य सुनाएका थिए । तर उक्त तथ्यको पनि प्रहरीले पुष्टी गरिसकेको छैन् । अनुसन्धानका एकपछि अर्को काममा प्रहरी चुकिरहेको र स्थानियको आक्रोश बढिरहेकाले प्रहरीले घटनासंग जोडिने यथेष्ट प्रमाण बिना कसैलाई नियन्त्रणमा लिने वा बयान लिने सक्ने अवस्थामा देखिन्न । ति प्रहरी अधिकारीले भने, ‘चौतर्फी दबाबमा रहेकाले र घटना सम्बद्ध धेरै प्रमाण नष्ट भएकाले प्रहरीले अनुसन्धानलाई संयमका साथ अघि बढाईरहेको छ ।’

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here